शिक्षामा समान अवसर सुनिश्चित गर्न र आर्थिक अभावमा परेका बालबालिकालाई अध्ययनमा सहजता ल्याउन लुम्बिनी एकीकृत विकास संस्था लिडो नेपालले कपिलवस्तुमा अनाथ र अपांग गरी ४८० छात्रछात्रालाई ८० लाख रुपैयाँभन्दा बढीको छात्रवृत्ति वितरण गरेको बताएको छ ।
कतार च्यारिटीको सहयोगमा सञ्चालित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लिडोले तीनदेखि १८ वर्ष उमेर समूहका छात्रछात्रालाई न्यूनतम पाँच हजार ६६१ देखि अधिकतम १६ हजार ९८४ रुपैयाँसम्मको छात्रवृत्ति उपलब्ध गराएको बताएको छ । उक्त रकम त्रैमासिक किस्तामा वितरण गरिने बताएको छ ।
संस्थाकी कार्यकारी निर्देशक सुनिता बेलबासेका अनुसार अहिलेसम्म ३०५ जना अनाथ र अपांग छात्रछात्रालाई छात्रवृत्ति वितरण भइसकेको छ भने बाँकी विद्यार्थीलाई पनि क्रमशः वितरण भइरहेको बताएको छ । कुल ८० लाख १० हजार ४४२ रुपैयाँबराबरको छात्रवृत्ति वितरण हुने बेलबासेले बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, शिक्षा तथा समन्वय इकाइ कपिलवस्तुका अधिकृत अर्जुन कुँवर, लिडो नेपालका अध्यक्ष अतहर कमाल, कार्यक्रम संयोजक रामनरेश चौधरीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।
सो अवसरमा प्रमुख आचार्यले छात्रवृत्ति वितरणलाई शैक्षिक सशक्तीकरणको प्रभावकारी पहल भन्दै प्रशंसा गरेका छन् । ‘गरिबीका कारण धेरै बालबालिकाले पढाइ बिचमै छोड्ने गरेका छन्। यस्ता छात्रवृत्तिले उनीहरूमा अध्ययनको आत्मबल र निरन्तरता दिनेछ,’ उनले भने, ‘गरिब र विपन्न अनाथ विद्यार्थीको शिक्षामा स्थानीय तहले समेत सहकार्य र सहयोग विस्तार गर्न जरुरी छ ।’
शिक्षा तथा समन्वय इकाइका अधिकृत अर्जुन कुँवरले पनि छात्रवृत्ति कार्यक्रमले जिल्लाको शैक्षिक सूचक सुधारमा टेवा पुर्याउने बताएका छन् । ‘लिडोले निरन्तर रूपमा गरिब, अपांग र असहाय बालबालिकाको शिक्षामा देखाएको लगानी प्रशंसनीय छ,’ उनले भने । यस्ता कार्यक्रमले विद्यालयमा विद्यार्थीको उपस्थितिदर बढाउने र पढाइमा सहजता ल्याउने अपेक्षा गरिएको उनको भनाइ छ। लिडो नेपालका अध्यक्ष अतहर कमालले विद्यार्थीको जीवनमा शिक्षा नै स्थायी परिवर्तन ल्याउने माध्यम भएको बताउँदै यस्ता कार्यक्रमलाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाए।