पश्चिम नेपाल पुगेका पर्यटकलाई पोखरा महानगरपालिका लेखनाथस्थित बेगनास तालसम्म तान्न ‘जाऊँ है बेगनास...’ अभियान सुरु भएको छ । होटेल तथा रेस्टुरेन्ट एसोसिएसन–लेखनाथको आयोजना, पोखरा भ्रमण वर्ष ०२५, पोखरा महानगरपालिकासँगै नेपाल पर्यटन बोर्डको सहयोगमा अभियान सुरु भएको हो ।
अभियानअन्तर्गत पोखराबाट गएको पर्यटन व्यवसायीसँगै अन्य सरोकारवालाहरूसहितको ३७ सदस्यीय टोलीले पश्चिम नेपालका मुख्य केन्द्र एवं बजारहरू बुटबल, बर्दिया, सुर्खेतलगायतका स्थानमा अन्तर्क्रिया एवं छलफलसँगै त्यस क्षेत्रका पर्यटकलाई पोखरा र बेगनास भ्रमणको निम्ता दिनेछन् ।
पोखरा भ्रमण वर्ष ०२५ का सह–संयोजक, होटेल तथा रेस्टुरेन्ट एसोसिएसन, लेखनाथका सल्लाहकार दामोदरभक्त थापाले रामसार सूचीमा सूचीकृत लेखनाथ क्षेत्रमा रहेका बेगनास, रूपा, न्युरोनी, मैदी, दिपाङ, खास्टे र गुँदे गरी सात ताल आफैँमा प्रचुर पर्यटकीय सम्भावना बोकेको तालहरू रहेकाले पोखराको प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको जानकारी दिए ।
आयोजक एसोसिएसनका अध्यक्ष वीरभद्र कँडेलले आन्तरिक पर्यटन प्रवर्द्धनसँगै पश्चिम नेपालका सहरहरूसँग पर्यटकीय साझेदारी बढाउने उद्देश्य अभियानको रहेको जानकारी दिए । विभिन्न स्थानमा गरिने अन्तर्क्रियामा बेगनास तालसहित लेखनाथका तालहरूको परिचयात्मक भिडियो प्रस्तुत गर्ने योजना छ। उताका पर्यटक यता आउने र यताका पर्यटक उता पठाउन कसरी सहकार्य गर्ने सकिन्छ। त्यसमा समेत छलफल गरिने कँडेलले बताए।
पोखरा महानगरपालिकाका लेखा अधिकृत छविलाल शर्माले पश्चिम नेपालका सहरहरूसँग आपसी भाइचारासँगै साझेदारीमा कसरी सकिन्छ र त्यसबाट कसरी लाभान्वित हुने भन्ने उद्देश्य अभियानको रहको बताए ।
आयोजक एसोसिएसनका महासचिव सुरेश लामिछानेले पोखराबाट गएको टोली बर्दिया हुँदै सुर्खेतसम्म पुुगी पर्यटनसम्बद्ध व्यवसायीसँग छलफल एवं अन्तर्क्रिया गरी पोखरा फर्कने बताए ।