राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकका निर्णयहरू सार्वजनिक भएको छ । बैठकले बृहत् राजनीतिक संवाद आयोजना गर्नेदेखि समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्नेसम्मको निर्णय गरेको छ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनकेन्द्रित तयारीहरूको क्रममा समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्नका लागि आवश्यक दस्ताबेजहरूबारे छलफल भएको र ०८२ कात्तिक २२ भित्र समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्ने निर्णय गरिएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

यस्ता छन् चार निर्णय–
१. ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने
जेन–जी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेपपश्चातको परिवर्तित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको दिगो संरक्षण गरी मुलुकको दीर्घकालीन रूपान्तरणका लागि यही कात्तिक १४ गते ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने ।
२. मतदाता नामावली दर्ता सहजीकरण अभियान सञ्चालन गर्ने
पार्टी संयन्त्र रहेको हरेक वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहमा मतदाता नामावली दर्ता सहजीकरण अभियान यही कात्तिक ११ देखि २५ गतेसम्म सञ्चालन गर्ने । पार्टी सचिवालय सदस्य गणेश पराजुलीले पार्टीको केन्द्रीय अभियान तथा प्रचारप्रसार विभागसँगको समन्वयमा अभियानको संयोजन गर्ने ।
३. पार्टीको गतिविधि नियमित सञ्चालन गर्ने
विशेषतः पार्टीको वडा, पालिका अधिवेशन सञ्चालन गर्ने, पार्टीको जिल्ला तह एवं प्रवासमा समेत प्रशिक्षण सञ्चालन गर्ने साथै पार्टीको हरेक तहले आफ्नो तह–भूगोलमा विभिन्न अभियानहरू सञ्चालन गर्न निर्देशन गर्ने निर्णय गरियो ।
४. निर्वाचन तयारी
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनकेन्द्रित तयारीहरूको क्रममा समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्नका लागि आवश्यक दस्ताबेजहरूबारे छलफल गरियो । २०८२ कात्तिक २२ भित्र समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्ने निर्णय गरियो ।