बागमती प्रदेश सरकारले गठन गरेको द्रुत प्रतिकार्य टोली (क्विक रेस्पोन्स टिम)को सक्रियतामा १७ र १८ असोजको अविरल वर्षापछि आएको बाढी र पहिरोले अवरुद्ध हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीका सडक खण्डहरू २४ घण्टाभित्र सञ्चालनमा आएका छन्।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको टोलीले सक्रियता देखाउँदै भीमफेदी–कुलेखानी–फाखेल र भीमफेदी–कुलेखानी–सिस्नेरी खण्डमा भएको अवरोध २४ घण्टाभित्रै हटाएर सडक पूर्ण रूपमा सञ्चालनमा ल्याएको हो।
विपत् प्रतिकार्य टोलीको पहलमा सडक खुलाइएको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाका निर्देशक नवीनकुमार सिंहले जानकारी दिए। उनका अनुसार स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूको समन्वयमा फाखेल सडकखण्ड तीन घण्टाभित्रै अर्थात् शनिबार साँझ ४ बजेदेखि सञ्चालनमा ल्याइएको थियो। सिस्नेरी खण्डमा भने वर्षा रोकिएलगत्तै एक्स्काभेटरसहितको टोली परिचालन गरी सोमबार बिहानदेखि आवागमन पूर्ण रूपमा खुलाइएको हो।
लगातारको वर्षाका कारण इन्द्रसरोवर गाउँपालिका– ४ स्थित महालक्ष्मी खोलानजिकै खसेको पहिरो र सिस्नेरी बजारको डोडारे खोलामा आएको बाढीले सडक कटान गर्दा हेटौँंडा–काठमाडौं सम्पर्क टुटेको थियो। सुरक्षाको कारण राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय मकवानपुरले १८ असोजमा अत्यावश्यकबाहेकका सवारीसाधनलाई तीन दिनका लागि उक्त सडकहरू भएर काठमाडौं प्रवेशमा रोकसमेत लगाएको थियो।
यसअघि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले १८ गते शनिबार युनिफाइड टिम गठन गर्दै विपत् न्यूनीकरण र प्रदेशमातहतका सडक अवरुद्ध भए तत्काल अवरोध हटाउन निर्देशन दिएका थिए। मुख्यमन्त्री बानियाँले प्राकृतिक विपतका वेला सर्वसाधारणको जिउधनको सुरक्षा प्रदेशको मुख्य जिम्मेवारी भएकाले प्रदेश सरकारमातहतका निकायलाई सतर्क अवस्थामा बस्न निर्देशन दिएका थिए।
भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले दसैँ मनाएर फर्कने यात्रुहरूलाई कुनै असुविधा नहोस् भनेर द्रुत गतिमा काम गरेको बताए। उनले सोमबार साँझसम्म बागमती प्रदेश सरकारअन्तर्गतका सम्पूर्ण सडक सञ्चालनमा ल्याइसकिएको जानकारी दिए। सम्भावित अवरोधहरूलाई तत्काल सम्बोधन गर्न विभिन्न चार प्रमुख स्थानमा उपकरणसहितका टोलीहरू ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएको पनि उनले जानकारी दिए।
मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाका अनुसार बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै भीमफेदी–कुलेखानी–फाखेल, भीमफेदी–कुलेखानी–सिस्नेरी, मातातीर्थ र भैँसे–भीमफेदी गरी चार स्थानमा जेसिबी, एक्स्काभेटरलगायतका उपकरणसहित टोलीहरू तयारी अवस्थामा राखिएको छ। विशेषगरी भीमफेदी–कुलेखानी–फाखेल र भीमफेदी–कुलेखानी–सिस्नेरी सडक हजारौँ सवारीसाधनको प्रमुख वैकल्पिक मार्ग भएकाले यसको सञ्चालनमा प्रदेश सरकार तयारी अवस्थामा रहेको उनले बताए।
हाल बागमती प्रदेशको राजधानी हेटौँडाबाट काठमाडौं जानका लागि त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, भीमफेदी–कुलेखानी–सिस्नेरी र कान्ति लोकपथ पूर्ण रूपमा सञ्चालनमा आएका छन्। तर, सुरक्षा र जोखिम न्यूनीकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार रातिदेखि अर्को सूचना नभएसम्मका लागि साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ।