- दुई खेल गुमाएको नेपालले एसिया कपमा छनोटको आशा जीवितै राख्न दुवै लेगमा भियतनामलाई हराउनुपर्ने
एएफसी एसिया कप छनोटको तेस्रो चरणमा नेपालले बिहीबार घरेलु टोली भियतनामको सामना गर्दै छ । घरेलु टोली भियतनामविरुद्ध सकारात्मक नतिजा निकाल्नेमा नेपाली खेलाडी विश्वस्त छन् । समूह ‘एफ’मा दुईवटै खेलमा पराजित नेपाल स्पष्ट ३ अंक बटुल्न चाहन्छ । भियतनामको मैदानमा नेपालको होम एन्ड अवे खेल हुनेछ । अस्ट्रेलियन नागरिक म्याट रोसको प्रशिक्षणमा रहेको नेपालले १४ अक्टोबरमा घरेलु मैदानका रूपमा भियतनाविरुद्ध उसैको रंगशालामा खेल्नेछ ।
१४ अक्टोबरको खेल दशरथ रंगशालामै हुनुपर्ने थियो । तर, एएफसीले रंगशालालाई ‘अयोग्य’ घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघले भियतनामको मैदानमा आफ्नो घरेलु मैदान बनाएको हो । भियतनामविरुद्ध प्रतिस्पर्धा गर्नुअघि नेपाललाई एक पक्षले फाइदा गरेको छ । नेपालविरुद्ध खेलेको मलेसिया फिफाको निलम्बनमा छ । सात खेलाडीले कागजात किर्ते गरेको आरोपपछि मलेसियाले यसअघि दुई खेलबाट बटुलेको अंक खोसिने सम्भावना छ । फिफाले मलेसियन सात खेलाडीलाई एक वर्षसम्म कुनै खेलमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको छ ।
भियतनामपछि पनि नेपालले मलेसियासँग खेल्दै छ । भियतनामविरुद्ध नेपालले दुवै खेल जिते एसिया कपमा छनोटको सम्भावना पनि उच्च छ । गत जुनमा नेपाल कमजोर लाओसविरुद्ध २–१ ले पराजित भएको थियो । त्यही खेलको नतिजाले नेपाली टोलीलाई सताएको छ । छनोट चरणको पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष साउदी अरेबियामा हुने एसियन कपमा स्थान बनाउनेछ ।
२२ वर्षपछि आमनेसामने
नेपालले २२ वर्षपछि भियतनामको राष्ट्रिय फुटबल टोलीविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । सन् २००३ मा नेपालले एसिया कप छनोटको दोस्रो चरणमा भियतनामविरुद्ध खेलेको थियो । त्यसयता एएफसीले आयोजना गरेको प्रतियोगितामा नेपाल र भियतनामबिच खेल भएको थिएन । २२ वर्षअघि दक्षिण कोरियाको इन्चोनमा भएको एसिया कप छनोटको दोस्रो चरणमा नेपाल भियतनामबाट पहिलो लेगमा ५–० ले पराजित भएको थियो । त्यसपछि ओमानको मस्कटमा भएको दोस्रो लेगमा नेपाल भियतनामबाटै २–० ले पराजित भयो । यसबिच भियतनाम दुईपटक एसिया कपमा छनोट भइसकेको टोली हो । दक्षिण–पूर्वी देशमध्ये भियतनामको फुटबल माथिल्लो दर्जाको मानिन्छ । फेरि भियतनाम आसियान च्याम्पियनसिप २०२४ को विजेता पनि हो । दक्षिण–पूर्वी राष्ट्रहरूका सबैभन्दा ठूुो ओसियानामाथि भियतनामले तीनपल्ट कब्जा जमाएको छ ।
दुई साताको प्रशिक्षण
भियतनाम भ्रमणअघि नेपाली टोलीले दुई साताको अभ्यास गर्यो । बंगलादेशको शीर्ष डिभिजन लिगमा आबद्ध कप्तान किरणकुमार लिम्बू बुधबार मात्रै भियतनाम पुगेका छन् । किरणसँगै यस सिजन बंगलादेशको लिग खेल्न लागेका अन्य सात खेलाडी अभ्यासका लागि नेपाल नै आएका थिए । प्रशिक्षक रोसले पहिलो चरणमा ३३ खेलाडीलाई प्रशिक्षणमा राखेका थिए । दोस्रोपटकको क्याम्पबाट राष्ट्रिय टोलीमा ६ खेलाडीले पुनरागमन गरेका थिए । गोलरक्षक विशाल सुनार, डिफेन्डर विमल पाण्डे, सनिश श्रेष्ठ र सुमित श्रेष्ठ तथा मिडफिल्डरद्वय कृतिशरत्न छुन्जू र आयुष घलानले पुनरागमन गरेका हुन् । गत ६ सेप्टेम्बरमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा अमित लामा, आदित्य शाक्य, रन्दीप पौडेल, समिर तामाङ, सृजनराज गौतम र टिकेन्द्र थापाबाट बाहिर भएका हुन् ।