सम्झौताअनुसार काम नगरी वर्षौँदेखि अलपत्र पारिएका सिँचाइ आयोजनातर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, धनुषाअन्तर्गतका १२ ठेक्का तोडिएको हो । सिँचाइ विभागले आइतबार एक सार्वजनिक सूचना जारी गरी ठेक्का तोडिएको जानकारी गराएको छ ।
ठेक्का तोडिएका यी आयोजना साबिकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर, महोत्तरीअन्तर्गतका हुन् । विभागले १६ जेठ ०८१ र १ साउन ०८१ मा ठेक्का तोड्ने आशयसहितको सूचना प्रकाशन गरेको थियो । तर, विभागले पटक–पटक आग्रह तथा सार्वजनिक सूचना जारी गर्दासमेत निर्माण कम्पनीले काम अघि नबढाएपछि ठेक्का तोड्नुपरेको विभागको भनाइ छ ।
कार्यालयबाट पटक–पटकको अनुरोध तथा सर्वाजनिक सूचना जारी गर्दासमेत काम गर्न कुनै ध्यान नदिइएको हुँदा सम्झौतामा उल्लिखित प्रावधानअनुसार कार्यसम्पादन जमानत जफत गर्ने कारबाही अगाडि बढिसकेको विभागले जनाएको छ । सार्वजनिक खरिद कानुनको व्यवस्थाबमोजिम अन्य आवश्यक कारबाही अगाडि बढाउन हालसम्म गरिएको कामको नापजाँच एवं बाँकी कामको मूल्यांकन १५ दिनभित्र सम्पन्न गर्नसमेत सूचित गरिएको छ ।
रद्द गरिएका ठेक्का आर्थिक वर्ष ०६८/६९, ०६९/७०, ०७३/७४ र ०७४/७५ मा सम्झौता भएका, विभागले अगाडि बढायो जमानत जफतको कारबाही
‘ठेक्काहरू अन्त्य गर्ने आशयको सूचना प्रकाशन गरिए पनि निर्माण व्यवसायीको तर्फबाट सम्झौताबमोजिमको कार्य सम्पन्न नगरी निर्माणकार्य अलपत्र पारेको हुनाले उक्त कार्यालयबाट सम्झौता अन्त्य भएको निर्णय भएको हो,’ ठेक्का तोडिएको सूचनामा उल्लेख छ, ‘सम्झौताअनुसार कार्यसम्पादन जमानत जफत गर्ने कारबाही अगाडि बढिसकेको साथै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ र ६३ बमोजिम अन्य आवश्यक कारबाही अगाडि बढाउनका लागि सम्झौताबमोजिम हालसम्म सम्पन्न कार्यको नापजाँच एवं सम्पन्न हुन बाँकी कार्यको मूल्यांकन गर्न यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्रमा यस आयोजना कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।’ अन्यथा खरिद सम्झौता, सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम आवश्यक कारबाही अगाडि बढाउने भन्दै विभागले सूचित गराएको छ ।
रद्द गरिएका ठेक्का आर्थिक वर्ष ०६८/६९, ०६९/७०, ०७३/७४ र ०७४/७५ मा सम्झौता गरिएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने, तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सोहीबमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो । सिँचाइ विभागले यसअघि राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ ।
सिँचाइ विभागका महानिर्देशक मित्र बरालले पटक–पटक ताकेता गर्दा पनि काम नभएपछि ठेक्का तोडिएको बताए । ‘पटक–पटक ताकेता गर्दा पनि काम नभएपछि ठेक्का तोडिएको हो । यी धेरै पुराना ठेक्का हुन् । पटक–पटक म्याद थप गर्दा पनि काम भएन । उहाँहरू सम्पर्कमा आउनुभएको थिएन,’ उनले भने, ‘त्यसपछि अहिले आएर ठेक्का तोडिएको हो । पटक–पटक ताकेता गर्दा पनि नआएपछि हामीले होल्ड गर्ने कुरा पनि आउँदैन ।’
सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया सुरु
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय तुम्लिङ्टार, इलाम, हेटौँडा र नेपालगन्जले आइतबार आफूमातहत रुग्ण अवस्थामा रहेका ४० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् ।
