च्याम्पियन जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्न दक्षिण अफ्रिकाका फास्ट बलर वेन पार्नेल ल्याउने भएको छ।
देव्रेहाते ३६ वर्षीय पार्नेलले दक्षिण अफ्रिकाबाट ६ टेस्ट, ७३ एकदिवसीय अन्तर्राष्ट्रिय र ५६ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्। सोक्रममा उनले १७३ विकेट लिइसकेका छन्।
पार्नेलले सन् २००६ मा श्रीलंकामा भएको आईसीसी यू–१९ विश्वकप खेलेका थिए भने त्यसको २ वर्षपछि मलेसियामा भएको यू–१९ विश्वकपमा दक्षिण अफ्रिकाको कप्तानी गरेका थिए।
पार्नेलले इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्स र रोयल च्यालेन्जर बेङलोरबाट खेलिसकेका छन्। उनीसँग विश्वव्यापी फ्रेन्चाइज लिगमा खेलेको अनुभव छ। सोक्रममा उनले सवैखाले ट्वान्टी–२० का ३ सय खेल खेल्दै ३१७ विकेट लिएका छन्।
यसअघि नै टोलीले पहिलो संस्करण जित्दाका हिरो श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्थालाई अनुबन्ध गरिसकेको छ। वेस्ट इन्डिज क्रिकेटका महान हस्ती शिवनारायण चन्द्रपालको मुख्य प्रशिक्षणमा बोल्ट्स यसपटक मैदानमा उत्रने छ।
जनकपुर बोल्ट्सले आफ्नो प्रशिक्षण क्याम्प अहिले भारतको चेन्नई सुपर किंग्स एकेडेमीमा सञ्चालन गरिरहेको छ। टोलीका तीन खेलाडी आसिफ शेख, ललित राजवंशी र अनिल साह नेपाली टोलीबाट विश्व क्रिकेट लिग २ खेल्न दुबईमा छन्।