सिराहाको कर्जन्हा नगरपालिका बन्दीपुरबाट प्रहरीले यात्रुवाहक बसमा यात्रा गरिरहेका एक व्यक्तिलाई प्रतिबन्धित लागुऔषध खैरो हिरोइनजस्तो पदार्थसहित पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा मिर्चैया र बन्दीपुरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट वीरगँजतर्फ जाँदै गरेको यात्रुवाहक बसमा यात्रा गरिरहेका यात्रुलाई खैरो हिरोइनजस्तो पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
पक्राउ पर्नेमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका– ५ का करिब ३४ वर्षीय रामकुमार चौधरी रहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । प्रहरीलाई प्राप्त सूचनाअनुसार बस रोकेर चेकजाँच गर्दा चौधरीको साथबाट प्लास्टिकसमेत ६.११० ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद भएपछि तत्काल पक्राउ गरी मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए । प्रहरीले बसको नम्बर भने खुलाएको छैन ।
करिब तीन क्विन्टल गाँजा बरामद
प्रहरीले पछिल्लो एक साताको अवधिमा जिल्लाका विभिन्न ठाउँबाट दुई क्विन्टल ८४ किलो गाँजा र २१.११० ग्राम खैरो हिरोइनजस्तो पदार्थसहित एक भारतीयसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच दिनअघि गोलबजार– ६ बाट गोलबजार र धनगढीमाईका दुई युवकलाई प्लास्टिकबाहेक १५ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको थियो ।
नेपालबाट गाँजा बोकेर भारततर्फ जाँदै गरेका बिहार राज्यको मधुबनी जिल्ला जयनगर थाना बेलही ग्राम पञ्चायत– ६, बेला घर भएका भारतीय नागरिक करिब ५५ वर्षीय श्रीचन मण्डललाई करिब ६४.९ किलो गाँजासहित पक्राउ गरेको थियो । त्यस्तै, सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्म इनर्वाबाट खटिएको सशस्त्र प्रहरी टोलीले भगवानपुर गाउँपालिका– २ स्थित बलान खोला किनारको काँसघारीमा लुकाएर राखेको अवस्थामा २४ असोजको बिहान दुई क्विन्टल १९ किलो प्रतिबन्धित गाँजा बरामद गरेको थियो ।