कमला नदीको बाढीले तटीय क्षेत्रका गाउँहरू डुबानमा

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

पछिल्लो दुई दिनदेखि लगातार परिरहेको वर्षाका कारण कमला नदीको बाढीले सिराहाको कमला नदीका तटीय क्षेत्रका गाउँहरू डुबानमा परेका छन् । 

कल्याणपुर नगरपालिका– १२, बेलहामा पानी निकासका लागि बनाएको संरचनाबाट बाढी पस्दा बेलहा हुँदै सिराहा नगरपालिकाअन्तर्गतका सारश्वर, कठकोल्वा, बसबिट्टालगायतका गाउँ डुबानमा परेको जनप्रतिनिधिहरूले बताएका छन्।

सिराहा– ६ का वडाध्यक्ष इन्द्रजित यादवले आफ्नो वडाको करिब १५–२० घर डुबानमा परेकाले उनीहरूलाई सुरक्षित रूपले स्थानीय सामुदायिक विद्यालयमा सारेर राखिएको बताए । 

सिराहाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहितको टोलीले आइतबार दिउँसो कमला तटीय क्षेत्रको अनुगमन गरेर फर्किँदा अवस्था सामान्य भए पनि अपराह्नतिर बाढी गाउँ पसेको थियो । वडाध्यक्ष यादवका अनुसार डुबानमा परेकाहरूलाई नेपाल प्रहरीको सहयोगमा स्थानीय युवाहरूले घरका सामानसहित उद्धार गरेका छन् । 

सिराहा नगरपालिकाका प्रमुख डा. नवीनकुमार यादवले कमला तटीय क्षेत्रमा पर्ने सिराहाको ५, ६, १२ र १३ नम्वर वडा क्षेत्रका बस्ती डुबानमा परेको बताए । सिराहा– १२, सारश्वरमा नगरपालिकाको लगानीमा बजारको सुरक्षाका लागि बनाइएको पर्खालसमेत बाढीले भत्काएको स्थानीयले बताएका छन् । 

‘मौसम पूर्वानुमानका आधारमा जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम जिल्लामा क्षति पुर्‍याउन सक्ने कमला, बलान, गागन, मैनावती, घुर्मीसहित अन्य स–साना खहरेहरूको समेत स्थानीय तहसँग समन्वय गरी निरन्तर अनुगमन गरिरहेका छौँ,’ प्रजिअ अधिकारीले भने, ‘कमला नदीमा शनिबार बढेको बाढी आइतबार केही घटेकाले क्षति पुर्‍याउने जोखिम टरेको छ, अन्यत्र सडकमा रहेका कल्भर्टहरूमा पानीले सामान्य क्षति पुगेको छ ।’

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत औरही र अर्नमा गाउँपालिका जोड्ने सहजा खोलामा बाढी उर्लिएपछि सदरमुकाम सिराहा आउने र जाने सवारीसाधनहरूलाई रोकिएको प्रहरीले जनाएको छ ।

सिराहा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार सिराहातर्फ आउने सवारीसाधनहरूलाई औरही र बरियारपट्टि चोकबाट उतै फर्काइएको छ भने सदरमुकामबाट जाने सवारीसाधनलाई चोहर्वा सडकतर्फ पठाइएको छ । 

सुझावित समाचार