बाढीले महोत्तरीको कृषि बालीमा एक अर्बको क्षति

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

पछिल्लो समय भएको अविरल वर्षा र सोपछि आएको बाढीले महोत्तरीमा कृषी क्षेत्रमै ठुलो क्षति गरेको छ। महोत्तरीको प्रमुख बालीको रुपमा रहेको धान, उखु, तरकारी, दलहन तथा फलफूलमा समेत वर्षा र बाढीले क्षति पुगेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ।

ज्ञान केन्द्रको प्रारम्भिक तथ्यांकअनुसार जिल्लाको सबै पालिकामा गरी कुल १० हजार २२३ हेक्टरभन्दा बढी क्षेत्रमा लगाएको धान, उखुलगायतको बालीमा क्षति पुगेको छ। यसले झण्डै ६७ हजार मेट्रिक टन उत्पादन नष्ट भएको र त्यसको अनुमानित रकम झण्डै एक अर्ब रहेको ज्ञान केन्द्रले जनाएको छ।

बाढीले गरेको क्षतिलाई पूर्ण र आंशिक गरी वर्गीकरण गरिएको छ। गौशाला नगरपालिकामा तरकारीमा ८० प्रतिशत तथा तिल र गहत (कुर्थी) बालीमा १०० प्रतिशत क्षति भएको छ। त्यस्तै भंगहा नगरपालिकाको धानमा ३० प्रतिशत, उखुमा ४० प्रतिशत, तरकारीमा ६० प्रतिशत र अन्य बालीमा २० प्रतिशत क्षति भएको प्रारम्भिक तथ्यांकमा उल्लेख छ। तथ्यांकअनुसार एकडारा गाउँपालिकाको धान, तरकारी र फलफूलमा पूर्ण क्षति भएको छ।

यता सोनमा गाउँपालिकामा धानमा ५ प्रतिशत, उखुमा १० प्रतिशत, तरकारीमा ५० प्रतिशत, फलफूलमा १५ प्रतिशत र अन्य बालीमा १२ प्रतिशत क्षति भएको छ। मटिहानी नगरपालिकामा धानमा ५० प्रतिशत तथा तरकारी र दलहनमा पूर्ण क्षति भएको छ।

औरही नगरपालिकाबाट संकलन गरिएको विवरणमा धानखेतीमा १३ प्रतिशत, उखु खेतीमा २२ प्रतिशत तथा तरकारी र फलफूल खेतीमा १०० प्रतिशत क्षति भएको उल्लेख छ। यता महोत्तरी गाउँपालिकाको धानखेतीमा ८३ प्रतिशत र तरकारी खेतीमा १०० प्रतिशत नै क्षति पुगेको छ।

त्यस्तै बलवा नगरपालिकामा ८५ प्रतिशत धान खेतीमा र १०० प्रतिशत तरकारी खेतीमा क्षति पुगेको प्रारम्भिक तथ्यांक छ। लोहारपट्टी नगरपालिकामा धानखेतीमा १०० प्रतिशत र तरकारी खेतीमा २० प्रतिशत, रामगोपालपुर नगरपालिकामा धानखेतीमा १० प्रतिशत र तरकारी खेतीमा ५० प्रतिशत, सम्सी गाउँपालिकामा धान खेतीमा ३० प्रतिशत, उखु खेतीमा २० प्रतिशत, तरकारी खेतीमा ७० प्रतिशत र फलफूलखेतीमा ५० प्रतिशत क्षति पुगेको छ। यता मनरा सिस्वा नगरपालिकाको धानखेतीमा ४६.५ प्रतिशत, उखु खेतीमा ४२ प्रतिशत तथा तरकारी र फलफूल खेतीमा पूर्ण क्षति भएको छ।

पिपरा गाउँपालिकमा धान २५ प्रतिशत, तरकारी ३० प्रतिशत, फलफूल ६० प्रतिशत र अन्य बालीमा ४० प्रतिशत क्षति पुगेको छ भने बर्दिवास नगरपालिकामा धानखेतीमा ९० प्रतिशत तथा तरकारी खेतीमा पनि ९० प्रतिशत क्षति पुगेको छ। जलेश्वर नगरपालिकामा धानखेतीमा ६० प्रतिशत तथा तरकारी खेतीमा ७० प्रतिशत क्षति भएको छ।

वर्षा र बाढीले खेतमा तयार हुँदै गरेको बालीमात्र नभई बिउको लागि तयार भइरहेको बालीमा समेत क्षति पुगेको छ। मधेश प्रदेशको एकमात्र बिउ बिजन प्रयोगशाला जलेश्वरबाट प्राप्त तथ्यांकअनुसार मधेश प्रदेशभरिका २४ बिउ उत्पादन संस्थाहरुमा गरी झण्डै एक करोड १७ लाख ६० हजार रुपैयाँबराबरको क्षति भएको छ।

बिउ बिजन प्रयोगशाला जलेश्वरका प्रमुख मनिष पालले उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेशभर ६० हेक्टर बिउ उत्पादन क्षेत्र डुबानमा परी धानका उन्नत तथा मूल बिउहरुमा समेत क्षति भएको छ।

सुझावित समाचार