आर्थिक वृद्धि, नवप्रवर्तन र अल्पविकसित अर्थतन्त्र

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण
  • प्रविधिको विकासले अघिल्लो प्रविधिलाई प्रतिस्थापन या परिमार्जन गर्छ र आर्थिक वृद्धिको प्रक्रियालाई सुधारको लहरमा पुर्याउँछ

नवप्रवर्तनमा आधारित आर्थिक वृद्धिको खोज अनुसन्धान गरेबापत यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार जोएल मोकिर, फिलिपे अघियोन र पिटर होइटलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा भएको छ । गत वर्ष यसरी नै आर्थिक वृद्धि, समृद्धि र सुशासनका सम्बन्धमा अनुसन्धान गर्ने अर्थशास्त्रीहरू जेम्स ए रबिन्सन, डारोन आसेमोग्लु र साइमन जोनसनलाई यो पुरस्कार दिइएको थियो । दुवै वर्षका पुरस्कारले आर्थिक वृद्धि नै समृद्धिको आधार हो भन्ने पुष्टि गरेका छन् । खोज अनुसन्धान जसरी गरिए पनि र कारक जे भए पनि आर्थिक वृद्धि समाजका लागि अपरिहार्य छ । यस प्रकारको अध्ययनले आर्थिक नीतिशिल्पीको दिमागलाई विद्युतीय झड्का लिएर झकझकाइमा पुर्याएको हुुनुपर्छ । किनकि ‘बेबी बुमर’ पुस्ताका आर्थिक नीतिशिल्पीहरूले यस कुरामा कत्ति पनि ध्यान नदिएकाले अल्पविकसित मुलुकहरू समृद्धिमा सधैँ पछि पर्दै आएका छन् । आर्थिक नीति यही पुस्ताको पकडमा छ । उनीहरू ज्ञान निर्माण र निर्मित ज्ञानलाई नीतिज्ञान बनाउन पछि परेकाले नै आर्थिक विफलता भएको कुरामा खासै जानकार रहेका देखिएनन् । पटक–पटक आर्थिक नीति निर्माण र विकास व्यवस्थापनको जिम्मेवारीमा पुगेकाहरूमा यस प्रकारको बुझाइ नरहँदा अल्पविकसित मुलुकहरू पछौटेपनमा रहन बाध्य छन् ।

जोएल माइकल मोकिर अमेरिकन अर्थ–इतिहासविद् हुन् । आर्थिक इतिहासविद् भएकाले इतिहास र अर्थतन्त्र कसरी लय वा विलयमा हिँडेको छ भन्ने ज्ञान उनमा हुनु स्वाभाविक हो । उनले दुई सय वर्षको आर्थिक वृद्धिको प्रवृत्ति अध्ययन गरेर प्रविधिले आर्थिक वृद्धिमा पारेको प्रभावको तथ्य प्रस्तुत गरेका छन् भने अर्का दुई अर्थशास्त्री फिलिप आघियोन र पिटर होइटले प्रविधि परिवर्तनले आर्थिक वृद्धिमा पारेको प्रभावलाई गणितीय ढाँचामा मापन गरेका छन् । दुई अध्ययनको निष्कर्ष ज्ञानले वृद्धिको इन्जिन निर्माण गर्छ र रचनात्मक विनाशले त्यसलाई गतिशील बनाउँछ भन्ने छ ।

अध्ययनका क्रममा मोकिरले नवप्रवर्तन र आर्थिक वृद्धिको लामो समयको अध्ययन गरेका थिए । विशेषत: औद्योगिक क्रान्तिपछि आर्थिक वृद्धि निरन्तर विस्तार हुँदै आएको छ । युरोपमा भएको आविष्कार र संस्थागत परिवर्तनले त्यहाँ आर्थिक वृद्धि समृद्धि सम्भव बनाएको हो । पन्ध्राँै शताब्दी सुरु हुनुअघि नै प्रविधिको विकास हुँदै आएको हो । कुनै पनि समाजले केही न केही प्रविधि विकास र उपयोग गरिरहेकै हुन्छ । तर, सन् १८०० देखि यो क्रम तीव्र रह्यो र त्यसले आर्थिक वृद्धिलाई निरन्तर अघि बढाउन सहयोग गर्यो । किनकि त्यसपछिका दिनमा आविष्कार, संस्थागत र सांस्कृतिक परिवर्तनले वृद्धिलाई सघाउन थाल्यो । मोकिरले आर्थिक वृद्धिका लागि दुई प्रकारको ज्ञानको उल्लेख गरेका छन् । एउटा, पूर्वनिर्धारित ज्ञान (प्रोपोजिसनल नलेज), यसले प्रविधि किन प्रयोग गर्ने भन्ने बताउँछ । दोस्रो, प्रस्तावित ज्ञान (प्रेस्क्रिप्टिभ नलेज), जसले ज्ञानलाई उत्पादन प्रक्रियामा कसरी प्रयोग गर्न भन्ने बताउँछ । पहिला प्रविधि विकास भए पनि त्यसलाई सामान्य रूपमा प्रयोग गरिन्थ्यो । प्राविधिक र वैज्ञानिकहरू सँगै रहेर प्रविधिको निर्माण र प्रयोग गर्ने गर्दैनथे, मतलब किन र कसरीबिचको सम्बन्ध थिएन । सन् १८०० तिरदेखि वैज्ञानिक र प्राविधिक साथ रहेर काम गर्न सुरु गरे, जसले प्रविधि किन चाहिन्छ र कसरी उपयोग गर्ने भन्ने दुवै पक्षबिच अन्तरआबद्धता बढ्न गई आर्थिक वृद्धि निरन्तर बढ्यो ।

