नवलपुरमा एकैदिन २ जनाको हत्या भएको छ । नवलपुरको गैँडाकोट नगरपालिका ४ मा एकजना पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
गएराति गैँडाकोट नगरपालिका- १, धारापानीनिवासी ३३ वर्षीय नारायण कुमालको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।
आक्रमणबाट गम्भीर घाइते कुमालको राति नै भरतपुर सरकारी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । उनका अनुसार कुमाललाई गैँडाकोट नवलपरासी ४ काे इट्टाभट्टे भन्ने स्थानमा अज्ञात समूहले आक्रमण गरेको हो ।
घटनाको अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको उनले जानकारी दिए । हत्याराको अझै पहिचान हुन सकेको छैन ।
कुमालको बायाँ हात र ढाडमा चोट लागेको थियो । मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय गैँडाकोटदेखि ४ किलोमिटर उत्तरमा पर्दछ । त्यसैगरी, नवलपुरमा गएराति देउसी भैली खेल्ने क्रममा कुटपिट हुँदा विनयी त्रिवेणी गाउँपालिका ४ दुमकट्टानिवासी ४४ वर्षीय सन्तबहादुर ठाडामगरको मृत्यु भएको छ । उनको हत्या आरोपमा कुटपिटमा सम्लग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयले शान्तिसुरक्षा कामय हुनु पर्ने माग गर्दै प्रदर्शनसमेत गरेका छन् ।
उनको शव पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डन्डामा राखिएको छ । भैली खेल्ने टोली र सन्तबहादुर ठाडामगरबिच विवाद हुँदा भैली टोलीले उनीमाथि कुटपिट गरेका थिए ।