कोरोना कालमा नारायणी अस्पतालले दुई करोडमा खरिद गरेको अक्सिजन प्लान्ट हालसम्म पनि प्रयोगमा ल्याइएको छैन। अस्पतालमा चालु अवस्थामा रहेको पुरानै प्लान्ट हुँदाहुँदै तत्कालिन अस्पताल प्रशासनले ठेक्कादारमार्फत दुई करोडभन्दा बढीमा किनेको प्लान्ट चार वर्ष बितिसक्दा पनि त्रिपालले छोपेर राखिएको छ । उक्त अस्सिजन प्लान्छ अस्पतालको मेडिकल सुपरिडेन्ट बस्ने क्वाटर पछाडिको नयाँ भवनसँगै छोपेर राखिएको छ ।
अब उक्त प्लान्ट नयाँ भवन निर्माण भएपछि सञ्चालनमा ल्याइने अस्पतालका कर्मचारीहरूले बताएका छन् । कर्मचारी स्रोतका अनुसार कोरोना महामारीका वेला तत्कालिन मेडिकल सुपरिडेन्ट र चिकित्सकहरूको मिलेमतोमा उक्त अक्सिजन प्लान्ट खरिद भएको हो । करोडको सामाग्री खरिद गर्दा बढी कमिसन आउने भएपछि मिलेमतोमा प्लान्ट खरिद गरेको स्रोतको दाबी छ ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कमिसनको लागि राज्यको रकम दुरुपयोग गर्नु भ्रष्टाचारको विरुप नमूमा भएको वीरगन्जका सागर साहले आरोप लगाए । नारायणी अस्पतालमा मधेश प्रदेशभरबाट बिरामी आउने भन्दै त्यसवेला उक्त प्लान्ट किनिएको तर हालसम्म पनि प्रयोगमा नआउँदा रकम दुरुपयोग भएको साहले बताए ।
अनावश्यक सामाग्री खरिद गरेर प्रयोगविहीन बनाउनुमा तत्कालिन मेडिकल सुपरिडेन्टको लापरवाही भएको उनको दाबी छ । उनलाई कानुनी दायरामा ल्याउन साहले माग गरे ।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले थन्काएर राखिएको अक्सिजन प्लान्ट अस्पतालको नयाँ भवनमा लगाउने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार अहिले अस्पतालमा पुरानै अक्सिजन प्लान्ट चलिरहेकाले अब निर्माण हुने भवनमा उक्त प्लान्ट लगाइने बताए ।
चाहिनेभन्दा बढी अक्सिजन प्लान्ट
नारायणी अस्पतालमा आवश्यकता भन्दा बढी अक्सिजन प्लान्ट भएपछि प्रयोगविहीन अवस्थामा पुगेको हो । परिसरमा एक अक्सिजन प्लान्ट बन्द छ भने अर्को जडान नै नगरी थन्काइएको छ ।
अस्पताल परिसरमा हाल लिक्विड बेस अक्सिजन प्लान्ट मात्र सञ्चालनमा रहेको चिकित्सकहरूले बताएका छन् । यसबाहेक प्रेसर स्विङ एडसप्सन प्लान्ट बन्द छ । अर्को प्रेसर स्विङ एडसप्सन प्लान्ट जडान नगरी राखिएको छ ।
अस्पतालका अनुसार सञ्चालनमा रहेको लिक्विड बेस प्लान्ट अमेरिकी सहयोगमा नेपाल सरकारमार्फत प्राप्त भइ जडान गरिएको हो । यो प्लान्टको टावर एक पटक भरिँदा अस्पताललाई तीन महिनालाई चाहिने अक्सिनज प्राप्त हुन्छ ।
तत्कालीन संघीय सांसद विमल श्रीवास्तवले संसदीय कोषबाट जडान गरिएको प्रेसर स्विङ एडसप्सन प्लान्टले भने एक दिनमा एक सय ठूला सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छ ।
अस्पतालको मागभन्दा बढी अक्सिजन उत्पादन गर्ने, विद्युत् अत्यधिक खपत गर्ने र मर्मतसम्भार खर्च पनि बढी भएकाले हाललाई यो प्लान्ट सञ्चालन नगरी बन्द गरेको चिकित्सकहरू बताउँछन् ।
स्वास्थ्य मन्त्रालयबाट प्राप्त ससर्त अनुदानको तेस्रो प्लान्ट पनि प्रेसर स्विङ एडसप्सन प्लान्ट नै हो । यसअघि नै दुईवटा प्लान्ट जडान भइसकेको र एउटैले अस्पतालको माग धानिरहेको अवस्थामा तेस्रो प्लान्ट जडान गरेर त्यसको पनि उपयोग नहुने अवस्था देखिएपछि त्यो प्लान्ट जडान नै नगरी राखिएको उनले बताए ।
लिक्विड बेस प्लान्टको तुलनामा प्रेसर स्विङ एडसप्सन अक्सिजन प्लान्टबाट उत्पादन लागत पनि प्रतिलिटर २ देखि ३ रुपैयाँसम्म महँगो छ ।
नारायणीमा मात्र नभई दुवै प्लान्ट जडान भएका देशका अधिकांश सरकारी अस्पतालमा लिक्विड बेस प्लान्टलाई नै सञ्चालनमा ल्याइएको एक चिकित्कसले बताए ।
प्रेसर स्विङ एडसप्सन प्लान्टको वार्षिक मर्मत लागत मात्रै २५ लाख रुपैयाँ रहेकाले सबै दृष्टिले यो प्लान्टको सञ्चालन र मर्मत अत्यन्त महँगो रहेको उनले बताए ।