तुम्लिङ्टारले १७, इलामले १२, हेटौँडाले सात र नेपालगन्जले चार ठेक्का गरी ४० ठेक्का किन नतोड्ने ? भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन् । विभिन्न सडक डिभिजन कार्यालयले यसअघि रुग्ण रहेका ६८ ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइसकेका छन् ।
ठेक्का तथा योजनाको पटक–पटक म्याद थप भई तोकिएको अवधिमा समेत निर्माणकार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माणकार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रूपमा उपस्थित नभएर आधारभूत रूपमा ठेक्का उल्लंघन गरेको उल्लेख गरिएको छ । विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदासमेत निर्माण व्यवसायीबाट निर्माणकार्य सम्पन्न गर्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लंघन गरिएको जनाइएको छ ।
सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत–साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ ।
उक्त अवधिमा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटीबापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकीसरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।
यी हुन् सडकतर्फ तोडिन लागेका ठेक्का
सडक डिभिजन इलामले इलामको सुनखानी नदीमा पुल बनाउन ०६८/६९ मा स्काई–अजम्बर–शिवराज जेभी, माईखोलामा पुल बनाउन ०७०/७१ मा नेसनल–नीलगिरि जेभी, सानो माईखोला (राता खोला)मा पुल बनाउन ०७२÷७३ मा सिवा–बस्नेत जेभी, मेची राजमार्ग विस्तार गर्न ०७७/७८ मा एभ्रिथिङ सोलुसन कन्स्ट्रक्सन, फेमेखोला पुल मर्मत गर्न ०७७/७८ मा थो थो केरेक पोगिरो निर्माण सेवा, मेची करिडोर मर्मत गर्न ०७७/७८ मा खड्का कृष्ण–सक्षम जेभी, भालुखोप–थाक्ले–खुदुनाबारी सडक मर्मत गर्न ०७८/७९ मा एपेक्स कन्स्ट्रक्सन, मेची राजमार्ग विस्तार गर्न ०७८/७९ मा धुलिखेल–आले जेभी, नेपालटार–मंगलबारे सडक पुनर्निर्माण गर्न केएम कन्स्ट्रक्सन, मेची राजमार्गको नियमित मर्मत–सम्भार गर्न ०८०/८१ मा गायत्री मौ कन्स्ट्रक्सन एन्ड समरित कन्स्ट्रक्सन जेभी र फिक्कल–पशुपति नगर सडकको नियमित मर्मत–सम्भार गर्न एबिसी निर्माण सेवासँग गरिएको सम्झौता तोड्ने गरी सूचना निकालिएको छ ।
यस्तै, सडक डिभिजन हेटौँडाले पर्साको तिलावे नदीमा पुल बनाउन ०६७/६८ मा पप्पु कन्स्ट्रक्सन, बाराको बंगारी नदीमा पुल बनाउन ०७०/७१ मा एलिट–मोना जेभी, आराहास्थित गंगोल नदीमा पुल बनाउन ०७१/७२, सिरसिया नदीमा पुल बनाउन ०७२/७३ र निचुतास्थित गंगोल नदीमा पुल बनाउन ०७२/७३ मा डिएस–मोना जेभीसँग गरिएका तीन ठेक्का पनि तोड्न सूचना निकालिएको छ ।
यस्तै, परवानीपुर–आइसिडी सडक विस्तार गर्न पम्पु–लुम्बिनी जेभीसँग ०७२/७३ र पचराता–गण्डक सडक मर्मत गर्न ०७९/८० मा गणेश निर्माण सेवासँग गरिएको ठेक्का सम्झौता पनि तोड्न सूचना निकालिएको छ । यस्तै, सडक डिभिजन नेपालगन्जले कोहलपुर–कर्णाली सडक मर्मत गर्न पुस ०७३ मा एसएस निर्माण सेवा प्रालि, देउराली–हर्रे सडक मर्मत–सम्भार गर्न चैत ०७८ मा गगन निर्माण सेवा, रत्न राजमार्गको हात्तीसार खण्डलाई विशेष मर्मत–सम्भार गर्न ०७३ मा थापा कन्स्ट्रक्सन सेवा र रत्न राजमार्गको कोहलपुर खण्ड मर्मत गर्न साबिक निर्माण सेवासँग गरिएको ठेक्का सम्झौता तोड्ने गरी सूचना निकालिएको छ ।
