- उच्च मूल्यका कारण सिजनमै सुनको माग घटेको समयमा दैनिक २० किलो आयात गर्न पाउने प्रावधान संशोधन गरेर २५ किलो सुन आयात गर्न बैँकलाई अनुमति, गत वर्षको तुलनामा पछिल्लो दुई महिनामा दोब्बर सुन आयात भएको भन्सारको तथ्यांक
डेबिट कार्डमार्फत हुने कारोबारमा कडाइ
- एटिएममार्फत एकपटकमा २५ हजार झिक्न पाइने गरेकोमा अब २० हजार मात्रै
- दैनिक १ लाखसम्मको कारोबार सीमा पनि घटाएर ५० हजारमा झारियो
- मासिक चार लाखसम्म निकाल्न पाइने रकमसमेत तीन लाखमा सीमित
राष्ट्र बैंकले शुक्रबार दुईवटा सर्कुलर जारी गरेर सुन आयात र रेमिट्यान्स प्रवाहको सीमा बढाएको छ । त्यस्तै, डेबिट कार्डमार्फत झिक्ने रकमको सीमा भने घटाइएको छ ।
वाणिज्य बैंकमार्फत दैनिक २० किलो सुन आयात गर्न पाउने गरी राष्ट्र बैंकले यसअघि तोकेको सीमा बढाएर २५ किलो पुर्याएको हो । उच्च मूल्यका कारण सुनका गरगहनाको माग नभइरहेका वेलामा राष्ट्र बैंकले आयात गर्न पाउने कोटा भने वृद्धि गरेको हो । सुनचाँदी व्यवसायीले यसलाई ‘बेमौसमी बाजा’का रूपमा विश्लेषण गर्दै कोटा वृद्धिको निर्णय अर्थहीन भएको टिप्पणी गरेका छन् ।
सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले तिज र दसैँमा उच्च माग हुने सिजनमा समेत सुनको कारोबार भएकाले आयातको सीमा बढाउनु अर्थहीन भएको बताए । ‘अहिले सुनको मूल्य बढेको र माग पनि न्यून भएको सन्दर्भमा आयातको सीमा किन बढाइयो बुझ्न सकिएको छैन । वाणिज्य बैंकहरूले त दसैँअघिदेखि नै सुन आयात गरेका छैनन् भनेर जानकारी पाएका छौँ,’ उनले भने, ‘माग नभएपछि किन कोटा बढाएको हो, प्रस्ट छैन । भएकै सुन बिक्री गर्न सकिएको छैन ।
बजारमा सुनको मूल्य बढ्दै जाने हल्लाले केही ग्राहकहरू ढिके सुनसमेत किन्न आउन थालेको उनले जानकारी दिए । उनले भने, ‘ढिके सुन बिक्री गर्न नपाइने कानुनी व्यवस्था छ । तर, सुनको मूल्य बढ्ने हल्ला चलेपछि ढिके सुनसमेत माग्न आउन थालेका छन् ।’
राष्ट्र बैंकका अधिकारीहरू भने सुनचाँदी व्यवसायी तथा सरोकारवालाकै अनुरोधमा सुन आयातको कोटा बढाएको दाबी गर्छन् । केन्द्रीय बैंकका प्रवक्ता किरण पण्डितले सुन आयातको सीमा व्यवसायी तथा सरोकारवालाको अनुरोधमै बढाइएको बताए । ‘सुनचाँदी व्यवसायीले विगत लामो समयदेखि नै सुन आयातको कोटा बढाइदिनुपर्यो भन्दै आइरहनुभएको थियो । उहाँको मागलाई सम्बोधन गर्ने गरी निर्णय भएको हो,’ उनले भने ।
विदेशमा रहेका नेपालीलाई बैंकिङ प्रणालीबाटै रकम पठाउन प्रोत्साहन : एकपटकमा २० लाखसम्म रेमिट गर्न पाइने व्यवस्थामा राष्ट्र बैंकको संशोधन
पछिल्लो समय रेमिट्यान्स आप्रवाह बढ्दै गइरहेको मौकामा केन्द्रीय बैंकले यसको सीमा पनि बढाएको छ । विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सको सीमा २० लाखबाट बढाएर २५ लाख रुपैयाँसम्म पुर्याएको छ । यो रकमलाई एकपटकमा वा पटक–पटक गरी पठाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।
