अवैध रूपमा ल्याइएका भैँसी, कुखुरालगायत विभिन्न सवारीसाधनसमेत बरामद

शनिबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

रुपन्देही प्रहरीले अवैध रूपमा ल्याइएका भैँसी, कुखुरा, फुलसहित विभिन्न सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छली, चोरी पैठारी गरेर ल्याएका करिब १० लाख ५७ हजार ५ सयबराबरका सामान नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएको वस्तु तथा सरसामान शुक्रबार आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया तथा पशु क्वारेन्टाइन कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जनाएका छन्।

जिप्रकाका अनुसार प्रहरीले  सिद्धार्थनगर नगरपालिका वडा नं. १३, शान्तिनगरबाट कुखुरा बरामद गरिएको छ। ओमसतिया गाउँपालिका वडा नं. ४ वसन्तपुर बस्ने वर्ष ३२ को सराफत अलीले चलाएको लु ३१ प १०९५ नं. को मोटरसाइकलमा  ल्याउँदै गरेको करिब २२ हजार ५ सय मूल्य पर्ने २१ वटा अवैध कोइलर कुखुरा र मोटरसाइकल नियन्त्रणमा लिएर पशु क्वारेन्टाइन कार्यालय बेलहिया पठाइएको छ। मोटरसाइकल र मानिस भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिप्रकाले जनाएको छ।

त्यस्तै, रोहिणी गाउँपालिका वडा नं. २ बाट भारत उत्तर प्रदेश  महाराजगन्ज थाना नेतनबा बस्ने वर्ष ३१ को शिवकुमार कोइरीले चलाएको लु ६ प २९९३ नं. को मोटरसाइकल र सोही ठाउँ बस्ने वर्ष ४० को बब्लु कुशवारले चलाएको लु ८ प ८५१० नं. को मोटरसाइकलमा ल्याउँदै गरेको २ बोरा फूल पनि बरामद गरी  भन्सार पठाइएको छ । जसमध्ये फूलको अन्दाजी मूल्य २५ हजार  र मोटरसाइकलको अन्दाजी मूल्य १ लाख  रहेको छ।

त्यस्तै, प्रहरीले सम्मरीमाई गाउँपालिका वडा नं ६ मम्झरियाबाट भैँसी बरामद गरेको छ। मर्चवारी गाउँपालिका वडा नं. ३ रायपुर बस्ने २८ वर्षको जगदेव भुजले चलाएको लु १ ज ३०१४ नं को पिकअप सवारीसाधनमा  ल्याउँदै गरेको अवस्थामा २ वटा भैँसी, २ वटा पाडी बरामद गरिएको छ। भैँसी र पाडीको अन्दाजी मूल्य १ लाख र पिकअपको अन्दाजी मूल्य ६ लाख रहेको छ।

प्रहरीले भैँसी, पाडा र मानिस नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको छ। त्यस्तै, प्रहरी चौकी पिप्रहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं. ३ सेमरहवामा भारतबाट नेपालतर्फ अवैध रूपमा लु १६ प ६०४७ नं. को मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा ६० वटा बोइलर कुखुरा पनि बरामद गरेको छ।

कुखुराको ६० हजार र मोटरसाइकलको ५० हजार अन्दाजी मूल्य रहेको छ। प्रहरीले कुखुरा पशु क्वारेन्टाइन कार्यालय बेलहिया र सवारी र मानिस भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाएको छ। 

See More On

सुझावित समाचार