- गत वर्ष जिल्लामा दर्ता भएका चार सय १८ नयाँ उद्योगमध्ये दुई सय दुईवटा महिलाका नाममा
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ को पिप्लेस्थित सामुदायिक वनको भवनमा बिहानैदेखि मेसिनको आवाज गुन्जिन्छ । काठको धुलोमा ढाकिएका हातहरू करौँती, छिनो, रन्दा, हथौडाजस्ता औजार चलाउँदै काठका निर्जीव टुक्रामा जीवन भरिरहेका हुन्छन् । र, यी हातहरू कुनै पुरुषका होइनन्, महिलाका हुन् ।
आत्मनिर्भरता र स्वाभिमानको प्रतीक बनेका यी महिलामध्ये अग्रपंक्तिमा छिन्, विष्णुकुमारी राई । एक दशकअघिसम्म घरको चुलोचौकोमा सीमित जीवन बिताउँदै आएकी राई अहिले काष्ठकलाको माध्यमबाट उद्यमशीलताको उदाहरण बनेकी छिन् । उनी र उनका साथीसँगै तयार गरिएका काठका आकर्षक ठेकी, फ्रेम र सजावटी सामग्री मकवानपुरका विभिन्न कार्यक्रममा ‘मायाको चिनो’का रूपमा प्रयोग भइरहेका छन् ।
राईको काष्ठकला यात्रा ०७२ सालमा सामुदायिक वन महासंघद्वारा आयोजित तालिमबाट सुरु भएको हो । सुरुमा ‘यो त पुरुषले गर्ने काम हो’ भन्ने सामाजिक सोचले उनलाई निरुत्साहित तुल्यायो । ‘महिलाले काठको काम कसरी गर्ने ? गाह्रो हुन्छ, सकिँदैन, धेरैको सोच यस्तै थियो,’ राईले तालिम लिँदै गर्दाका वेलाको कुरा सुनाइन् । धेरै सहभागी महिला बिचमै हार मानेर फर्किए, तर राई र उनका तीन साथीले हिम्मत हारेनन् । ०७४ मा उनले ‘श्रमजीवी महिला काष्ठ उद्योग’ दर्ता गरी औपचारिक रूपमा व्यवसाय सुरु गरिन् ।
सुरुवाती वर्षहरू निकै कठिन रहे । बजार नपाउने, आयातीत सामग्रीसँग प्रतिस्पर्धा गर्नुपर्ने, उद्योगको कर तिर्नुपर्नेजस्ता समस्याले उनीहरूलाई सताइरह्यो । तर, निरन्तरता र धैर्यको फलस्वरूप अहिले उनीहरूले स्थापना गरेको उद्योगले मासिक एक सय ५० देखि तीन सयवटासम्म कलात्मक सामग्री उत्पादन गर्दै आएको छ । प्रतिगोटा तीन सय रुपैयाँदेखि एक हजार दुई सय रुपैयाँसम्ममा बिक्री हुने यी वस्तुबाट मासिक एक लाखभन्दा बढीको कारोबार हुने गरेको राई बताउँछिन् । कार्यक्रमको सिजनमा यो आम्दानी दुई लाख रुपैयाँभन्दा बढी हुन्छ । सबै खर्च कटाएर हरेक महिलाले मासिक १५ हजारदेखि २५ हजार रुपैयाँसम्म कमाउने गरेको उनको भनाइ छ ।
‘पहिले घरखर्चका लागि श्रीमान्कै भर पर्नुपर्थ्यो । अहिले आफ्नै कमाइले सहकारीमा बचत गर्न र मन लागेको कुरा किन्न सक्छु,’ उनी भन्छिन्, ‘यो नै आत्मनिर्भरताको असली खुसी होजस्तो लाग्छ ।’ उनीहरूको उत्पादनले हेटौँडादेखि काठमाडौंसम्म बजार पाएपछि अब उद्योगको क्षमता बढाउने लक्ष्य बनाएका छन् । यसका लागि आधुनिक उपकरण र थप तालिम आवश्यक रहेको उनीहरूको बुझाइ छ । आधुनिक उपकरण र तालिममा स्थानीय सरकारबाट सहयोग भइदिए हुन्थ्यो भन्ने उनीहरूको अपेक्षा छ ।
राई र उनको समूह अहिले आफ्नो उद्योगको क्षमता विस्तार गर्न चाहन्छन् । आधुनिक उपकरण र प्रविधि अभावका कारण उत्पादन क्षमतामा सीमितता रहेको उनीहरूको भनाइ छ । ‘हामीले सिप त सिक्यौँ, तर प्रविधि र उपकरणमा लगानी गर्न नसक्दा हामीले चाहेकोजस्तो काम गर्न सकिरहेका छैनौँ,’ उनी भन्छिन्, ‘स्थानीय सरकारबाट सहयोग मिले हाम्रो व्यवसाय अझै अगाडि बढ्छ ।’
लघु उद्यममा बढ्दै महिला
विष्णु राई र उनको समूह मात्रै पनि महिला उद्यममा लागेकाहरूको एक्लो उदाहरण भने होइन । मकवानपुरमा लघु उद्यममार्फत आत्मनिर्भर बन्ने महिलाको संख्या बढ्दै गएको उद्योग तथा वाणिज्य कार्यालयको तथ्यांकले देखाउँछ । गत वर्ष जिल्लामा दर्ता भएका चार सय १८ नयाँ उद्योगमध्ये दुई सय दुईवटा महिलाका नाममा छन्, जुन पुरुषको तुलनामा लगभग बराबर हो । कार्यालयका प्रमुख उद्योग अधिकृत रामप्रसाद भुसालका अनुसार पहिले छुट पाउनका लागि मात्र महिलाको नाममा उद्योग दर्ता गर्ने चलन थियो, तर अहिले महिला आफैँ नेतृत्व गर्न उत्साहित भएर व्यवसायमा होमिइरहेका छन् ।
गैरसरकारी संस्थाले दिएको तालिम र सुरुवाती सहयोगले हेटौँडाका महिलालाई उद्यमशीलताको जग तयार गरिदिएको छ । त्यस जगमा उभिएर अहिले उनीहरू आफ्नै भविष्य कुँदिरहेका छन् । प्रदेश र स्थानीय सरकारले महिलाको सिप विकास, प्रविधि हस्तान्तरण र बजारीकरणमा थप सहयोग गर्ने हो भने मकवानपुरका हरेक बेरोजगार व्यक्ति, विशेष गरी महिला उद्यममार्फत देशको आर्थिक विकासमा महŒवपूर्ण योगदान दिन सक्षम हुनेछन् ।