मोकिरका अनुसार आर्थिक वृद्धि निरन्तर गर्न सम्भव बनाउने तीन तत्व थिए । पहिलो प्रविधि र विज्ञानको संयुक्त विकास, दोस्रो नयाँ प्रविधि विकास भएपछि मानव सिप र प्रवीणताको उपयोग र तेस्रो नयाँ आविष्कार र प्रविधिलाई स्वीकार गर्ने उदार पारदर्शी समाज । सामाजिक समर्थन भएन भने संस्थागत परिपाटी र उत्पादन प्रणालीमा सुधार हुँदैन । यसले उदार समाज, सामाजिक संस्कृति र संस्थागत सहजताले आर्थिक वृद्धिमा पृष्ठाधारको काम गर्छन् भन्ने देखाएको छ ।

आघिएन र होइटले आविष्कारले सिर्जना गर्ने रचनात्मक विनिर्माणले आर्थिक वृद्धि सम्भव गराएको गणितीय ढाँचा तयार गरेका छन् । ज्ञान र प्रविधिले समृद्धि यसरी सम्भव बनाएको छ भन्ने गणितीय पुष्टि नगरेसम्म भनाइले वैधता पाउँदैन । सामान्य मानिसले थाहा पाएको कुरालाई सिद्धान्त र अनुसन्धानले प्रमाणित गरेपछि मात्र त्यसले वैज्ञानिक महŒव पाउँछ । प्रविधि र वृद्धिबिचको अन्तरसम्बन्धको आर्थिक विश्लेषण पहिलो होइन, सन् १९४२ मा नै जोसेफ सुम्पिटरले आर्थिक वृद्धिमा प्रविधिले खेल्ने भूमिकाबारे उल्लेख गरेका थिए । उनको अध्ययनलाई सिर्जनात्मक विनिर्माणका लहर (चरण)का रूपमा उल्लेख गर्न सकिन्छ । जस्तो कि पहिले जलशक्तिलाई उपयोग गर्न थालियो, त्यसले तत्कालीन समाजमा ठुलै प्रभाव पार्यो । त्यसपछि वाष्पशक्तिको विकास भयो, जसले उत्पादन संगठनमा निकै हलचल ल्यायो । त्यसपछि विद्युत्शक्तिको विकास भयो, त्यसले पारेको प्रभावबाट समाज झन् प्रगतिउन्मुख भयो, तर आविष्कारको क्रम भने यतिमै रोकिएन बरु झनै प्रोत्साहित हुँदै गयो । त्यसलाई पनि ‘पेट्रोकेमिकल्स’ले उछिन्यो । त्यसपछि डिजिटल प्रविधिको विकास भयो र ज्ञानमा आधारित समाज निर्माण गर्न थालियो । र अहिले उपयोगमा रहेको एआई, रोबोटिक्स, ड्रोन आदिले आर्थिक वृद्धिमा कायापलट गरिरहेका छन् । यो क्रम निरन्तर अघि बढिरहेको छ । प्रविधिको विकासले अघिल्लो प्रविधिलाई प्रतिस्थापन (र परिमार्जन) गर्छ र वृद्धिको प्रक्रियालाई सुधारको लहरमा पुर्याउँछ । सामान्य रूपमा कसरी पनि बुझ्न सकिन्छ भने स्मार्ट फोनको विकास भएपछि ल्यान्डलाइन विस्थापित भयो, यसबाट समाजले धेरै उपयोगिता पायो । स्मार्ट फोन पनि विभिन्न ‘भर्सन’मा परिमार्जनका क्रममा छन् । यसलाई सिर्जनात्मक विनिर्माण (क्रिएटिभ डिस्ट्रक्सन) भनिएको छ । सारमा के भन्न सकिन्छ भने पुराना प्रविधिलाई पछिल्ला प्रविधिले बिस्तारै असान्दर्भिक बनाउँदै लैजान्छ । पछिल्लो प्रविधि विस्तार हुनु भनेको यसको औचित्य सिद्ध हुनु हो । ‘फर्म’ले उत्पादन प्रक्रिया सुधार गर्न अनुसन्धान र विकासमा लगानी गर्छन्, अनुसन्धानको निष्कर्ष ठिक भएमा त्यसबाट भएको उत्पादनले बजार लिन्छ र फर्मले नाफा कमाउँछ । यसलाई ‘बिजिनेस स्टिलिङ थ्योरी’ पनि भनिन्छ ।

