जेन–जी आन्दोलनका क्रममा कैलाली कारागारबाट निस्किएका २६० जना कैदीबन्दी अझै फरार छन् । आन्दोलनकारी प्रवेश गरेपछि कारागारमा रहेका ६६७ मध्ये ६६५ जना कैदीबन्दी निस्किएका थिए । कारागार प्रशासनले २६० जनाबाहेक अन्य कैदीबन्दी कारागार फर्किएको जनाएको छ ।
अधिकांश कैदीबन्दी आफैँ कारागार फर्किएका हुन् भने कतिपयलाई प्रहरीले पक्राउ गरेर कारागार पुर्याएको हो । फरारमध्ये धेरैजसो लागुऔषध र जबर्जस्ती करणी मुद्दाका कैदीबन्दी रहेको कैलाली कारागार प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए । कारागार प्रशासनका अनुसार लागुऔषध मुद्दाका ९३ जना तथा जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योग मुद्दाका ७७ जना कैदीबन्दी फरार छन् ।
कर्तव्य ज्यान, ज्यानसम्बन्धी कसुर र आत्महत्या दुरुत्साहन मुद्दाका ४७ जना कैदीबन्दी फरार रहेका कारागारको तथ्यांक छ । ज्यान मार्ने उद्योग, डाँका चोरी, हातहतियार तथा खरखजना, ठगी, किर्तेलगायत मुद्दाका कैदीबन्दी फरार छन्। ‘यहाँ लागुऔषध मुद्दा धेरै रहेछन्। फरारमध्ये धेरै लागुऔषध मुद्दाकै छन्,’ उनले भने। २६० कैदीबन्दी अझै फरार रहेका र फरार रहेकाहरूको सूची प्रहरीलाई दिइएको कारागार प्रमुख सापकोटाले बताए । त्यसमध्ये १९ जना भारतीय नागरिक रहेको उनले जानकारी दिए।
हत्या, करणीजस्ता जघन्य अपराधमा संलग्न तथा मुछिएका कैदीबन्दी फरार हुँदा जिल्लामा सुरक्षा चुनौती बढेको छ । जिल्ला प्रहरी कार्यालयले भने त्यस्तो चुनौतीलाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाइएको बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले फरार कैदीबन्दी पक्राउ गर्नका लागि विशेष प्रहरी टोली परिचालन गरिएको बताए । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा फरार कैदीबन्दी पक्राउ गर्न कार्यदलसमेत गठन गरिएको प्रशासनले जनाएको छ ।