बंगालको खाडीमा उत्पन्न भएको ‘मोन्था’ चक्रवातको प्रभाव बागमती प्रदेशको राजधानी हेटौँडामा समेत देखिन थालेको छ । सोही प्रभावका कारण हेटौँडासहित मकवानपुरका अधिकांश स्थानमा अविरल वर्षा भइरहेको छ ।
हेटौँडामा बिहानैदेखि लगातार पानी परिरहेको छ । वर्षासँगै बढेको चिसोका कारण दैनिक जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, ‘मोन्था’ चक्रवात भारतको पश्चिम बंगाल हुँदै नेपालतर्फ सरिरहेको छ ।
यसले विशेषगरी बागमती, कोशी, मधेश र गण्डकी प्रदेशमा वर्षा र चट्याङसहितको मौसमी गतिविधि तीव्र बनाएको हो । विभागको पूर्वानुमान शाखाले आगामी १५ गते बिहानसम्म बागमती प्रदेशका मध्य र पूर्वी पहाडी क्षेत्रमा वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ । वर्षासँगै कतिपय ठाउँमा बाढी र पहिरोको जोखिम बढेको भन्दै सतर्क रहन आग्रहसमेत गरेको छ ।