- राखेपको बुधबार बसेको १२३औँ बैठकले तीनपटकसम्म स्थगित दसौँ राष्ट्रिय खेलकुद आगामी १–७ फागुनसम्म आयोजना गर्ने निर्णय गरेको छ
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बुधबार बसेको १२३औँ बोर्ड बैठकले तीनपटकसम्म स्थगित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी १ देखि ७ फागुनसम्म आयोजना गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशमा पहिलोपटक हुन लागेको दसौँ राष्ट्रिय खेलकुद यसअघि तीनपटकसम्म मिति घोषणा भएर पनि हुन सकेको थिएन । पहिलोपटक ०८१ मंसिरको २ देखि ८ सम्म, दोस्रोपटक ०८१ चैत २३ देखि ३० सम्म र तेस्रोपटक ०८२ जेठ ३–१० का लागि प्रतियोगिताको मिति तोकिएको थियो ।
तत्कालीन खेलकुदमन्त्री तेजुलाल चौधरीले वीरेन्द्रनगरमा निर्माणाधीन रंगशालाको काम बाँकी रहेको र बजेट अभावका कारण तीनैपटक घोषित मितिमा हुने भनिएको प्रतियोगिता स्थगित गरेका थिए । जसका कारण राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना नै अन्योलमा थियो । नवनियुक्त मन्त्री बब्लु गुप्ताले बुधबार दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनालगायत विविध विषयमा राखेपको बोर्ड बैठक राखेका हुन् । गुप्ता राखेपका अध्यक्षसमेत हुन् । गुप्ता मन्त्री नियुक्त भएपछि बसेको राखेपको पहिलो बैठकले प्रतियोगिताको मिति घोषणा भएको हो ।
०७९ मा गण्डकी प्रदेशमा भएको नवौँको समापनका अवसर दुई वर्षपछि ०८१ मंसिरमा दसौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने गरी झन्डा हस्तान्तरण गरिएको थियो । ‘मन्त्रीज्यूको अध्यक्षतामा बसेको बैठकले कर्णाली प्रदेशमा हुने भनिएको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा हुने निर्णय भएको छ,’ राखेपका सदस्यसचिव टंकलाल घिसिङले भने । लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल संघलाई तीन महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने, राष्ट्रिय खेल संघ आफैँले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिनेलगायत निर्णय भएको राखेपले जनाएको छ ।
यसैबिच फागुनमा चुनावी माहोलबिच हुन लागेको राष्ट्रिय खेलकुदका लागि निर्वाचन आचारसंहिता नलाग्ने मन्त्री गुप्ताले बताए । उनले निर्वाचन आयोगसँग कुरा गरिसकेको र उसले पनि राष्ट्रिय खेलकुदका लागि स्वीकृति दिने जनाएका छन् । राखेपका सदस्यसचिव घिसिङले सहजीकरण गरेको बैठकमा राखेपका उपाध्यक्ष ध्रुव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, बोर्ड सदस्यलगायतको उपस्थिति थियो ।
सुर्खेतमै ३६ खेल हुने
राखेपले कर्णालीको सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश सबै ३६ वटा खेल हुने जनाएको छ । वीरेन्द्रनगरस्थित कालिङचोक र रंगशाला परिसरमा रहेका मैदानमा क्रिकेट, प्रदेश रंगशाला, चिसापानी र मेहेलकुनामा रहेका मैदानमा फुटबल तथा कालिङचोक मैदानमा रग्बी खेलाउने स्थान तय गरिएको छ । प्रदेश रंगशालामा बास्केटबल, ह्यान्डबल, खो–खो, पौडी, एथलेटिक्स, ब्याडमिन्टन, तेक्वान्दो, उसु र भलिबलका खेल हुनेछन् । सुर्खेतमा कुस्ती, जुडो, शारीरिक सुगठन, भारोत्तोलन र बक्सिङ खेलाइनेछ । हुम्लामा हक्की, दैलेखमा कबड्डी, कालीकोटमा कराँते, जुम्लामा कराँते, रुकुम पश्चिममा आइटिएफ, सल्यानमा टेबुलटेनिस र जाजरकोटमा बुद्धिचाल प्रतियोगिता हुनेछन् ।
धावक केसीलाई २५ लाख पुरस्कार
राखेपको बोर्ड बैठकले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जितबहादुर केसीलाई २५ लाख रुपैयाँ पुरस्कार दिन मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको पहिलो एसियन ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा केसीले म्याराथनमा कांस्य पदक जितेका थिए । यही पदक नै नेपालको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय पदक हो ।