सरकारले निर्वाचनको वातावरण बनाए कांग्रेस चुनावमा सहभागी हुन्छ : पूर्णबहादुर खड्का

मंगलबार, ५ कार्तिक, २०८२
डिजिटल संस्करण

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले निर्वाचनको वातावरण बनाए पार्टी सहभागी हुने बताएका छन् । ‘चुनावका लागि बन्नुपर्ने सबै वातावरण बनेमा नेपाली कांग्रेस चुनावमा जान तयार छ,’ मंगलबार सुर्खेतमा आयोजित पूर्वपार्टी सभापति गोविन्दबहादुर मल्लको १३औं पुन्यतिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेसम्म सरकारले चुनाव गराउने गरेर कुनै कामहरू गरेको छैन ।’

कार्यवाहक सभापति खड्काले साँच्चै सरकारले चुनाव गराउने हाे भने जेन–जीको पवित्र आन्दोलनका क्रममा घुसपैठ गरेर लुटिएका सबै हतियारहरू फिर्ता गर्नुपर्ने, प्रहरी र सुरक्षा निकायको मनोबल बढाउने काम गर्नुपर्ने, चुनावमा भाग लिने दलहरूलाई विश्वासमा लिनुपर्ने, आम मतदातामा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताए ।

कार्यवाहक सभापति खड्काले सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रह तरिकाले लाञ्छना लगाउने, भ्रम सिर्जजना गर्ने, अहिलेको अन्योललाई बढाउने काम गरिरहेको आरोप लगाए ।

‘हामी कुनै पनि खालको कानुनी प्रक्रियाबाट हुने छानबिन अनुसन्धानहरूमा खुल्ला छौँ,’ उनले भने, ‘तर, सरकारमा रहेका जिम्मेवार व्यक्तिबाट भ्रम सिर्जना गर्ने, अनेक लाञ्छना लगाउनेलगायतका कार्यहरू भइरहेका छन्, यसतर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

कार्यवाहक सभापति खड्काले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले चुनाव, पार्टीको अधिवेशन, अहिलेको वर्तमान परिस्थितिबारे आधिकारिक निर्णय गर्नेसमेत बताए ।

सुझावित समाचार