रोहित शर्मा र विराट कोहलीबिच एक सय ६८ रनको बलियो साझेदारी भएपछि भारत घरेलु टोली अस्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलमा ‘क्लिन स्विप’बाट जोगिएको छ । शनिबार सिड्नी क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम खेलमा भारतले घरेलु टोलीलाई नौ विकेटले पराजित गर्यो । यद्यपि, शृंखला भने अस्ट्रेलियाले २–१ ले जितेको छ । यसअघि पहिलो खेलमा अस्ट्रेलिया सात र दोस्रो खेलमा दुई विकेटले विजयी भएको छ ।
रोहितको शतक, विराटको अर्धशतक
भारतको जितमा यसै शृंखलाबाट कमब्याक गरेका रोहित शर्माले शतक बनाए । त्यस्तै, कोहलीले अर्धशतक बनाएका हुन् । टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३७ रनको लक्ष्य प्रस्तुत गर्यो । प्रत्युत्तरमा भारतले ३८.३ ओभरमा एक विकेट गुमाउँदै जित निकालेको हो ।
भारतका लागि रोहितले एक सय २५ बलमा १३ चौका र तीन छक्कासहित अविजित एक सय २१ रनको योगदान गरे । यसैगरी विराट कोेहली ८१ बलमा सात चौकासहित ७४ रनमा अविजित रहेका हुन् । ओपनर तथा कप्तान शुभमन गिलले २४ रन जोडे । रोहितले दोस्रो विकेटका लागि विराटसँग अविजित एक सय ६८ रनको साझेदारी गरेका थिए । पहिलो विकेटका लागि रोहितले कप्तान शुभमनसँग ६९ रनको साझेदारी गरेका हुन् । अस्ट्रेलियाका लागि एक मात्र विकेट जोस हेजलउडले लिए ।
हर्षितको चार विकेट
भारतलाई तेस्रो खेलमा कमब्याक गराउन बलरहरूले पनि सानदार प्रदर्शन गरेका थिए । जसका कारण अस्ट्रेलियन ब्याटरले ठुलो साझेदारी गर्नै सकेनन् । भारतका लागि हर्षित रानाले सर्वाधिक चार विकेट लिए । उनले ८.४ ओभरमा मात्र ३९ रन खर्चिएका थिए । वासिङटन सुन्दरले दुई विकेट लिँदा मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, कुलदीप यादव, अक्षर पटेलले समान एक विकेट लिए ।
टस जितेको अस्ट्रेलियाका लागि म्याथ्यु रेनशाले ५८ बलमा दुई चौकासहित सर्वाधिक ५६ रनको योगदान गरेका थिए । यसैगरी कप्तान मिचेल मार्सले ४१, म्याथ्यु सर्टले ३०, ट्रभिस हेडले २९, एलेक्स केरीले २४, कुपर कोनोलीले २३ र नाथन एलिसले १६ रन बनाएका हुन् । चौथो विकेटका लागि रेनशा र केरीबिच सर्वाधिक ५९ रनको साझेदारी भएको थियो ।