बढ्दो रेमिट्यान्स आप्रवाहका क्रममा सीमाका कारण हुन्डीबाट पैसा नआओस् भन्ने उद्देश्यले सीमा बढाइएको राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताए । पछिल्लो समय बैंकिङ च्यानल प्रयोग गरी रकम पठाउनेको संख्या बढ्दै गएकाले रेमिट्यान्स आप्रवाहमा सुधार जारी छ । गत आव ०८१/८२ मा कुल १७ खर्ब २३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
विदेशी नागरिक वा नेपालमा दर्ता भएका कम्पनी, संस्था वा शाखा कार्यालयहरूले कमिसन, पारिश्रमिक, शुल्क वा अन्य प्रयोजनका लागि विदेशबाट आएको रकम इजाजतपत्रप्राप्त रेमिट्यान्स कम्पनीमार्फत सीधै आफ्नै खातामा जम्मा गर्न सक्नेछन् । राष्ट्र बैंकले सबै विप्रेषण कम्पनीलाई ग्राहकका कागजात सही रूपमा राख्नुपर्ने र महिनामा एकपटक कारोबारको विवरण पेस गर्नुपर्ने व्यवस्था पनि गरेको छ ।
राष्ट्र बैंकले डेबिट कार्डबाट निकाल्न पाइने रकमको सीमा भने घटाएको छ । एकपटकमा २५ हजार रुपैयाँ निकाल्न पाउने व्यवस्थालाई संशोधन गर्दै अबदेखि २० हजार रुपैयाँ मात्रै झिक्न पाउने व्यवस्था कायम गरिएको छ । डेबिट कार्डमार्फत दैनिक एक लाख रुपैयाँसम्म रकम निकाल्न पाइने व्यवस्थालाई समेत संशोधन गरेर ५० हजारभन्दा बढी रकम निकाल्न नमिल्ने बनाइएको छ । मासिक चार लाखसम्मको कारोबार डेबिट कार्डबाट हुने गरेकोमा तीन लाखमा सीमित गरिएको छ ।
दुई महिनामा २०१ किलो सुन आयात
चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो दुई महिनामा दुई सय एक किलो सुन आयात भएको छ । साउन र भदौमा तीन अर्ब १२ करोड ९९ लाख रुपैयाँबराबर सुन आयात भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्ष ०८१/८२ को पहिलो दुई महिनामा भने सय किलो मात्रै सुन आयात भएको थियो । जसको मूल्य एक अर्ब चार करोड ३२ लाख मात्रै थियो । सुनको चुलिँदो मूल्यका बाबजुद आयात भने बढ्दै गएको भन्सारको तथ्यांक छ ।
सुनको मूल्य बढेको बढ्यै, सातामा ४,४०० ले वृद्धि
नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सातामा चार हजार चार सय मूल्य बढेको छ । आइतबार प्रतितोला दुई लाख ३० हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार दुई लाख ३५ हजार पुगेको छ ।
यो साता सुन दुई लाख ३९ हजार दुई सय पुगेर ओर्लेको हो । बिहीबार उक्त नयाँ रेकर्ड बनेको थियो । सुन सोमबार दुई लाख ३३ हजार एक सय, मंगलबार दुई लाख ३५ हजार चार सय र बुधबार दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो । यो साता चाँदीको मूल्य पनि प्रतितोला एक सय ५५ रुपैयाँ वृद्धि भएको छ । आइतबार दुई हजार नौ सय ३० रुपैयाँ प्रतितोलामा भएको चाँदीको कारोबार शुक्रबार तीन हजार ८५ रुपैयाँ पुगेको छ ।