महाधिवेशनको मिति र प्रक्रिया विवाद चुलीमा पुग्दा कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काका कठिनाइ बढेकोबढ्यै छन् । जेन–जी आन्दोलनमा घाइते भएपछि पार्टी सभापति शेरबहादुर देउवाले आफूले विश्राम लिएर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिए पनि आन्तरिक विवाद सुल्झिएको छैन ।
केन्द्रीय कार्यसमिति स्थगन गरेर महाधिवेशनको मिति र प्रक्रियामा सहमति खोज्ने नेताहरूबिच प्रयास जारी रहे पनि ठोस प्रगति छैन । महाधिवेशनको विषयलाई लिएर कांग्रेसमा मुख्यत: तीन धार सतहमा आएका छन् । तीनै पक्षले एक–अर्काको प्रस्ताव अस्वीकार गर्दै आफूअनुकूल महाधिवेशन गर्ने अडान लिइरहेका छन् ।
कांग्रेसको संस्थापन पक्ष विधि, प्रक्रिया र पार्टी विधान देखाएर केन्द्रीय कार्यसमितिको म्याद थप्नुपर्ने पक्षमा उभिएको छ । महामन्त्री पक्षधर आसन्न मंसिरमै महाधिवेशन हुनुपर्ने अन्यथा विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छ । इतर समूहका नेता डा. शेखर कोइराला पक्ष भने नियमित महाधिवेशनमा जानुपर्ने र त्यसका लागि कार्यसमिति बैठकमा महामन्त्रीले कार्यतालिका ल्याउनुपर्ने पक्षमा छ ।
गत १ कात्तिकमा रोकिएको बैठक आगामी १३ कात्तिकबाट पुन: सुरु हुँदै छ । त्यसअगाडि सहमति खोज्न नेताहरू अनौपचारिक छलफलमा व्यस्त छन् । यहीबिचमा एकले अर्को पक्षमाथि दबाब बनाउने रणनीति पनि लिएका छन् । यसैअन्तर्गत महामन्त्रीद्वयको समूहले विशेष महाधिवेशनका लागि प्रतिनिधिको हस्ताक्षर जुटाएको छ । यस्तोमा कार्यवाहक पाएलगत्तै पार्टी एकता र सहमति खोज्न खड्काको नेतृत्व र समन्वयको परीक्षा भैरहेको छ ।
कार्यवाहक सभापति खड्का नियमित महाधिवेशनबाट अगाडि बढ्ने र जारी केन्द्रीय कार्यसमिति बैठकबाट सर्वसम्मत निर्णयमा पुग्ने दाबी गर्छन् । तरुण दलको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा खड्काले जारी केन्द्रीय कार्यसमिति बैठकले ऐतिहासिक निर्णय लिने बताए । ‘जति पनि विषयहरू हामीले अगाडि सारेका छौँ, ती सबैमा व्यापक छलफल र विमर्श चलिरहेको छ । सबै नेताहरूले आ–आफ्नो तरिकाले आफूलाई लागेको कुरा खुलस्त भन्नुभएको छ । भन्ने क्रम अझै जारी छ,’ उनले भने, ‘ती सबै विचार, दृष्टिकोण, फरक–फरक कोण र जोडलाई एक ठाउँमा जोड्दै विशेष महाधिवेशनको प्रस्ताव पनि नियमित महाधिवेशनको सीमाभित्र जोडेर समाधान गर्नेछौँ । केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत निर्णय गराउनेछौँ ।’
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी मंसिरभित्रै नियमित महाधिवेशन नभएमा विशेष महाधिवेशनको निर्णय लिन दबाब बढाएका छन् । कार्यसमितिको म्याद थप्ने प्रस्ताव नराख्ने उनीहरूले स्पष्ट पारेका छन् । तर, महाधिवेशन कार्यतालिका बैठकमा प्रस्तुत गर्न सकेका छैनन् ।
महामन्त्री शर्माले पार्टीभित्रको बहसलाई अनावश्यक रूपमा अर्को ढंगले प्रचार गर्न नहुनेमा जोड दिएका छन् । ‘नेपाली कांग्रेस सहज छलफल गरेर निष्कर्षमा पुग्छ । कांग्रेसमा विग्रह होला भनेर कसैले सोचेको छ, कसैले धुप बालेको छ भने विल्कुलै नसोचे हुन्छ । कांग्रेस एक ढिक्का रहन्छ,’ उनले भने, ‘बदलिएको परिस्थितिबमोजिम कांग्रेसले आफूलाई बदल्छ र समाज बदल्ने गरी अगाडि जान्छ । बैठकमा फरक मत आए पनि एक भएर अगाडि बढ्छौँ ।’
