कतारमाथि रोमाञ्चक जितसँगै नेपाल विश्वकपनजिक

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले कतारमाथि रोमाञ्चक जित निकालेको छ। सोमबारको खेलमा कतारलाई नेपालले पाँच रनले हराएको छ। यो जितले सुपर सिक्समा नेपालको ६ अंक भएको छ।  यससँगै नेपाल विश्वकपनजिक पुगेको छ। 

कतारविरुद्धको खेलमा सन्दीप लामिछाने र नन्दन यादवले उत्कृष्ट बलिङ गरे। सन्दीपले पाँच विकेट तथा नन्दनले दुई विकेट लिए । 

पहिला ब्याटिङ गरेको नेपालले १४८ रनको मध्यम लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा कतार १४२ रनमै अलआउट भयो। अन्तिम ओभरमा कतारका लागि १० रन चाहिएको थियो। सन्दीप लामिछानेले चार रन दिएर दुई विकेट लिएपछि कतार अलआउट भएको हो। 

कप्तान रोहित पौडेलकाे अर्धशतक मद्दतमा नेपालले कतारलाई १४८ रनको लक्ष्य दिएको थियो। रोहितले सर्वाधिक ५८ रन बनाउँदा उपकप्तान दीपेन्द्रसिंह ऐरीले २६, गुल्सन झाले १६ तथा सोमपाल कामीले १४ रन योगदान गरे। 

नेपालले टस हारेपछि सुरुमा ब्याटिङ गरेको थियो। प्रशिक्षक स्टुआर्ट लले खेलमा एक परिवर्तन गरेका थिए। स्पिनर ललित राजवंशीको स्थानमा अलराउन्डर आदिल आलमलाई अवसर दिएका थिए। 

विश्वकप छनोटका सबै खेलमा नेपाल विजयी हुँदै आएको छ। अब सुपर सिक्समा ओमान र सामोआविरुद्ध दुई खेल बाँकी छ। 

सुपर सिक्समा यसअघि नेपालले युएईमाथि एक रनको रोमाञ्चक जित निकालेको थियो। 

कतारमाथि जितपछिको अंकतालिका 

सुझावित समाचार