जोसेफ सुम्पिटरले पचास वर्षअघि भनेका कुरालाई आघिएन र होइटले १९९२ बाट गणितीय मोडेल बनाएर सिर्जनात्मक विनिर्माणले वृद्धिलाई यसरी निरन्तरता दिन्छ भन्ने मापन गरिदिए । उनीहरूका अनुसार सिर्जनात्मक विनिर्माणले नयाँ कम्पनी बजारमा प्रवेश गर्छन् र पुराना बन्द हुन्छन् । नयाँ कम्पनी या प्रविधिको प्रवेशले रोजगारी र उत्पादनको आयतन बढाउँछ । यस अवस्थामा अर्थतन्त्र सिर्जनात्मक गुणोत्तरमा अघि बढ्छ । अर्थतन्त्रमा नयाँ कम्पनीको प्रवेश बढेमा रोजगारी बढ्छ, तर कम्पनीहरू बाहिरिने क्रम बढेमा रोजगारी सिर्जना पनि कम भई अर्थतन्त्र मन्द हुन्छ । अर्को अर्थमा आविष्कार र उत्पादन बढी भएमा रचनात्मकता (क्रिएटिभिटी) बढ्छ र अर्थतन्त्र सबल बन्छ । यो प्रक्रियाले अल्पकालमा खास क्षेत्रमा धेरै प्रभाव पार्छ भने दीर्घकालमा गुणत्तर प्रभाव पार्छ । अघियोन र होइटको गणितीय ढाँचाले यही कुरा बताउँछ । आर्थिक वृद्धि लामो समयसम्म निरन्तर रहन प्रविधि, परिमार्जन र आविष्कारको साथ चाहिन्छ । साथै, प्रविधिको विकास र विकास भएको प्रविधि विस्तार गर्न खुला समाज चाहिन्छ । अघियोन र होइटले प्रविधि, प्रतिस्पर्धा र ‘प्रोडक्टिभिटी’ कसरी सापेक्षित रहन्छन् भन्ने मापन गरिदिए । मोकिरले ज्ञानले इन्जिन निर्माण गर्छ भने अघियोन र होइटले रचनात्मक विनाशले त्यसलाई गतिशील बनाउँछ भन्ने मापन गरेर देखाइदिए ।

अब नोबेल पुरस्कार प्राप्त गर्नेहरूको अध्ययनले नेपालजस्ता अल्पविकसित मुलुकलाई कसरी प्रभाव पार्छ भन्नेतर्फ विचार गरौँ । अथाह प्राकृतिक स्रोत र पर्याप्त मानव संसाधन भईकन पनि आर्थिक वृद्धिमा नेपाल पछि परेको छ । गत वर्ष जोसेफ स्टिग्लिज र ड्यानी रोड्रिगले आर्थिक वृद्धिका परम्परागत नीति ढाँचामा परिवर्तन आवश्यक भएको अनुसन्धान गरेर आर्थिक नीतिको पुन: आविष्कारमा जोड दिएका थिए । कोभिड विपत्पछि नेपालजस्ता अल्पविकसित मुलुकले अवलम्बन गर्नुपर्ने आर्थिक वृद्धिको नीति परिमार्जनमा सख्त आवश्यकता देखिएको छ । शास्त्रीय ढाँचा र राजनीतिक प्रियताको नीतिले आर्थिक वृद्धिको अहिलेको आवश्यकता पूरा गर्दैन । नोबेल विजेताको अध्ययनले भनेझैँ प्रविधिको विकास र त्यसलाई उत्पादन संगठनमा उपयोग गर्ने संरचनागत ढाँचा, संस्थागत पद्धति र उदार सोचले नेपालको अर्थतन्त्रमा रचनात्मक ध्वंश ल्याउनु आवश्यक छ । केही अघि प्रविधि पुस्ताले गरेको आन्दोलनको अन्तर्यमा पनि यही कुराको माग छिपेको देखिन्छ । 

(मैनाली नेपाल सरकारका पूर्वसचिव हुन्)
 

सुझावित समाचार