सरकारले नेपाल विद्युत् प्राधिकरणलाई २० अर्बबराबरको ऊर्जा बन्ड निकाष्सन गर्न अनुमति दिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले प्राधिकरणलाई चरणबद्ध रूपमा कुल २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्न स्वीकृति दिएको नेपाल सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
यसअघि सरकार, विदेशी तथा स्वदेशी दातृ निकाय तथा बैंकबाट सोझै वा प्रतिस्पर्धाबाट ऋण उठाउँदै आएको प्राधिकरणले पहिलोपटक ऋणपत्र जारी गर्न लागेको हो । यो ऋणपत्र नेपाली बजारको सबैभन्दा ठुलो ऋणपत्रमध्येको एक हुनेछ । यसअघि नेपाल राष्ट्र बैंकले पनि २० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गरेको थियो । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत वैशाखमा जारी गरेको श्वेतपत्रमा ऊर्जा बन्ड जारी गर्ने विषय उल्लेख थियो । उनकै पालामा यो प्रस्ताव ऊर्जा मन्त्रालय हुँदै मन्त्रिपरिषद् पेस भएको थियो । अहिलेको अन्तरिम सरकारले त्यसलाई स्वीकृत गरेको हो । अहिले प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल छन् ।
कार्यकारी निर्देशक सिलवालले यो रकम ऊर्जा परियोजनामा खर्च हुने बताए । पुँजीगत प्रयोजनकै लागि यो रकम खर्च हुने उनको भनाइ छ । उनका अनुसार १०६१ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको चैनपुर सेती, १८ मेगावाटको मोदी जलविद्युत् र ९९.५ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा बन्डको पैसा खर्च हुनेछ । अपर अरुण र चैनपुर सेती निर्माण पूर्वतयारीको अवस्थामा छन् । मोदी र माथिल्लो तामाकोशी भने निर्माणको चरणमा छन् ।