रोशी खोलाको बाढीले पूर्वको लाइफलाइन बिपी राजमार्गको चौकीडाँडादेखि नेपालथोकखण्डमा १७ ठाउँमा साढे चार किलोमिटर सडक बगाएको छ । गत वर्ष असोजको बाढीले नौ किलोमिटर सडक बगाएकामा डाइभर्सनमार्फत यातायात सञ्चालन भइरहेकामा शनिबार र आइतबार फेरि सडक बगाएको सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गा प्रसादले बताए ।
उनका अनुसार पोहोर बाढीले बगाएको नौ किलोमिटरमध्येबाट ३५ सय मिटर सडक बगेको हो । ‘१७ ठाउँमा सडक बगेको छ, जसमध्ये धेरैजसो ठाउँ डाइभर्सन हो,’ उनले भने, ‘यसबाहेक १०–२० मिटरका दरले ठाउँठाउँमा बगेको छ । रोशीमा पानी घटेको छैन, त्यही भएर यकिन गर्न सकिएको छैन । मान्छे जान सक्ने अवस्था छैन ।’ रोशीको बहाव घटेको चार–पाँच दिनमा डाइभर्सन बनाउन सक्ने आकलन रहेको उनले सुनाए ।
भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पनि आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिपी राजमार्ग तीन–चार दिनमा सञ्चालनमा ल्याइने बताएका थिए । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार बोक्सेकुना, घुमाउने, चौकीडाँडा, डालाबँेसी, पिप्ले, माम्ती, चरंगेफेदीमा अस्थायी रूपमा बनाइएको डाइभर्सन बगाएको छ ।
गत वर्ष बाढीले राजमार्गको नौ किलोमिटर सडक बगाएको थियो । क्षति भएको राजमार्ग सडक डिभिजनले करिब १० करोडको लगानीमा डाइभर्सन बनाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको थियो । यसको मर्मत गरेर राजमार्ग सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने गाउँपालिका अध्यक्ष लामाले बताए ।
बिपी राजमार्ग ठप्प भएपछि पूर्वबाट आउने गाडीलाई पुष्पलाल मार्ग भएर काठमाडौं पठाउन थालिएको छ । रामेछापसहितका जिल्लाका सवारीसाधन काठमाडौं आवतजावतमा सहजता ल्याउन पुष्पलाल मार्ग सञ्चालनमा आएको हो । शनिबार साँझ यो मार्ग प्रयोग गरेर आएका सवारीसाधनलाई चरिकोटमा होल्ड गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार बिपी राजमार्गको वैकल्पिक मार्गका रूपमा सिन्धुलीको सित्खा, तेमाल–भकुन्डे सडकखण्ड हुँदै काठमाडौं प्रवेश गर्न सकिने भए पनि अहिले सो सडकखण्ड पनि अवरुद्ध छ ।
त्यस्तै, अरनिको राजमार्गअन्तर्गत चौवन्नकिलो र खावा सडकखण्ड लेदोसहितको पहिरोले अवरुद्ध भएको थियो । अहिले पहिरो पन्छाएर राजमार्गमा यातायात सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । काभ्रे र भक्तपुर जिल्लाको सीमाक्षेत्र साँगामा पनि पहिरो पन्छाएर यातायात नियमित गरिएको छ । हाल बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको र अरनिको राजमार्गमा भने नियमित सञ्चालनमा आएको उनको भनाइ छ ।