अल्पमतमा रहेका मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण
अल्पमतमा रहेका मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह

आफ्नै दल जनमत र सत्तासाझेदार कांग्रेस–एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री सिंहले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । सिंहले गत शुक्रबार प्रदेश सभा सचिवालयलाई पत्राचार गरी विश्वासको मतका लागि प्रदेश सभा बैठक आह्वान गर्न भनेका थिए । 

मुख्यमन्त्री सिंहले सभाबाट विश्वासको मत नपाउने स्थिति भए पनि प्रदेश सभामा आफ्ना लागि विश्वासको मत माग्ने बताए । ‘राजीनामा दिँदा आफ्नो कुरा प्रदेश सभामा राख्न पाउने थिइनँ । विश्वासको मत लिँदा १५ महिनाको सरकारका उपलब्धि पनि सुनाउँछु,’ उनले भने ।

गत २४ भदौमा जेन–जी आन्दोलनका वेला मुख्यमन्त्री सिंहले राजीनामा घोषणा गरेका थिए । तर, २८ भदौमा राजीनामा घोषणा फिर्ता लिए पनि उनकै दल जनमतले समर्थन फिर्ता लिएपछि नयाँ सरकारका लागि गृहकार्य सुरु भएको थियो । सिंह २२ जेठ ०८१ मा मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री सिंहलाई अन्तिम समयसम्म साथ दिएको लोसपा पनि सरकारबाट बाहिरिएको छ । लोसपाबाट शिक्षा तथा संस्कृतिमन्त्री रहेकी रानी शर्मा तिवारीले सोमबार मुख्यमन्त्री सिंहलाई पत्र लेखेर राजीनामा दिएकी हुन् । कांग्रेस, एमाले र जनमतका मन्त्रीहरूले सरकार छाडिसकेका छन् । एमाले र कांग्रेसका चार–चार र जनमतका तीनजना मन्त्री यसअघि नै सरकारबाट फिर्ता भइसकेका छन् ।

लोसपाका संसदीय दलका नेता जयलुन राइनले मुख्यमन्त्री सिंहले विश्वासको मत लिने वातावरण नदेखेपछि आफूले समर्थन फिर्ता लिएको बताए । ‘उहाँको दल जनमत नै सरकारबाहिर छ, यो अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन,’ उनले भने, ‘त्यही भएर शिक्षामन्त्रीले राजीनामा दिनुभएको हो ।’ 

समर्थन फिर्ता गरेपछि कांग्रेस, एमाले र जनमतको गठबन्धनमा पुन: सामेल हुने वा नहुने विषयमा सोधिएको प्रश्नमा नेता राइनले भने, ‘लोसपाको नेतृत्व दिएमा मात्रै गठबन्धनमा सहभागी, हुन्छौँ नत्र विपक्षमै बस्छौँ ।’ 

मुख्यमन्त्री सिंहले मंगलबार संसद् फेस गरिसकेपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गर्नेछन् । त्यसपछि कांग्रेस, एमाले र जनमतले कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नाममा दाबी पेस गर्ने तयारी छ । कांग्रेसका एक सांसदले एमाले र जनमतको समर्थनमा कांग्रेसले आफ्नो नेतृत्वको सरकारका लागि दाबी पत्र बुझाउने बताए ।

यद्यपि, यादवलाई मुख्यमन्त्री बनाउन गत २२ असोजमा प्रदेश प्रमुखसमक्ष दाबी पेस भइसकेको थियो । मुख्यमन्त्री सिंहले राजीनामा दिन नमानेपछि कांग्रेस, एमाले र जनमतका सांसदले ५८ सांसदको हस्ताक्षर बुझाएका थिए । १०७ सदस्यीय प्रदेश सभा रहेको मधेशमा सरकार बनाउन ५४ सांसद भए बहुमत पुग्छ ।

यस्तो छ समीकरण 
मधेश प्रदेश सभामा १० दलको सहभागिता छ । १०७ सिट रहेको प्रदेश सभामा सरकारका लागि ५४ मत आवश्यक पर्छ । सभामा २५ सिटसहित एमाले पहिलो र २२ सिटसहित कांग्रेस दोस्रो दल हुन् । जसपा नेपालको १९, जनमत १३, लोसपा र माओवादीको नौ–नौ सिट छ । एमाले र लोसपाका एक–एक सांसद निलम्बित छन् । एमालेका एक सांसद सभामुख छन् । एकीकृत समाजवादीका सात, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको एक–एक सिट छ ।

सुझावित समाचार