कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ । २८ असोजदेखि (२० कात्तिक) बिहीबारसम्म ९५ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । जसमध्ये अधिकांशले निर्वाचन (२१ फागुन)अघि नै महाधिवेशन गर्नुपर्ने माग गरेका छन् । हालसम्म बोलेकामध्ये संस्थापन पक्षका १९ जना केन्द्रीय सदस्यले निर्वाचनअघि नै पार्टीको १५औँ महाधिवेशन हुनुपर्ने धारणा राखेका छन् । कुल १६८ केन्द्रीय सदस्यमध्ये ७३ जनाले बोल्न बाँकी छ ।
बिहीबार अर्जुननरसिंह केसी, एनपी साउद, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, मीनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदीप सुनुवार, नैनसिंह महर, विनोदकुमार चौधरी, मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, नागिना यादव, उर्मिला नेपाल केसी, रूपा विक, धना खतिवडा, कल्याणी रिजाल, अनिल रुँगटा र आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले धारणा राखेका थिए ।
सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्यहरूले तत्काल महाधिवेशनमा जोड दिएका थिए । अमृत अर्याल, मोहन आचार्य, मदन अमात्य, उदयशमशेर राणा, आङगेलु शेर्पा, कर्णबहादुर बुढा, दिलमान पाख्रिन, राजेन्द्रकुमार केसी, बहादुरसिंह लामा, जिपछिरिङ लामा, मैकुलाल वाल्मीकि, अर्जुनप्रसाद जोशी, भरतकुमार शाह, अब्दुल सत्तार, नैनसिंह महर, डिला संग्रैला र विनोद चौधरीले चुनावअघि नै महाधिवेशनको पक्षमा धारणा राखेका छन् । नेता कृष्णप्रसाद सिटौलानिकट तारामान गुरुङ र धना खतवडाले पनि निर्वाचनअघि नै महाधिवेशनमा जोड दिएका छन् । सिटौलाले भने चुनावअघि महाधिवेशन हुन नसक्ने बताएका थिए । ‘निर्वाचनअघि नै महाधिवेशन हुनुपर्छ भन्ने माहोल बनिरहेको छ । संस्थापनक समूहबाट निर्वाचित नेताहरूले पनि तत्काल महाधिवेशन गर्नुपर्छ भन्ने महसुस गर्नुभएको देखियो,’ केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नयाँ पत्रिकासँग भने ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसको एघारौँ महाधिवेशन ४० दिनको तयारीमा सम्पन्न भएको उदाहरण दिँदै भने, ‘असाधारण परिस्थितिमा महाधिवेशन हुन सक्दैन भन्ने बहाना निरर्थक छ । नियमित महाधिवेशन नगर्ने हो भने ५४ प्रतिशत सदस्यको विशेष महाधिवेशनको सामूहिक मागलाई न्यायोचित सम्बोधन गर्नु केन्द्रीय कार्यसमितिको अनिवार्य वैधानिक दायित्व हो ।’ अर्को महाधिवेशन नहुन्जेलसम्म केन्द्रीय समिति कायम रहने उल्लेख गर्दै उनले थपे, ‘आगामी चुनावबारे र मुलुकको पेचिलो परिस्थितिमा कांग्रेसको अबको मार्गचित्र सार्वजनिक गर्न पार्टीको नियमित वा विशेष महाधिवेशनको अनिवार्य आवश्यकता छ ।’
केन्द्रीय सदस्य एनपी साउदले महाधिवेशनबारे पार्टीपंक्तिले राखेको चासो र हस्तक्षेपलाई अन्यथा लिन नहुने बताए । तर, पारदर्शिता र पार्टीभित्रको एकताविना फागुनमा हुने निर्वाचनअघि महाधिवेशन गर्न सकिनेमा प्रश्न उठेको उनको भनाइ थियो । ‘फागुनमा निर्वाचन हुने सुनिश्चित भयो भने वैशाखमा महाधिवेशन गरौँ, वैशाखमा निर्वाचन हुने भयो भने फागुनमै महाधिवेशन गर्न उपयुक्त हुन्छ,’ साउदले भने ।
केन्द्रीय सदस्य अमृत अर्यालले सिटौलाको आलोचना गरेका थिए । ‘उहाँ (सिटौला)ले महाधिवेशन र विशेष महाधिवेशन हुन सक्दैन, वैशाखअघि महाधिवेशन हुन सम्भव छैन भनेर गलत अभिव्यक्ति दिनुभएको छ । त्यसो भए अब चुनावमा के भनेर जाने हो भन्ने जवाफ उहाँसँग छ ?’ उनले भने, ‘त्यसैले पहिला पार्टी महाधिवेशन त्यसपछि मात्र निर्वाचन जानुपर्छ ।’
