१३ वर्षीया अंशु गौतमको हत्या महिना दिन बित्दा पनि रहस्यमै

मंगलबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

साथीसँग खेल्न जान्छु भनेर घरबाट निस्किएकी मोरङको लेटाङ नगरपालिका– २, बुधबारेकी १३ वर्षीया अंशु गौतमको हत्याको रहस्य एक महिना बितिसक्दा पनि प्रहरीले पत्ता लगाउन सकेको छैन । गत २१ असोजमा साथीसँग ‘खेल्न जान्छु’ भन्दै घरबाट निस्किएकी गौतमको शव १८ दिनपछि ७ कात्तिकमा घरबाट साढे चार किलोमिटर टाढाको जंगलमा क्षतविक्षत अवस्थामा फेला परेको थियो । 

प्रहरीले अंशुको शव अनुसन्धानका लागि भन्दै सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । प्रहरीले उनले लगाएको कपडाबाट जंगलमा क्षतविक्षत रूपमा फेला परेको शव अंशुकै भएको यकिन गरे पनि थप पुष्टि हुन शवको डिएनए परीक्षण गर्ने भएको छ । अंशुको परिवारले छोरीको बलात्कारपछि बीभत्स हत्या भएको भन्दै न्याय नपाएसम्म शव नबुझ्ने अडान राखेको छ । 

मोरङका एसपी कवित कटुवालले जंगलमा फेला परेको अंशुको क्षतविक्षत शव उनको हुलिया र कपडाका आधारमा यकिन भए पनि शवको डिएनए परीक्षणपछि मात्रै पुष्टि हुने बताए । उनका अनुसार डिएनए परीक्षण प्रतिवेदन आएपछि अंशुको मृत्यु रहस्य पत्ता लगाउन थप यकिन हुनेछ । एसपी कटुवालले हत्याको रहस्य पत्ता लगाउन विशेष अनुसन्धान टोली नै परिचालन गरिरहेको र घटनास्थलबाट संकलन गरिएका प्रमाणलाई फरेन्सिक परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइसकेको बताए । ‘डिएनए परीक्षण प्रतिवेदनपछि हामीलाई शव अंशुकै हो भन्ने पक्का यकिन हुनेछ र अनुसन्धान अगाडि बढाउन पनि थप आत्मबल मिल्नेछ,’ उनले भने । 

अंशुका ठुलाबुवा दामोदर गौतमले जबसम्म प्रहरीले अनुसन्धान पूरा गरेर छोरीको हत्यामा संलग्न दोषीलाई सार्वजनिक नगरेसम्म शव नबुझ्ने बताए । ‘चाँडो डिएनए परीक्षणको रिपोर्ट ल्याएर अपराधीलाई कानुनी दायरामा नल्याएसम्म हामी छोरीको शव बुझेर कुनै हालतमा दाहसंस्कार गर्दैनौँ,’ उनले भने । गौतम परिवार र लेटाङवासीले जंगलमा फेला परेको शव बालिका अंशुकै भएको र उनको कसैले अपहरण गरेर बलात्कार गरेर कञ्चनपुरकी बालिका निर्मला पन्तको जस्तै बीभत्स हत्या गरेको दाबी गरेका छन् । 

सुझावित समाचार