गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा कोशी प्रदेश सभाको भवनमा आगजनी भएपछि सरकारले प्रदेश सभा बैठकका लागि विकल्प खोज्न सुरु गरेको छ । कोशी प्रदेश सभा सचिवालयको प्रदेश सभा भवनसहित चारवटा भवन जलेपछि बैठक सञ्चालन र प्रदेश सभा सचिवालय सञ्चालनका लागि विकल्प खोज्न लागिएको हो । आउने मंसिरबाट प्रदेश सभाको आठौँ अधिवेशन सञ्चालन गर्ने तयारीसहित प्रदेश सरकारले विकल्प खोजिरहेको हो ।
प्रदेश सभा सञ्चालनका लागि कोशी प्रदेश सरकारले विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको वीरेन्द्र सभागृह र मोरङकै कटहरी गाउँपालिकामा रहेको कृषि केन्द्रको भवनलाई प्रयोग गर्न सकिने निष्कर्ष निकालेको छ । विराटनगरमा रहेको वीरेन्द्र सभागृहको भाडा महँगो हुने भएकाले केही समय त्यहाँ प्रदेश सभा सञ्चालन गरेर पछि कटहरी कृषि केन्द्रको भवनमा सर्ने तयारी भइरहेको कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । उनका अनुसार केही महिना वीरेन्द्र सभागृहबाट प्रदेश सभा सचिवालय र प्रदेश सभाको बैठक सञ्चालन गर्ने तयारी भएको छ ।
‘सरकारले तत्कालका लागि वीरेन्द्र सभागृहलाई भाडामा लिएर प्रदेश सभा सञ्चालनको तयारी गरिरहेको छ । अरू के गर्न सकिन्छ भनेर अध्ययन पनि गर्दै छौँ । कटारीको कृषि बजारको भवन तयारी गर्ने भन्ने भएको छ । यसका लागि दुई–तीन महिना लाग्छ,’ उनले भने, ‘यो अवधिमा संसद्ले पनि काम गर्नुपर्छ । विधेयकहरू पास गर्नुपर्ने छ । प्रदेश सभाको भवन निर्माण गर्न पनि दुई महिना लाग्छ । तसर्थ महँगै भए पनि वीरेन्द्र सभागृहमा सञ्चालन गर्ने तयारी छ । अन्य विकल्प छैन । त्यसका लागि महानगरसँग सम्झौता गर्न अन्तिम तयारीमा छौँ । लामो समय प्रदेश सभा सञ्चालन नगर्न पनि मिल्दैन ।’
विराटनगर महानगरपालिकाले वीरेन्द्र सभागृहको मासिक भाडा दश लाख मागेको मन्त्री भण्डारीले जानकारी दिए । यद्यपि, विराटनगर महानगरपालिकाले बनाएको वीरेन्द्र सभागृह सञ्चालन तथा व्यवस्थापन कार्यविधिअनुसार महानगरले वीरेन्द्र सभागृहको ठेक्का व्यवस्थापन नभएसम्म दैनिक एक लाख रुपैयाँ भाडा र थप १० हजार सरसफाइ खर्च लिने व्यवस्था गरेको छ । यद्यपि, लामो समय भाडामा लिँदा आपसी समझदारीमा भाडा लिन सकिने विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले जानकारी दिए ।
अहिले प्रदेश सभा सचिवालयको काम–कारबाही जल्न र तोडफोड हुन बाँकी रहेको मर्यादापालकको ब्यारेकबाट सञ्चालन भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ । कोशी प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले प्रदेश सभा बैठक र सचिवालय सञ्चालनका लागि कटहरीका कृषि बजार उपयुक्त हुने बताए । बिहीबार पनि मुख्यमन्त्रीसहितको टिमले योे ठाउँको अनुगमन गरेको उनको भनाइ छ ।
यद्यपि, प्रदेश सभा व्यवस्थापनको काम प्रदेश सरकारले गर्नुपर्ने उनले बताए । आर्थिक भार कम पर्ने भएकाले कटहरीको कृषि बजारमा प्रदेश सभा सञ्चालन गर्न उपयुक्त हुने उनी बताउँछन् । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले जेन–जी आन्दोलनका क्रममा संरचना ध्वस्त भएकाले तत्काल प्रदेश सभा सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए ।