आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक श्रृङ्खलामा नेपालले अमेरिकाविरुद्ध टस हारेको छ।शनिबार युएईको दुबईमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस हारेपछि ब्याटिङ गर्ने निर्णय भएको छ ।
लिग–२ यो श्रृङ्खलामा नेपालले दुई खेल खेल्दा हारको सामना गरेको छ । अमेरिका र घरेलु टोली युएईसँगको प्रतिस्पर्धामा ब्याटिङ कमजोरीका कारण नेपालले खराब हार व्यहोरेको थियो ।
पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनले पराजित नेपाल दोस्रो खेलमा युएईबाट पाँच विकेटले हार्यो । लिग–२ मा खराब प्रदर्शन गरिरहेको नेपालको एकदिवसीय मान्यता बिस्तारै धराप परिरहेको छ ।
अहिले १२ अंकका साथ नेपाल सहभागी आठमध्ये सातौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको अमेरिकाले २२ खेलबाट सर्वाधिक ३२ अंक बटुलेको छ । स्कटल्यान्डले २४ खेलबाट ३० अंक जोड्दै दोस्रो स्थान बलियो बनाएको छ । नेदरल्यान्ड्स २८ अंकका साथ तेस्रो स्थानमा छ । यता युएइ भने तालिकाको अन्तिममा छ।