राजनीतिक विश्लेषक श्याम श्रेष्ठलाई ३ प्रश्न

आइतबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

एकीकृत समाजवादीमा देखिएको माओवादीसित एकता गर्ने कि नयाँ पार्टी बनाउने भन्ने विवादलाई कसरी हेर्नुभएको छ ?
समान विचार र सिद्धान्त छ भने अलग–अलग बस्नुभन्दा एकता हुनु बेस हुन्छ । तर, अहिले एकीकृत समाजवादी र माओवादीबिच हुन लागेको भनिएको एकता आन्तरिक तथा दुवै पार्टीबिच घनीभूत छलफल भएर हुँदै गरेको देखिन्न । यसरी, विचार र सिद्धान्तबारे छलफल नै नगरी हतारमा हुने एकता पछि गएर झगडामा परिणत हुन्छ र पार्टीमा छिटै फुट आउँछ । विगतमा नेकपामा पनि त्यही देखिएको हो । अहिले पनि उहाँहरूले चुनावलाई आधार बनाएर एकता गर्न लाग्नुभएको छ । यसले भविष्यमा नोक्सानी मात्र गर्छ । एकतापछि छिटै फुट भयो भने कम्युस्टि पार्टीभित्र फुट नै फुट हुन्छ भन्ने सन्देश जान्छ । 

झलनाथ खनालको नयाँ बन्ने भनिएको पार्टीले जेन–जी आन्दोलनको मर्मलाई बोक्न सक्ला त ?
एकता गर्नुहुन्न भन्नेहरूले यस्ता कुरा खासै उठाएको देखिन्न । विचार र सिद्धान्तबारे बहस नगरी अलग–अलग चुल्हो बालेर बाक्लो दाल खाने रहर गरेजस्तो मात्र देखिन्छ । पार्टी एकता गरे पनि या नयाँ पार्टी गठन गरे पनि केन्द्रमा नेपाली समाजको रूपान्तरण हुनुपर्ने थियो । समाजले एकता चाहेको छ । जनताले पनि एकता नै चाहेका छन् । तर, समाज बदल्ने खाकासाथ छलफल गरेर एकता या नयाँ दल गठन गर्ने दिशामा ध्यान दिइएको छैन । यस्तोमा जेन–जी आन्दोलनको पुस्तान्तरण र भ्रष्टाचार अन्त्यको माग कसरी सम्बोधन होला र ?

यसरी बन्ने नयाँ पार्टी मूल धारकै कम्युनिस्ट पार्टी बन्ला कि फड्के किनाराको साक्षी मात्र बन्ला ? 
जसले जनताका भावना बुझेर तिनको सम्बोधन गर्छ, उही दल मूल धार बन्ने हो । जनता किन असन्तुष्ट भए भन्ने बुझेर त्यसलाई सम्बोधन गरेर अघि बढ्न सकिएन भने भविष्यमा झनै ठुलो आँधी आउन सक्छ । अहिलेको शान्त अवस्था भनेको आँधी आउनुअघिको सन्नाटा मात्र हो । 

सुझावित समाचार