हेटौँडा र काठमाडौंलाई जोड्ने कान्ति राजपथ आइतबार बिहानबाट अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका- ११ घट्टेपाखामा आइतबार बिहान सडकमाथिबाट ठुलाे ढुंगासहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
मकवानपुर प्रहरीका अनुसार आइतबार बिहान करिब ६:५५ बजेको समयमा बाटोमाथिबाट अचानक ठुला ढुंगाहरू खस्दा सवारी आवागमन ठप्प भएको हो । ढुंगासँगै माटो र हिलो मिसिएर सडक पुरिएपछि दुईतर्फी सवारी सञ्चालन रोकिएको छ।
अस्थायी प्रहरी चौकी जितपुर मकवानपुरबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर स्थानीय निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। बाटो अवरुद्ध भएपछि यात्रुहरू बिचबाटाेमा रोकिएका छन् ।
यसअघि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३, ज्यामिरेमा पहिरो खस्दा शनिबारदेखि कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ। बिहीबारदेखि परेको निरन्तर वर्षाका कारण शनिबार साँझ गएको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सडक अवरुद्ध भएपछि काठमाडौं–हेटौँडा आवागमन ठप्प भएको छ भने पहिरो खसेको स्थानमा डोजर र जनशक्ति परिचालन गरी बाटो खुलाउने प्रयास भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
हेटौँडा–काठमाडौं जोड्ने सडक खण्डहरूका कतिपय ठाउँमा पहिरोको जोखिम अझै कायम रहेकाले सवारीचालक र यात्रुहरूलाई आवश्यक सावधानीका साथ यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।