धादिङको गंगा-जमुना गाउँपालिकाका दुर्गम बस्तीहरूमा सञ्चालित निःशुल्क आँखा शिविरबाट झन्डै एक हजार सर्वसाधारण लाभान्वित भएका छन्। बुधबार विभिन्न ठाउँमा सञ्चालन भएको आँखा शिविरबाट ९५४ जनाले सेवा लिएका छन्।
गंगा-जमुना गाउँपालिकाको री स्वास्थ्य चौकीमा २५० जना, बसेरी स्वास्थ्य चौकीमा २८२ जना र फुलखर्क ग्रामीण अस्पतालमा ४२२ जनाले सेवा लिएका छन् । जसमध्ये रीका २८ जना बसेरीका २१ जना र फूलखर्कका २२ जनाको मोतियाबिन्दुको अपरेसन गर्नुपर्ने गंगा-जमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले जानकारी दिए।
आई क्याम्प फोर चितवन, सपोर्ट एन्ड केयर पुनर्स्थापना केन्द्रका, भरतपुर आँखा अस्पताल, गंगा-जमुना गाउँपालिका, रोटरी क्लब, फुलखर्क कल्याणकारी समाज तथा सहभागी संघसंस्थाहरूका संयुक्त आयोजनामा सञ्चालित शिविर २४ असोजसम्म चल्नेछ। शिविरमा सेवा लिएका ९५४ जनामध्ये ७१ जनाको मोतियाबिन्दुको अपरेसन गर्नुपर्ने देखिएको स्वास्थ्य संयोजक अधिकारी बताए । स्वास्थ्य संयोजक अधिकारीका अनुसार मोतियाबिन्दुको अपरेसन गर्नुपर्ने बिरामीहरूको २३ र २४ असोजमा फुलखर्क ग्रामीण अस्पतालमा निःशुल्क उपचार हुनेछ । गुम्दी, बुढाथुम र फुलखर्कका केही स्थानमा शिविर अझै सञ्चालन गर्न बाँकी रहेकाले मोतियाविन्दुका बिरामी थपिन सक्ने उनले बताए ।