मिडफिल्डर दीपाले बंगलादेशको नासरिनबाट खेल्ने

शनिबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

 नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा शाहीले बंगलादेशको नासरिन स्पोर्टस् एकेडेमीबाट खेल्ने भएकी छिन्। नासरिनले आगामी साफ महिला क्लब च्याम्पियनसिपका लागि अनुबन्ध गरेको दीपाले जानकारी गराइन्। ‘आगामी प्रतियोगिताका लागि अनुबन्ध भएको हो,’ उनले भनिन्। दीपा घरेलु फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी छिन्। 

दीपा व्यावसायिक फुटबल खेल्न दोस्रोपटक विदेशी क्लबमा अनुबन्ध भएकी हुन्। यसअघि भारतको आइलिग खेल्न किक स्टार्स क्लबमा अनुबन्ध भएकी थिइन्। त्यसपछि घाइते हुँदा उनी एक वर्ष नै मैदानबाहिर रहिन्। रिकभरीसँगै राष्ट्रिय टिममा कमब्याक गरेकी दीपाले लगत्तै विदेशी क्लबमा सम्झौता गरेकी हुन्। 

दीपा नासरिनमा भित्रिने तेस्रो विदेशी खेलाडी हुन्। उनीसँगै यसअघि नै पूजा रानामगर र समीक्षा घिमिरे पनि नासरिनले सम्झौता गरिसकेको छ। 

प्रतियोगितामा नासरिनसँगै नेपालबाट विभागीय टोली एपिएफ क्लब, भारतबाट इस्ट बंगाल, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानबाट कराँची सिटीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा श्रीलंका र माल्दिभ्सबाट भने प्रतिनिधित्व हुनेछैन।

पहिलोपटक आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिप नेपालमा आगामी ५ देखि २० डिसेम्बरसम्म हुँदै छ।

सुझावित समाचार