जाँचबुझ आयोगमा रविको बयान : जेलको सुरक्षामा समस्या भएपछि मलाई पत्र थमाएर पठाइएको हो

बिहिबार, २० कार्तिक, २०८२
डिजिटल संस्करण

२३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ । बुधबार आयोगको सिंहदरबारस्थित कार्यालयमा झिकाएर उनको बयान लिएको हो । 

बयानको क्रममा लामिछानेले जेलको सुरक्षाका लागि भन्दै आफूलाई पत्र दिएर निकालेको बताएका छन् । आयोगका एक अधिकारीका अनुसार आफ्नो इच्छाले नभई जेलको सुरक्षामा समस्या भएपछि जेल प्रशासनले नै आग्रह गरेर आफूलाई निकालेको बयान दिएका छन् । 

‘जेलभित्रको वातावरण नै फरक थियो,’ उनले बयानमा भनेका छन्, ‘म चाहेर बाहिर आएको होइन, पत्र दिएर निकालिएको हो ।’ आयोगले उनीसँग साढे पाँच घण्टा बयान लिएको थियो । २४ भदौको आन्दोलनमा सर्वत्र तोडफोड र आगजनीको घटना भएपछि लामिछाने नक्खु कारागारबाट निस्किएका थिए । आन्दोलनकारीहरू कारागारको गेटमा गएर नाराबाजी गरेपछि कारागार प्रशासनले उनलाई निकालेको थियो । 

जेलर सत्यराज जोशीसँग पनि आयोगले बयान लिइसकेको छ । जोशीले लामिछानेको पत्रमा भएको हस्ताक्षर आफ्नै भएको स्वीकार गरेका छन् । तर, भिडको अवस्था रहेकाले पत्रमा रहेको व्यहोरा भने आफूले राम्रोसँग पढ्न नपाएको बताएका छन् । जोशी र लामिछानेको बयान धेरै हदसम्म मिलेको आयोग स्रोतले बतायो । 

आइजिपी खापुङसँग पनि लियो बयान 
जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको छ । आन्दोलनमा खटिएका प्रहरीको विस्तृत विवरण दिन नमानेपछि बुधबार आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । 

२३ र २४ भदौको आन्दोलनमा फिल्डमा खटिएका प्रहरीको विस्तृत विवरण माग्दै आयोगले पत्राचार गरेकोमा महानिरीक्षक खापुङले जवानदेखि महानिरीक्षकसम्म सबै खटिएको जवाफ पठाएका थिए ।  जाँचबुझको कामलाई असहयोग गरेपछि स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए । 

थप विवरण पठाउन उपत्यका प्रहरी कार्यालयलाई देखाएर पन्छिएपछि स्पष्टीकरण सोधिएको आयोग स्रोत बताउँछ । बयानमा बोलाउनका लागि आयोगले २३ भदौमा बानेश्वर क्षेत्रमा खटिएका तथा सोही दिन धेरै क्षति भएका क्षेत्रमा खटिएका प्रहरीको विवरण मागेको थियो । जुन विवरण प्रहरी प्रधान कार्यालयले पठाएको छैन । 

सुझावित समाचार