पहिला देश (पिपुल्स रेभुलेसन) अभियानले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सिडिओलाई पक्राउ नगरेकाे भन्दै आइतबार माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ। शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री सुशीला कार्कीले जेन-जीको मागअनुसार काम गर्न नसकेको भन्दै उनको राजीनामा मागेका छन्।
पहिला देश अभियानका डा. निकोलश भुसालले जेन-जी आन्दोलन मूलतः सुशासन र भ्रष्टाचार मुक्त समाज तथा कार्यकारी प्रमुखको लागि भएको, तर वर्तमान सरकार उल्टो दिशामा गएको आरोप लगाए। भुसालले जेन-जीलाई गोली हान्न आदेश दिने ओली र लेखकलाई पक्रेर अनुसन्धान गर्नु सरकारको पहिलो प्राथमिकता भए पनि त्यसो नगरेकाले प्रदर्शनमा उत्रन बाध्य भएको बताए।
पहिला देशका संयोजक एसपी शाहले भोलिको प्रदर्शनमा जेन-जी, लघुवित्त, सहकारी, मिटरब्याज, बैंकलगायतका पीडितले संयुक्त रूपमा प्रदर्शन गर्ने जानकारी दिए। आफूहरूले जेन-जी आन्दोलनपछि देशमा आमूल पविर्तन भएको हेर्न चाहेको, तर ठुलो बलिदानबाट आएको सरकार पुरानै व्यवस्था र भ्रष्टहरूको संरक्षक भएको आरोप लगाउँदै त्यसको विकल्प खोजिनुपर्ने माग गरे।
पहिला देशका संरक्षक मनिराम ज्ञवालीले जेम-जी आन्दोलनको आँधीहुरीबाट निर्माण भएको वर्तमान सरकार पनि केपी ओलीको भन्दा फरक नभएकोले संविधान परिमार्जन सभामार्फत देशलाई निकास दिनुपर्ने बताए। लघुवित्तपीडित संघर्ष समितिका अध्यक्षसमेत रहेका ज्ञवालीले वित्तीय शोषणको अन्त्य र विशेष वित्तीय ऐन खारेजको माग गर्दै, त्यसको मुख्य बाधक राष्ट्र बैंक भएको आरोप लगाए।