- धोदरी क्षेत्रमा ड्रेन निर्माण, आयोजनाको कमान्ड क्षेत्र संरक्षणमा भौतिक निर्माण, तीन ठाउँमा नहर मर्मत–सम्भार, मुख्य भवनको मर्मत २० असार ०७८ मा सम्पन्न गर्ने गरी २७ पुस ०७७ मा सम्झौता
- भवन मर्मतको काम ५५ प्रतिशत, नहर मर्मतको एउटा प्याकेजमा ३० प्रतिशत प्रगति, अन्यमा शून्य । अमन कन्स्ट्रक्सनले लिएका ६ वटै ठेक्काको काम गत वर्षदेखि ठप्प ।
ठेक्का हातमा लिएर ठगठाग गर्ने निर्माण कम्पनीमाथि सरकार आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ । राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाबाटै सरकारले यस्तो कदम चालेको हो ।
एक वर्षमा सक्नुपर्ने आयोजनाको काम ६ वर्षमा पनि शून्यमै रहेपछि सिँचाइ विभागले बर्दियाको अमन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता तोड्न बिहीबार सूचना निकालेको छ । अमनलाई विभागले एउटै मिति २७ पुस ०७७ मा ६ प्याकेजमा छुट्टाछुट्टै ठेक्का लगाएको थियो । तर, एक वर्षमा सक्नुपर्ने ठेक्कामा पटक–पटक म्याद थप्दा पनि चार प्याकेजको त कामै नभएपछि अन्तत: ठेक्का तोड्न लागेको हो ।
बबई सिँचाइ आयोजनाले दोधारी क्षेत्रमा २० असार ०७८ भित्र सक्ने गरी ३० लाख ४६ हजारमा ड्रेन निर्माणको ठेक्का लगाएको थियो । तर, ठेकेदारले कामै गरेन । म्याद सकिएपछि २९ फागुन ०७९ सम्म थपिदियो । तैपनि काम गरेन । उक्त म्याद सकिएको साढे दुई वर्षसम्म पनि प्रगति शून्य छ । ठेकेदारले पेस्कीबापत दुई लाख ६६ हजार लगिसकेको छ ।
त्यस्तै, आयोजनाको कमान्ड क्षेत्र संरक्षण भौतिक निर्माणका लागि २७ लाख २९ हजारमा लगाएको ठेक्काको म्याद पनि २० हसार ०७८ मै सकिएको थियो । त्यसपछि म्याद थपेर २९ फागुन ०७९ सम्म पुर्याइएकोमा उक्त अवधिसमेत सकिएको साढे दुई वर्ष हुँदा पनि प्रगति शून्य छ । ठेकेदारले एक लाख १९ हजार पेस्की भने लगेको छ ।
आयोजनाका विभिन्न तीन ठाउँमा नहर मर्मत–सम्भार गर्न पनि एकैपटक बेग्लाबेग्लै तीन ठेक्का लगाइएको थियो । काम सक्नुपर्ने अवधि २० असार ०७८ नै थियो । तर, २८ लाख ८२ हजार र १९ लाख १३ हजारका दुई ठेक्काको प्रगति शून्य छ । यी दुवैको म्याद थपेर २९ फागुन ०७९ सम्म पुर्याएकामा ठेकेदारले कामै नगरेपछि साढे दुई वर्षसम्म म्याद थपिएको थिएन । त्यस्तै, नहर मर्मतकै ५९ लाख ७४ हजारको ठेक्काको पनि पटक–पटक म्याद थप्दा ३० प्रतिशत मात्रै प्रगति भएको छ । अन्तिमपटक २५ असार ०८१ सम्म थपिएको समयमा पनि सन्तोषजनक काम नभएपछि फेरि म्याद थपिएन । अहिले यसमा पनि काम ठप्प छ । अमन कन्स्ट्रक्सनले ५९ लाख ७४ हजारको ठेक्कामा पेस्कीसहित २३ लाख २३ हजार तथा २८ लाख ८२ हजारको ठेक्कामा दुई लाख ५२ हजार र १९ लाख १३ हजारको ठेक्कामा एक लाख ६६ हजार पेस्की लगेको छ ।
