चालू आर्थिक वर्षको पहिलो दुई महिनामा २० वाणिज्य बैंकहरूको खुद नाफा १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.१८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा १७ अर्ब ६९ करोड २१ लाख खुद नाफा कमाएको राष्ट्र बैंकको तथ्यांक छ ।
पछिल्लो समय आर्थिक गतिविधिमा सुधार नआउँदा ऋण असुली प्रभावित भएकाले खराब कर्जा बढ्दै गइरहेको छ । घट्दो ब्याजदरका बाबजुद पनि निक्षेप संकलन घट्न नसक्दा ब्याज खर्च बढिरहेको छ । यसले बैंकहरूको नाफामा कमी ल्याएको हो । समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कुल ब्याज खर्च ४६ अर्ब ९१ करोड ४२ लाख र ब्याज आम्दानी ७८ अर्ब २५ करोड ३३ लाख पुगेको छ ।
२० वटा वाणिज्य बैंकहरूमध्ये ग्लोबल आइएमई बैंक सबैभन्दा उच्च नाफामा रहेको देखिन्छ । यसले ब्याज खर्च चार अर्ब ११ करोड ७५ लाख र ब्याज आम्दानी ६ अर्ब ९६ करोड ५९ लाख कायम राखेको छ । यो अवधिमा एक अर्ब ६२ करोड ८२ लाख रुपैयाँको खुद नाफा कमाएको छ ।
त्यसैगरी, दोस्रो ठुलो खुद नाफा आर्जन गर्नेमा नबिल बैंकले एक अर्ब ३२ करोड ७१ लाख कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा एक अर्ब २६ करोड ४४ लाख छ । कुमारी बैंक खुद नाफा एक अर्ब पाँच करोड ६८ लाख, प्राइम बैंक एक अर्ब चार करोड ६७ लाख र एनएमबि बैंक एक अर्ब तीन करोड नौ लाख रुपैयाँ नाफा कमाएका छन् ।
अर्बभन्दा कम नाफा आर्जन गर्ने बैंकहरू
लक्ष्मी सन्राइज बैंकले ९७ करोड ४१ लाख, एभरेष्ट बैंक ९१ करोड २८ लाख, राष्ट्रिय वाणिज्य बैंक ८८ करोड ५८ लाख, सिद्धार्थ बैंक ८४ करोड ९० लाख र नेपाल बैंक ८४ करोड २८ लाख रुपैयाँको नाफा देखाएको छ । सानिमा बैंक ७२ करोड १५ लाख, प्रभु बैंक ६७ करोड ६० लाख, कृषि विकास बैंक ५८ करोड ९८ लाख, सिटिजन्स बैंक इन्टरनेसनल ५५ करोड ७६ लाख, स्ट्यान्डर्ड चार्टर्ड ५३ करोड २२ लाख, एनआइसी एसिया ४९ करोड ५१ लाख, माछापुच्छ्रे बैंक ४८ करोड १९ लाख, हिमालयन बैंक ३७ करोड सात लाख र नेपाल एसबिआईले ३५ करोड ४५ लाख रुपैयाँको नाफा कमाएको तथ्यांक छ ।