गण्डकीले दुई अर्ब ५० करोड बजेट कटौती गर्ने

१५ शीर्षकमा २० देखि शत प्रतिशतसम्म बजेट कटौती

मंगलबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष ०८२-८३ का लागि विनियोजित बजेटमा दुई अर्ब ५० करोड कटौती गर्ने भएको छ । २३ र २४ भदौको जेन–जी आन्दोलनपछि भएको तोडफोड र आगजनीबाट सिर्जना भएको विषम् अवस्थाका कारण संघीय सरकारले २० प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेपछि प्रदेशले समेत सोहीअनुसार बजेट कटौती गर्ने निर्णय गरेको हो। 

गण्डकीले चालू आर्थिक वर्षका लागि चालूतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात् कुल बजेटको ३९.५ प्रतिशत, पुँजीगततर्फ १९ अर्ब नौ करोड ३३ लाख २४ हजार अर्थात् कुल बजेटको ५९.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात् कुल बजेटको ०.८ प्रतिशत गरी ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको थियो। सोही बजेटबाट दुई अर्ब ५० करोड कटौती गर्न लागेको गण्डकीका आर्थिक मामिलामन्त्री एवं सरकारका प्रवक्तासमेत रहेका डा. टकराज गुरुङले जानकारी दिए। 

१५ शीर्षकमा २० देखि सतप्रतिशतसम्म बजेट कटौती
मन्त्री गुरुङका अनुसार विभिन्न १५ शीर्षकमा २० देखि सतप्रतिशतसम्म बजेट कटौती हुनेछ । जस अनुसार सवारीसाधन खरिद, मेसिनरी औजार खरिद (स्वास्थ्य सामग्रीबाहेक) क्षति नभएका कार्यालयहरूको, फर्निचर (क्षति नभएका कार्यालयहरूको) र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि बिदा पर्यटन कार्यक्रमको गरी चार शीर्षकको बजेट शतप्रतिशत र सफ्टवेयर खरिदमा ८० प्रतिशत बजेट  कटौती गण्डकीले गरेको छ ।  

यसैगरी, मेसिनरी औजार (क्षति नभएका कार्यालयहरूको), निर्मित सार्वजनिक सम्पति मर्मत (क्षति नभएका कार्यालयहरुको), चालू कार्यक्रम (अध्ययन-अनुसन्धान, जनचेतनामूलक तालिम, गोष्ठी, सेमिनार, अन्तर्क्रिया, भ्रमण, सूचना, प्रकाशनको), अनुगमन मूल्यांकन, भ्रमण खर्च, अन्य भ्रमण खर्च र पत्रपत्रिका सूचना छपाइ गरी ६ शीर्षकको ५० प्रतिशत बजेट कटौती गरिएको छ। गण्डकीले सवारीसाधन मर्मतको ३०, मसलन्दको २५, विविधको २५ र इन्धनमा सबैभन्दा कम २० प्रतिशत बजेट कटौती गर्ने भएको हो। 
 

सुझावित समाचार