इन्डोनेसियाको निर्माणाधीन राजधानी नुसन्ताराको पहिलो चरणको काम सन् २०२४ मै सकिने भनिए पनि अझै सकिएको छैन । पछिल्लो समय सहरलाई राष्ट्रिय राजधानीको दर्जाबाट राजनीतिक राजधानीमा घटुवा गरिएपछि परियोजना समय पूरा हुनेमा प्रश्न उठ्न थालेको छ ।
इन्डोनेसियाले वर्तमान राजधानी जकार्ता द्रुत गतिमा डुब्दै गरेपछि अघिल्ला राष्ट्रपति जोको विदोदोले बोर्निया टापुको विशाल जंगल क्षेत्रमा नयाँ सहर नुसन्तारा निर्माण सुरु गरेका थिए, राजधानी बनाउने सोचले । सन् २०१९ मा घोषणा गरिएको ३२ अर्ब डलरको राजधानी निर्माण परियोजना लजिस्टिक र वित्तीय चुनौतीले आशातित रूपमा अघि बढ्न सकेको छैन ।
सेप्टेम्बरमा वर्तमान राष्ट्रपति प्रबोबो सुबियान्तोको सरकारले नुसन्ताराको हैसियत ‘राष्ट्रिय राजधानी’बाट ‘राजनीतिक राजधानी’मा घटुवा गर्ने निर्णय गरेको थियो । तथापि, अधिकारीहरूले ‘सन् २०२८ मा नुसन्तारा राजनीतिक राजधानीका रूपमा तयार’ भइसक्ने दाबी गरेका छन् । तर, सुबियान्तोको सरकारले यस परियोजनालाई छुट्याइएको बजेटमा ठुलो कटौती गरेपछि उक्त दाबीमाथि आशंका उत्पन्न गर्नेलाई बल प्रदान गरेको छ ।
परियोजनाको कुल लागतको ८० प्रतिशत खर्च नजी तथा विदेशी लगानीमार्फत गरिने भनिए पनि त्यसअनुसार रकम नउठ्नुले पनि समस्या उत्पन्न भइरहेको छ । आलोचकले पछिल्लो समय नुुसन्तारालाई ‘सेतो हात्ती’को संज्ञा दिन थालेका छन् ।
तथापि, अधिकारीहरूले भने परियोजना पूर्वनिर्धारित समयतालिकाअनुसार नै अघि बढिरहेको दाबी गरेका छन् । हाल, परियोजना ‘दोस्रो चरण’मा पुगेको र यसअन्तर्गत सहरमा सार्वजनिक यातायात, निजामती कर्मचारीको आवास, विधायिकी तथा न्यायिक मुख्यालयका भवनको निर्माण काम चलिरहेको बताएका छन् ।
सहर बनाउन ठुलो क्षेत्रको जंगल काटिएको र त्यहाँ बसोवास गर्ने आदिवासीलाई विस्थापित गरिएको विषयले परियोजनाको आलोचना निम्त्याएको थियो । सन् २०४५ सम्ममा पूर्ण रूपमा काम सकाउने लक्ष्य राखिएको सहरमा त्यति वेला २० लाख जनसंख्या पुर्याउने लक्ष्य राखिएको छ ।