नेपालले श्रीलंकाको कोलम्बोमा भइरहेको काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपमा बुधबार पहिलो जित निकालेको छ । कोलम्बोस्थित सुगाथादासु इन्डोर कम्प्लेक्समा भएको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३–१ को सेटमा हराएको हो ।
नेपाल श्रीलंकाविरुद्ध २५–१८, २६–२४,१९–२५, २५–२० ले विजयी रह्यो । यसअघि नेपाल पहिलो खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा पराजित भएको थियो ।
जितपछि नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । लगातार दुई खेल जितेको किर्गिस्तान ५ अंकसहित शीर्ष स्थानमा छ । किर्गिस्तानले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको छ । नेपालले लिग चरणको तेस्रो खेल बिहीबार माल्दिभ्ससँग खेल्नेछ ।