अमन कन्स्ट्रक्सनले नै बबई सिँचाइमा पाएको अर्को ठेक्का हो– परियोजनाको भवन मर्मत । २० असार ०७८ मै सक्ने गरी १० लाख ३४ हजारमा ठेक्का सम्झौता भएको थियो । तर, समयमा काम नगरेपछि २९ फागुन ०७९ सम्म थपियो । तर, सोचेअनुसार काम नभएपछि म्याद थपिएन । हालसम्म ५५ प्रतिशत प्रगति भएको यो ठेक्कामा ठेकेदारले पेस्कीसहित ६ लाख ५६ हजार भुक्तानी लगेको छ । तर, यो ठेक्कामा अहिले काम ठप्प छ ।
यसरी कुल एक करोड ७५ लाख ८१ हजारको ठेक्कामा ठेकेदारले पेस्कीसहित ३७ लाख ८२ हजार भुक्तानी लगिसकेको छ । सिँचाइ विभागले सूचनामार्फत कम्पनीलाई इच्छा भए १५ दिनभित्र स्पष्टीकरण बुझाउन भनेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए ठेक्का तोडिनेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ठेक्का लिने, तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सो क्रममा सिँचाइ विभागअन्तर्गतको बबई आयोजनामा रुग्ण भएका ६ ठेक्का तोड्न लागिएको हो । परियोजनाका प्रमुख गोपाल शर्माले रुग्ण अवस्थामा रहेका ६ ठेक्का तोड्ने प्रक्रिया अघि बढेको बताए ।
‘यी ६ ठेक्कामा पटक–पटक म्याद थप गर्दा पनि काम भएन । म्याद सकिएको अवस्था छ,’ उनले भने, ‘त्यसैले १५ दिनको म्याद राखेर ठेक्का तोड्ने गरी अन्तिम सूचना प्रकाशन गरेका छौँ । अबको १५ दिनमा कम्पनीले स्पष्टीकरण दिन सक्छ । जवाफ चित्तबुझ्दो भएमा ठेक्का नतोडिन पनि सक्छ । अन्यथा ठेक्का तोडेको सूचना प्रकाशित हुन्छ र नयाँ ठेक्काको प्रक्रिया अघि बढ्छ ।’ पेस गरिएका प्रमाण नियमसंगत, भरपर्दो वा चित्त बुझ्दो नभएमा सम्झौता र सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम कार्यसम्पादन जमानत तथा धरौटीबापत राखिएको रकम जफत र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्ने विभाग स्रोतले बतायो ।
आयोजनाले पटक—पटक सूचना प्रकाशन गर्दा पनि कम्पनीले सम्झौताबमोजिम काम सुरु नगरी बिचैमा छोडेको थियो । त्यसपछि आयोजना कार्यालयले ९ वैशाख ०७९ मै ठेक्का सम्झौता रद्द गर्ने सूचना निकालेको थियो । त्यस्तै, २६ भदौ ०८१ मा पनि ठेक्का अन्त्य गर्नुपूर्व सूचना जारी गरिएको थियो । तर, ठेक्का सम्झौता भने रद्द गरिएन । त्यसपछि कार्यालयले १७ चैत ०८१ मा कम्पनीलाई कारबाही गरिनेछ भन्दै पत्र पठाएको थियो । तर, कम्पनीले कुनै जवाफ नै दिएन । लगत्तै १९ चैत ०८१ मा बैंक जमानत रोक्का राख्न नबिल बैंकको नेपालगन्ज शाखालाई पत्र पठाइएको छ । बैंक जमानतको म्याद आगामी ३० साउन ०८३ सम्म छ ।
विभागले १२ जेठ ०८१ मा पनि बबई परियोजनामै यही कम्पनीसँग चार ठेक्का तोडेको थियो । अमन कन्स्ट्रक्सन बर्दियाको स्थानीय निर्माण कम्पनी हो । विशेषगरी सडक, सिँचाइ तथा भवन निर्माणसम्बन्धी साना ठेक्काको काम यो कम्पनीले गर्दै आएको छ । तर, पछिल्लो समय बाँके र बर्दियामा यो कम्पनीले राम्रोसँग काम नगर्दा सरकारी निकायहरू आजित भएको परियोजनाका एक अधिकारीले बताए ।