केन्द्रीय सदस्य मोहन आचार्यले निर्वाचनअघि नियमित अधिवेशन गरेर, नयाँ नेतृत्व र नयाँ नीतिका साथ आगामी निर्वाचनमा जानुपर्ने बताए । अर्का केन्द्रीय सदस्य नैनसिंह महरले विशेष महाधिवेशन वा चुनावअघि नियमित महाधिवेशनमा जान डराउनु नपर्ने बताए । ‘तर, विधानअनुसार चार वर्षमा महाधिवेशन हुन नसकेकोमा पदाधिकारीहरूले जवाफ दिनुपर्छ कि पर्दैन ? यसमा जिम्मेवारी कसले लिने हो ?’ महरले प्रश्न गरे ।
केन्द्रीय सदस्य प्रदीप सुनुवारले भने, ‘महाधिवेशनले चुनाव नबिग्रोस्, चुनावले महाधिवेशन प्रभावित नहोस् ।’ अर्का केन्द्रीय सदस्य नगिना यादवले संसद् पुनर्स्थापनामा पार्टीले अडान लिनुपर्ने, नभए आफूहरू अदालत जाने बताइन् । उनले चुनावमा नजाने भए मात्रै तत्कालै महाधिवशनमा जानुपर्ने बताइन् ।
केन्द्रीय सदस्य उर्मिला केसीले भनिन्, ‘विशेष महाधिवेशनको विषयमा अनावश्यक राजनीति बन्द गरौँ । निर्वाचन नभएसम्म महाधिवेशनको प्रसंग स्थगन गरौँ ।’
केन्द्रीय सदस्य विनोद चौधरीले भने, ‘पार्टीमा कसले भोलि टिकट बाँड्ने लडाइँतिर नलागौँ, यो अहिलेको प्रश्न होइन । महाधिवेशन गरेर उत्साह भरेर चुनावमा जाऊँ ।’ केन्द्रीय सदस्य रूपा विकले संसद् पुनर्स्थापनाको माग गरिन् । महाधिवेशन चुनावपछि गर्न उनको माग थियो । अर्का केन्द्रीय सदस्य मञ्जु यादवले भनिन्, ‘चुनावपछि महाधिवेशन गरौँ । कार्यसमितिको म्याद थपौँ ।’
केन्द्रीय सदस्य अनिल रुँगटाले भने, ‘समयले भ्याइयो भने महाधिवेशन चुनावअघि गरौँ, भ्याइएन भने पछि गरौँ । अहिले चुनावमा ध्यान दिऊँ ।’ अर्की केन्द्रीय सदस्य मीनाक्षी झाले भनिन्, ‘महाधिवेशन चुनावपछि गरौँ ।’ केन्द्रीय सदस्य गेहेन्द्र गिरीले भने, ‘फागुन २१ मा हुने चुनावमा भाग लिने निर्णय गरौँ, यसको सदुपयोग गरौँ । महामन्त्री र सहमहामन्त्रीको तालिका मिलाएर महाधिवेशनमा जानुपर्छ ।’
केन्द्रीय सदस्य आनन्द ढुंगानाले भने, ‘चुनाव भएन भने देश विघटन हुने खतरा छ । चुनावमा जाने निर्णय गरौँ । मैले पार्टीलाई विशेष महाधिवेशनमा लैजानुहुन्न भनेर भनेँ, तर साथीहरूले मान्नुभएन । अब चुनावपछि महाधिवेशन गरौँ ।’
केन्द्रीय सदस्य धना खतिवडाले भनिन्, ‘निर्वाचनअघि महाधिवेशन गरौँ । ५४ प्रतिशत हस्ताक्षरलाई सम्बोधन गरौँ । महामन्त्रीहरूले समयमै महाधिवेशन गराउँछौँ भनेकाले उहाँहरूलाई विश्वास गरौँ । महाधिवेशन सम्पन्न गरेर मात्रै चुनावमा जानुपर्छ ।’ केन्द्रीय सदस्य कल्याणी रिजालले भनिन्, ‘संसद् पुनर्स्थापना हुनुपर्छ । सहमहामन्त्री महेन्द्र यादवको कार्यतालिकाअनुसार चुनावपछि महाधिवेशनमा जानुपर्छ ।’
जेन–जीप्रति ओली सरकारका मन्त्रीको आक्रोश
केन्द्रीय सदस्य अजय चौरसियाले जेन–जी पुस्तालाई महिमामण्डन नगर्न माग गरे । ‘अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले आन्दोलन भड्काएर राष्ट्रिय सम्पत्ति, नेताको घर जलाइदिए । यस्तो जेन–जीको महिमामण्डन गर्ने होइन, जेन–जीको प्रतिकार गर्नुपर्छ,’ ओली सरकारका कानुनमन्त्री चौरसियाले भने, ‘चुनावपछि महाधिवेशन गरौँ ।’
आमन्त्रित केन्द्रीय सदस्य तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले २१ फागुनमा चुनाव हुन नसक्ने भन्दै संसद् पुनर्स्थापनाको माग गर्नुपर्ने र नियमित महाधिवेशनका लागि कार्यतालिका संशोधन गर्नुपर्ने बताए । उनले भने, ‘२३ भदौ १ बजेसम्मको घटनालाई जेन–जी आन्दोलन भनौँ । त्यसपछिको घटनालाई राज्यविरुद्धको अपराध र आतंककारी घटना भनेर घोषणा गर्नुपर्छ । यो सरकारलाई अवैध मान्नुपर्छ ।’