नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले चुनाव हुने वा नहुने भन्ने ठेगान नभएको बताएका छन् । प्रेस चौतारी दाङले बिहीबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटन संविधानसम्मत नभएको भन्दै त्यो कुरा अदालतबाट नटुंगिँदासम्म चुनाव नहुने बताए । ‘प्रतिनिधिसभा विघटन संविधानसम्मत छैन भन्ने विगतमा नजिरले भन्दछ । हामीले पनि दुईपटक संविधान विघटन गरेर चुनावमा जान खोजेका थियौँ,’ उनले भने, ‘तर, विगतमा सर्वोच्च अदालतले संसदबाटै सरकार बनाउने सम्भावना रहेसम्म विघटन गर्न नपर्ने फैसला गरिसकेको छ ।’
विगतको अदालतको फैसलाअनुरूप नै अहिले पनि संसद् पुनर्स्थापना हुन सक्ने उनको भनाइ छ । संसद् पुनर्गठन भएमा चुनाव नहुने उनले बताए । त्यसैले पनि चुनावको विषय गौण रहेको महासचिव पोखरेलको भनाइ छ । संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई नै भएको अवस्थामा शक्तिको आडमा फैसला हुन नहुनेसमेत बताए । ‘सर्वोच्च अदालतलाई संविधानको अन्तिम व्याख्या गर्ने अधिकार हुन्छ,’ उनले भने, ‘तर, त्यो विगतको नजिर र कानुनसम्मत नै हुनुपर्दछ।’
एमाले चुनावबाट भाग्ने पार्टी नभएकोसमेत उनले बताए । यद्यपि, फागुनमै चुनाव गर्नका लागि सुरक्षाको प्रत्याभूतिसमेत नभएको उनको भनाइ छ । चुनाव तोकिए पनि जनता सहज ढंगले मतदान केन्द्रमा जान सक्ने वातावरण तयार नभएकोसमेत उनले बताए । त्यस्तै, राजनीतिक दलका गतिविधिहरू निर्वाध रूपमा गर्न सक्ने अवस्थासमेत नरहेको भन्दै दलले नै जनतामा आफ्ना एजेन्डा लिन नसक्ने अवस्था भएमा चुनावको अर्थ नरहनेसमेत बताए । ‘चुनाव भनेको आफ्ना एजेन्डा लिएर राजनीतिक दलहरू जनताको बिचमा जाने कुरा हो,’ उनले भने, ‘तर, सरकार अहिले पनि जुलुस ननिकाल्नोस भन्छ । प्रहरीको मनोबल पनि गिरेको छ । यस्तो अवस्थामा चुनाव हुन सक्दैन ।’
अहिले चौतर्फी रूपमा राजनीतिक दलमाथि प्रहारसमेत भइरहेको छ । यसमा सरकारले व्यवस्थापन गर्न नसकेकोसमेत महासचिव पोखरेलको भनाइ छ। ‘राजनीतिक दलप्रतिको प्रहार भनेको लोकतन्त्रमाथिको प्रहार हो, यसलाई सामान्य आक्रोशका रूपमा चित्रण गर्न खाजेको देखिन्छ,’ उनले भने, ‘तर, लोकतन्त्रमा जनताका एजेन्डा बोक्ने राजनीतिक दललाई कमजोर बनाउने कुरा सामान्य होइन ।’
अर्कोतर्फ जेन–जीका नाममा अहिलेको सरकार एनजिओले चलाएकोसमेत बताए । मुलुकमा नागरिकस्तरको सरकार बनाए पनि त्यसमा राजनीतिक दलसँगको सहमतिमा बनाउनुपर्नेमा एनजिओले चलाएकोसमेत उनले बताए । साथै उनले जेन–जी आन्दोलनको क्रममा दोषीलाई छानबिन गर्नका लागि बनेको कार्की आयोगले निष्पक्ष छानबिन गर्न नसक्नेसमेत उनको भनाइ छ । तत्काल तटस्थ व्यक्तिको नेतृत्वमा आयोग बनाए मात्रै निष्पक्ष छानबिन हुन सक्नेसमेत उनले बताए ।
महासचिव पोखरेलले राजनीतिक दलका नेताहरूको सुरक्षामा सरकारले बेवास्ता गरेकोसमेत बताए । सुरक्षाकर्मीसमेत फिर्ता लिने कार्य हुँदा दलका शीर्ष नेताहरूको सुरक्षा पार्टीले गर्नुपर्ने अवस्था रहेको भन्दै यसले समाजमा नकारात्मक प्रभाव पार्नेसमेत बताए । २३ र २४ गतेको जेन–जी आन्दोलनका नाममा मुलुकको सुरक्षा निकाय, न्यायालय, डेटा भएका कार्यालयहरू तोडफोड गर्दा राज्य नै कमजोर भएको भन्दै राज्य नै कमजोर पार्ने खालले षड्यन्त्र भएकोसमेत बताए । जेन–जी उमेर समूहलाई देखाएर षड्यन्त्र भएकोसमेत उनले बताए । महासचिव पोखरेलले उमेर समूहलाई छुट्टै संगठन तथा पार्टीका रूपमा लिन खोजिएको भन्दै जेन–जी कुनै संगठन नभई उमेर समूह भएकोसमेत बताए ।
यसमा प्रहरीले पनि सुरक्षा दिन नसकेको उनको भनाइ थियो । विगतमा लाखौँ भिडलाई प्रहरीले नियन्त्रणमा लिन सकेको अवस्थामा अहिले २० हजारसम्मको भिडलाई पनि नियन्त्रण लिनबाट हच्किएकोसमेत बताए । अब पनि यस्ता आन्दोलन भएमा टोलटोलबाट सुरक्षा गर्नुपर्ने बताए । २००७ साल, २०४६, २०५२ सालमा भएको लाखौँ जनता सहभागी भएका आन्दोलनमा पनि यति क्षति नभएको अवस्थामा अहिले एकैदिनमा ठुलो क्षति भएको उनले बताए । आन्दोलन यस्तै अराजक बन्दै गएमा जेन अल्फाले झनै जेन–जी पुस्तालाई नस्विकार्ने अवस्था आउन सक्ने उनले बताए ।