विशेष महाधिवेशन कि नियमित महाधिवेशनको निर्णय जारी केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरे केन्द्रीय कार्यसमितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने वैधानिक व्यवस्था छ । बहुमत प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेकाले महाधिवेशनको मिति तोक्नुपर्ने दबाब छ । तर, हालसम्म महाधिवेशन कार्यतालिका आउन सकेको छैन ।
महाधिवेशनका लागि सबैभन्दा जटिल काम क्रियाशील सदस्यताको विवाद देखिएको छ । सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र विवाद समाधान हुन सकेको छैन । यही कारणलाई देखाएर संस्थापन पक्षले महाधिवेशन वैशाखमा धकेल्ने प्रयास गरिरहेको एक नेता दाबी गर्छन् ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा कार्यसमिति बैठकले सर्वसम्मत निर्णय गर्ने बताउँछन् । ‘प्रक्रिया पुर्याएर महाधिवेशन हुन्छ । काम गर्दै जाँदा भ्याइएन भने केही समय लाग्न सक्छ । हामी सर्वसम्मत निर्णयमा पुग्छौँ । केन्द्रीय कार्यसमिति एक ढिक्का छ,’ विश्वकर्माले भने ।
यसैबिच विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूले कार्यसमितिको म्याद थप्ने षड्यन्त्र भैरहेको आरोप लगाएका छन् । गत २८ असोजमा सुरु भएको बैठक कात्तिक १३ गतेसम्मका लागि स्थगित भएको छ । १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको चारवर्षे म्याद आगामी मंसिरमा सकिँदै छ । विधानमा एक वर्ष म्याद थप्न पाउने व्यवस्था छ । संस्थापन पक्ष सोही व्यवस्थामा टेकेर म्याद थप्ने पक्षमा लागेको भन्दै विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरू मंसिरमै महाधिवेशन हुनुपर्ने अडानमा छन् ।
नियमित महाधिवेशन गर्दा वडा, क्षेत्रीय प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्र र महाधिवेशन प्रतिनिधिको चयन गरी सिधै केन्द्रीय महाधिवेशन गर्न सकिने उपाय उनीहरूले सुझाएका छन् । तर, संस्थापन पक्ष सम्पूर्ण विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नुपर्ने अडानमा छ । त्यस्तो अवस्थामा मंसिरमा महाधिवेशन सम्भव नहुने र आगामी वैशाखसम्म धकेलिन सक्ने संस्थापन पक्षको बुझाइ छ ।
हस्ताक्षर अभियानको अगुवाइ गरेका युवा नेता गुुरुराज घिमिरेले पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरेपछि तीन महिनाभित्र महाधिवेशन हुनुपर्ने बताए । ‘हामी काउनडाउनमा छौँ । हामीले निवेदन दर्ता गरेको तीन महिनाभित्र महाधिवेशन हुनुपर्छ । ‘१३ दिन भयो । अब ७७ दिन बाँकी छ । त्यो अन्तिम समय हो । त्यसभित्रै महाधिवेशन हुनुपर्छ । म्याद थप्न पाइँदैन,’ उनले भने । महाधिवेशन प्रतिनिधिहरूको अधिकारलाई अवमूल्यन गर्ने र छल्ने छुट कसैलाई पनि नभएको उनी बताउँछन् ।
उपचारका लागि देउवादम्पती सिंगापुर प्रस्थान
कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । जेन–जी आन्दोलनमा घाइते भएपछि देउवापत्नीको सुरुमा सेनाको सैनिक अस्पताल छाउनीमा उपचार भएको थियो । थप उपचारका लागि देउवादम्पती सोमबार राति सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा बुढानीलकण्ठस्थित निवासमा देउवादम्पतीमाथि आक्रमण भएको थियो । सेनाले उद्धार गरेर सैनिक अस्पताल छाउनीमा पुर्याएका थिए । देउवाको टाउकोमा चोटा लागेको थियो । देउवाले देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई २८ असोजमा कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।