यस्तै, सडक डिभिजन तुम्लिङटारले वसन्तपुर–चैनपुर सडक मर्मत गर्न, वसन्तपुर–चैनपुर सडक स्टोर भवन बनाउन, केवा पिलुवा पुल संरक्षण गर्न र पिलुवा सभापुल संरक्षण गर्न पिपी निर्माण सेवासँग ०७१/७२ र ०७२/७३ मा गरेका दुई–दुईवटा ठेक्का तोड्ने गरी सूचना निकालिएको छ ।
यस्तै, दिङ्ला–मूलपानी–सोमबारे–नेपालेडाँडा सडक निर्माणमा ओएसिस इन्जिनिरियङ एन्ड बिल्डर्ससँग ०७१/७२, दिङ्ला–बालुवा–नेपालेडाँडा साल्पा रोड बनाउन कोशी एन्ड न्यौपाने निर्माण सेवासँग ०७१/७२, पाङ्चा–चखेवा रोड निर्माण गर्न भीमसेन निर्माण सेवासँग ०७१/७२, स्यावुन गाविस आइतबारे–नागेश्वर गुुफा सडक बनाउन अस्मी एन्ड अमिसा कन्स्ट्रक्सनसँग ०७३/७४, केवाबेँसी–बिहीबारे–फाक्सी–माम्लिङ सडक बनाउन सुदीक्षा थुलुङ कन्स्ट्रक्सनसँग ०७३/७४, भोजपुर–देउराली सडक र तुर्केघाट–देउराली फाली सडक बनाउन युडी बिल्डर्ससँग ०७२/७३ मा गरिएका दुई ठेक्का गरेर ११ ठेक्का तोड्ने गरी सूचना निकालिएको छ । यस्तै, भोजपुरको विजय निर्माण सेवासँग विभिन्न सडक मर्मत–सम्भार गर्न ०७५/७६ र ०७६/७७ मा गरिएका विभिन्न ६ वटा ठेक्का तोड्ने गरी सूचना निकालिएको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गत पनि ६ ठेक्का तोड्ने प्रक्रियामा
यस्तै, सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकासले पनि ६ वटा ठेक्का तोड्ने गरी आइतबार १५ दिने सूचना निकालेको छ । विभागको सस्सपेन्सन ब्रिज डिभिजनले ६ वटा ठेक्का तोड्ने गरी सूचना निकालेको हो । यसमा झोलुंगे पुल निर्माणसम्बन्धी परियोजना छन् ।
खोटाङको पिलम्पा झोलुंगे पुल बनाउन नीलगिरि निर्माण सेवासँग साउन ०७५, गोरखाको क्योग्मा झोलुंगे पुल बनाउन हरिहरि–सर्भिला जेभीसँग असोज ०७६, झापाको कमलखोला दोभान झोलुंगे पुल बनाउन कान्छाराम युनिकर्न जेभीसँग असार ०७८, झापाको बिरिङ–बाह्रदशी झोलुंगे पुल बनाउन अन्सुबी–पुष्पाञ्जली–स्वर्णिम जेभीसँग असोज ०७८, बुबा खोला झोलुंगे पुल खोटाङ र सुनकोशी दिप्रुङ झोलुंगे पुल बनाउन टुवाचुङ–अन्सुबी–नेपाल फूलबारी जेभीसँग असोज ०७८ र थुमी बुधेगरा झोलुंगे पुल गोरखा र लिखु धुनीबेँसी झोलुंगे पुल धादिङ बनाउन नीलगिरि निर्माण सेवासँग असोज ०७८ मा गरिएको ठेक्का सम्झौता तोड्न सूचना निकालिएको छ ।
सिँचाइ विभागका महानिर्देशक मित्र बराल भन्छन्– पटक–पटक ताकेता गर्दा पनि काम नभएपछि ठेक्का तोडिएको हो । यी धेरै पुराना ठेक्का हुन्, धेरैपटक म्याद थप गर्दा पनि काम भएन, उहाँहरू सम्पर्कमा पनि आउनुभएन, त्यसैले नियम–कानुन र सम्झौताअनुसार ठेक्का तोडिएको हो ।
यी हुन् तोडिएका १२ ठेक्का
विभागका अनुसार आउटलेट स्ट्रक्चर निर्माण गर्न ०६८/६९ मा शिव महिमा कन्स्ट्रक्सन (महोत्तरी)सँग गरिएका तीनवटा ठेक्का सम्झौता तोडिएको छ । तटबन्धन निर्माण गर्न ०६९/७० मा सिद्धी साई प्रकाशन कन्स्ट्रक्सन (काठमाडौं)सँग गरिएका दुई ठेक्का तोडिएको छ ।
विभागका अनुसार बाँधलगायतका संरचना निर्माण गर्न हिमांशु–लोकेशदेव जेभी (काठमाडौं)सँग ०६९/७० गरिएका दुई ठेक्का सम्झौता पनि तोडिएको छ । यस्तै, तटबन्धन तथा बाँध निर्माण गर्न ०७३/७४ मा साईबाबा निर्माण सेवा (जनकपुर)सँग गरिएका दुई ठेक्का पनि तोडिएको छ । यसैगरी, तटबन्धनलगायतका संरचना निर्माण गर्न ०७३/७४ मा शिवम कन्स्ट्रक्सन (धनुषा), ०७४/७५ मा ब्रदर्स कन्स्ट्रक्सन (महोत्तरी) र ०७४/७५ मै सुरेखा निर्माण सेवा (धनुषा)सँग गरिएको ठेक्का सम्झौता पनि तोडिएको छ ।