पोखराका उद्योगी व्यवसायीले भेटे अर्थमन्त्री र भूमि व्यवस्थामन्त्री

व्यावसायिक वातावरण निर्माणसँगै अर्थतन्त्रलाई चलायमान बनाउन ध्यानाकर्षण

बुधबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण

पोखराका उद्योगी व्यवसायीले अर्थमन्त्री रामेश्वर खनाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हालाई भेट गरी व्यावसायिक वातावरण निर्माणसँगै अर्थतन्त्रलाई चलायमान बनाउन ध्यानाकर्षण र विभिन्न सुझाव दिएका छन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की नेतृत्वको टोलीले बुधबार दुई मन्त्रीलाई भेटेर ध्यानाकर्षणसँगै सुझाव पेस गरेका हुन् । 

टोलीले मन्त्रीद्वयलाई जेन–जी आन्दोलनको क्रममा भौतिक र मानसिक क्षति व्यहोरेका व्यवसायीका निम्ति घोषित राहत प्याकेज तत्काल ल्याउन, आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन, कोरोला नाका दिगो रूपमा सञ्चालन गर्ने गरी संरचना निर्माण गर्न, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका निम्ति आवश्यक पहल गर्न, पोखरामा नयाँ औद्योगिक क्षेत्रको स्थापना तथा हालको औद्योगिक क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्ने, कर्जा र चल्ती खाताको प्रावधानले कर्जा उपयोगमा परेको समस्या, सिद्धार्थ राजमार्गको स्तरोन्नति र पोखरामा सुक्खा बन्दरगाह निर्माणलगायत विषयमा ध्यानाकर्षण र सुझाव दिएको जनाएको छ । 

भेटमा मन्त्रीद्वयलाई जेन–जी प्रदर्शनपछि सिर्जना भएको परिस्थिति र त्यसले व्यवसायीहरूको गिरेको मनोबल, व्यावसायिक लगानी पलायनको चिन्ता, अर्थतन्त्र सुधारका उपायहरूका बारेमा ध्यानाकर्षण गराएको अध्यक्ष कार्कीले बताए। 

टोलीको ध्यानाकर्षण र सुझावपछि मन्त्रीद्वयले त्यसलाई सकारात्मक रूपमा लिँदै सरकार व्यावसायिक वातावरण निर्माणका लागि दिनरात लागिपरेकाले ढुक्क हुन आश्वासन दिएको संघकी महासचिव शोभा गौतमले जानकारी दिइन्। 

सुझावित समाचार