गत २३ र २४ भदौको जेन–जी आन्दोलन भड्काउन मुख्य भूमिका रहेको टिओबी (टिब्बटियन ओरिजिनल ब्लड) का तेन्जिङ दावाविरुद्ध प्रहरीले लागुऔषध र सरकारी कागजात किर्ते कसुरअन्तर्गत अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले दावालाई गत २६ असोजमा पक्राउ गरेको थियो । त्यसवेला दावाविरुद्ध अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरिएको थियो । अनुसन्धानका क्रममा उनको जन्मदर्ता र नागरिकतासमेत किर्ते भएको खुलेपछि प्रहरीले किर्ते तथा जालसाजी कसुरअन्तर्गत अनुसन्धान अघि बढाएको थियो । खनतलासीका क्रममा उनकको बौद्धस्थित कोठाबाट लागुऔषधसमेत फेला परेपछि प्रहरीले उनीविरुद्ध लागुऔषध कसुरअन्तर्गत पनि अनुसन्धान अघि बढाएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले दावाविरुद्ध लागुऔषध र किर्ते कसुरअन्तर्गत मुद्दा अघि बढाइएको बताए । ‘नागरिकता लिने क्रममा उनले पेस गरेका कागजात शंकास्पद देखिन्छ । उनीसँग लागुऔषध पनि फेला परेको छ । त्यसो हुँदा उनीविरुद्ध लागुऔषध र किर्ते कसुरअन्तर्गत मुद्दा अघि बढेको छ,’ उनले भने ।
प्रहरीका अनुसार तेन्जिङ दावाको नागरिकता र जन्मदर्ता प्रमाणपत्रसमेत शंकास्पद देखिएको छ । नागरिकता प्रमाणपत्रमा उनको जन्ममिति २१ माघ ०५३ उल्लेख छ । काठमाडौं महानगरपालिका–६ जन्मस्थान उल्लेखित प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको थियो । उनको जन्मदर्ता प्रमाणपत्र भने १० चैत ०६३ मा गरिएको थियो । नागरिकता प्रमाणपत्रमा नेपाल सरकारको छापा लगाइएको देखिएको छ भने जन्मदर्ता प्रमाणपत्रमा ‘श्री ५ को सरकार’को छाप लगाइएको भेटिएको छ ।
प्रहरीले जेन–जी आन्दोलनमा उनीहरू सहभागी भएका सबै ठाउँका सिसिटिभी फुटेज संकलन गरेको छ । नागरिकस्तरबाट प्राप्त भएका भिडिओ र फोटोलाई पनि प्रहरीले सूक्ष्म ढंगले विश्लेषण गरिरहेको छ ।