प्रहरीले थाल्यो सर्वोच्च र काठमाडौं जिल्ला अदालत आगजनीको अनुसन्धान

बुधबार, २० कार्तिक, २०८२
डिजिटल संस्करण

प्रहरीले सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौंमा भएको तोडफोड र आगजनी सम्बन्धमा अनुसन्धान थालेको छ । दुवै अदालतको जाहेरीपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । 

सर्वोच्च र जिल्ला अदालतले गत १३ कात्तिकमा घटनाको अनुसन्धान गर्न भन्दै काठमाडौं परिसरमा जाहेरी दिएको थियो । सोही जाहेरीपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । दुवै अदालतको जाहेरीमा व्यक्ति किटान भने गरिएको छैन । तर, भौतिक सम्पत्तिमा भएका क्षतिको विवरण र घटना सम्बन्धमा भने जाहेरीमा उल्लेख गरिएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले सर्वोच्च र जिल्ला अदालतमा गरिएको तोडफोड र आगजनीका सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढेको बताए । ‘गत २३ र २४ भदौको जेन–जी आन्दोलनमा सर्वोच्च र काठमाडौं जिल्ला अदालत आगजनी गरियो । घटनाको अनुसन्धान गर्न भन्दै जाहेरी परेको छ । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ । अहिले सूचना संकलन भइरहेका छन् । अनुसन्धानका क्रममा आवश्यक सबै प्रक्रिया प्रहरीले पूरा गर्नेछ,’ उनले भने ।

काठमाडौं परिसरका अनुसार अहिले घटनासँग सम्बन्धित सिसिटिभी फुटेज, अन्य भिडियो र फोटो संकलनका काम भइरहेका छन् । नागरिकबाट आएका भिडियो र फोटो पनि प्रहरीले विश्लेषण गरिरहेको छ । तोडफोड र आगजनीमा प्रत्यक्ष जोडिएका अभियुक्त लगभग पहिचान भइसकेका छन् । उनीहरूको लोकेसन खुल्नासाथ पक्राउ गर्ने रणनीतिमा प्रहरी जुटेको छ । ‘हामीसँग भएका र नागरिकबाट आएका भिडियो र फोटो विश्लेषण हुँदै छ । अनुसन्धानका सबै प्रक्रिया पूरा गरेर घटनामा संलग्न हुनेलाई पक्राउ गरिनेछ,’ एसएसपी थापाले भने । 

प्रदर्शनका क्रममा सर्वोच्चको भवन जलेर पूर्ण तवरले नष्ट भएको छ । यसक्रममा सवारीसाधन र जिन्सी जलेर नष्ट भएका छन् । सबैगरी सर्वोच्चको मात्रै एक अर्ब २१ करोड २१ लाख ९१ हजार मूल्यबराबरको सम्पत्ति नष्ट भएको जाहेरी प्रतिवेदनमा उल्लेख छ । सर्वोच्चका अनुसार मूल भवन मात्रै ५० करोड रुपैयाँ मूल्यबराबरको क्षति भएको छ । ४० करोड १९ लाख ५ हजार ७०८ रुपैयाँ मूल्यबराबरको सवारीसाधन (पूर्ण क्षति), २८ करोड ७३ लाख १५ हजार ९३० रुपैयाँ मूल्यको जिन्सी (खर्च भएर जाने), २४ लाख १९ हजार ४१३ मूल्यको जिन्सी (खर्च भएर नजाने) र दुई करोड पाँच लाख ५० हजार मूल्यको सवारीसाधन (आंशिक) गरी कुल एक अर्ब २१ करोड २१ लाख ९१ हजार ५१ रुपैयाँ मूल्यको भौतिक सम्पत्ति नष्ट भएका छन् । 

तथ्यंकअनुसार सर्वोच्चको मात्रै ४३ चारपांग्रे, ७१ मोटरसाइकल, ३८ स्कुटर गरी १५२ सवारी जलेका छन् । जसमध्ये १६ चारपांग्रे सवारीसाधन भने मर्मतपछि प्रयोग गर्न मिल्ने अवस्थामा छन् । सर्वोच्चका अनुसार चालू अवस्थाका २० हजार ३४ मिसिल जलेर नष्ट भएका छन् । सर्वोच्चमा चालू अवस्थाका मात्रै सबैगरी २४ हजार २३४ मिसिल थिए । त्यस्तै, अभिलेखमा राखिएका एक लाख ९७ हजार मिसिल जलेर नष्ट भएका छन् । 

त्यस्तै, काठमाडौं जिल्ला अदालतमा मात्रै ५५ करोड ५० लाख २५ हजार मूल्यबराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएका छन् । जाहेरीमा उल्लेख भएअनुसार अदालत मूल भवन जलेर ५२ करोड २७ लाख मूल्यबराबरको क्षति हुन पुगेको छ । आगजनीपछि भवन प्रयोग गर्न नमिल्ने भएको छ । त्यसबाहेक २३ लाख २५ हजार रुपैयाँ मूल्यबराबरको सवारीसाधान र तीन करोड मूल्यको फर्निचर जलेर नष्ट भएका छन् । 

प्रदर्शनका क्रममा सर्वोच्चसहित २३ अदालतमा तोडफोड र आगजनी गरिएका छन् । जसबाट दुई अर्ब ८० करोड ७८ लाख १९ हजार ६६३ रुपैयाँ मूल्यबराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । सर्वोच्चका अनुसार तोडफोड र आगजनीबाट भवन मात्रै एक अर्ब ६५ करोड ४१ लाख ६६ हजार ९५८ रुपैयाँ मूल्यबराबरको क्षति भएको छ । त्यसबाहेक सवारीसाधन ६१ करोड ५१ लाख ४२ हजार ९६० रुपैयाँ र फर्निचर, इलेक्ट्रोनिक्स तथा अन्य सामग्री ५३ करोड ८५ लाख नौ हजार ७४८ रुपैयाँ मूल्यबराबरको जलेर नष्ट भएका छन् । सर्वोच्चको तथ्यांकअनुसार जेन–जी आन्दोलनमा उच्च अदालतमध्ये हेटौँडा, बुटवल, मोरङ, कास्की, बाँके र दाङमा प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएका छन् । यसक्रममा अदालतको मात्रै ५० करोड ९१ लाख ७५ हजार १८३ रुपैयाँ मूल्यबराबरको भौतिक सम्पत्ति जलेका छन् । काठमाडौं जिल्ला अदालतसहित मुलुकभरका १३ जिल्ला अदालतमा तोडफोड र आगजनी भए । अदालतको मात्रै एक अर्ब ९० लाख ९८ हजार ४२८ रुपैयाँ मूल्यबराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएका छन् । 

सुझावित समाचार