आफ्नै पालिकाको मेटेरियल टेस्टिङ ल्याबबारे सर्वसाधारण अनविज्ञ

बुधबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण

भौतिक संरचना निर्माण प्रयोग हुने सामाग्रीको गुणस्तर परीक्षण गर्ने गरी मोरङ बुढीगंगा गाउँपालिका–४ हात्तीमुढामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले सिभिल ल्याब स्थापना गरेको छ । यसबारे जानकार कतिपयले त ल्याबको सुविधा पनि लिइरहेका छन् । तर, आसपासमै रहेका सर्वसाधारण भने ल्याबबारे अनविज्ञजस्तै छन् । 

विश्वविद्यालयले ल्याबको प्रचारप्रसार नगर्दा गाउँपालिकाभित्रै पनि कयौँ सर्वसाधारण यसबारे जानकार छैनन् । जसका कारण न्यून शुल्कमा निर्माण सामग्री परीक्षण हुन्छ भन्ने थाहा पाउन सकेका छैनन । 

ल्याब विश्वविद्यालयको स्कुल अफ इन्जिनिरिङअन्तर्गत रहेको छ । विश्वविद्यालयले सस्तो दररेटमा सरकारी र व्यक्ति वा संस्थाले लगेका निर्माण सामग्री परीक्षण गरिदिँदै आएको छ । निर्माण सामग्रीहरू रड, सिमेन्ट, गिटी बालुवा आदिको गुणस्तर परीक्षण गरेर प्रतिवेदन दिने गरेको मेटेरियल टेस्टिङ ल्याबका संयोजक सिभिल इन्जिनियर सन्दीप दहालले बताए । उनका अनुसार जिल्ला प्रशासन समितिले तोकेको न्यून शुल्कमा निर्माण सामग्रीहरू परीक्षण हुँदै आएको छ । परीक्षणबाट विश्वविद्यालयले पनि वार्षिक ३० देखि ४० लाख आम्दानी गर्दै आएको छ । चार वर्षमा टेस्टिङ ल्याबले एक करोडभन्दा बढी आम्दानी गरिसकेको छ । 

इन्जिनियर दहालका अनुसार विश्वविद्यालले आधुनिक मेटेरियल टेस्टिङ ल्याब स्थापना गरेर व्यवसायिक रूपमा सञ्चालनमा ल्याए पनि प्रचारप्रसार नगर्दा सर्बसाधारणले निर्माण सामाग्री सस्तो शुल्कमा परीक्षण गराएर लाभ उठाउन पाइरहेका छैनन्। 

विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले मेटेरियल टेस्टिङ ल्याबलाई पूर्ण व्यावसायिक बनाउन योजना निर्माण भैरहेको र चाँडै प्रदेशभर प्रचारप्रसार गर्ने बताए। उनका अनुसार सानो ठुलो घर बनाउने जोकोहीले १० हजारसम्ममा भौतिक सामग्रीहरूको नमुना परीक्षण गराउन सक्छन्। पोखरेलले  भने, ‘प्राविधिक शैक्षिक संस्था भएकोले हालसम्म संस्थागत परीक्षण मात्रै गराउँदै आएका छौँ । अब सर्वसाधारणका लागि पनि ल्याब खुल्ला गर्दै छौँ।’    
 
 

सुझावित समाचार