यो कम्पनीका सञ्चालक रमेश यादव हुन्, जो अवकाशप्राप्त प्रहरी अधिकृत हुन् । ‘कम्पनी अहिले बैंक क्रप्ट भएको छ । बाँके र बर्दियामा ६० देखि ७० वटा ठेक्का तोड्ने अवस्थामा पुर्याएको छ,’ एक अधिकारीले भने, ‘त्यसमा धेरै सडकका परियोजना छन्, भवन निर्माणसम्बन्धी ठेक्का पनि धेरै छन् ।’
समग्र बबई परियोजनाको प्रगति ८२.२७ प्रतिशत
राष्ट्रिय गौरवका ६ सिँचाइ आयोजनामध्ये सबैभन्दा पहिला निर्माण सुरु गरिएको बबई सिँचाइ परियोजना नै हो । समग्र परियोजनाको भौतिक प्रगति ८२.२७ प्रतिशत पुगेको छ । यो गत असारसम्मको तथ्यांक हो । बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउन ०४५/४६ मा निर्माण सुरु गरिएको यो परियोजनाको संशोधित लागत अनुमान १५ अर्ब ४७ करोड आठ लाख छ । त्यसमा ८१.५८ प्रतिशत खर्च भएको छ । चालू आवमै यो परियोजनाको निर्माण सम्पन्न गर्ने म्याद भए पनि नहुने निश्चितप्राय: देखिएको छ ।
देशभर सिँचाइ विभागअन्तर्गतका मात्रै ३३ ठेक्का रुग्ण
सिँचाइ विभागमा ३३ ठेक्का रुग्ण देखिएका छन् । विभागले विभिन्न १२ परियोजना तथा कार्यक्रममा २१५ ठेक्का अघि बढाएकोमा ३३ वटा रुग्ण अवस्थामा छन् । जसमा ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको बबई सिँचाइका ६ ठेक्का पनि छन् ।
राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनामा एक, राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन परियोजनामा एक, राष्ट्रिय गौरवकै भेरी बबई सिँचाइ आयोजनामा एक र बृहत् दाङ उपत्यका सिँचाइ आयोजनामा एक, बागमती सिँचाइ आयोजनामा एक ठेक्का रुग्ण अवस्थामा छन् । त्यस्तै, विभिन्न जिल्लाका नदी नियन्त्रण परियोजनामा २१ ठेक्का रुग्ण अवस्थामा छन् । तराई मधेशमा भूमिगत जल सिँचाइ कार्यक्रम (झापा)को एक ठेक्का रुग्ण अवस्थामा छ । नदी नियन्त्रणअन्तर्गत पनि १५ ठेक्का तोड्ने प्रक्रिया अघि बढेको छ ।
विभागका महानिर्देशक मित्र बरालले प्रगतिको अवस्थाअनुसार उचित निर्णय लिने बताए । ‘काम नै नहुने अवस्था भएको ठेक्का तोड्ने प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘कतिपय ठेक्काको म्याद छ, त्यो म्यादसम्म समय दिने योजनामा छौँ ।’
अबको १५ दिनमा कम्पनीले स्पष्टीकरण दिन सक्छ, जवाफ चित्तबुझ्दो भए ठेक्का नतोडिन पनि सक्छ : गोपाल शर्मा, आयोजना प्रमुख
यी ६ ठेक्कामा पटक–पटक म्याद थप गर्दा पनि काम भएन । म्याद सकिएको अवस्था छ । त्यसैले १५ दिनको म्याद राखेर ठेक्का तोड्ने गरी अन्तिम सूचना प्रकाशन गरेका छौँ । अबको १५ दिनमा कम्पनीले स्पष्टीकरण दिन सक्छ । जवाफ चित्तबुझ्दो भएमा ठेक्का नतोडिन पनि सक्छ । अन्यथा ठेक्का तोडेको सूचना प्रकाशित हुन्छ र नयाँ ठेक्काको प्रक्रिया अघि बढ्छ ।