धरान–धनकुटा सडकखण्ड एकतर्फी सञ्चालनमा

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

अवरुद्ध कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। सडक विभागको जेसिबीको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले सडकको अवरोध हटाएसँगै एकतर्फी रूपमा सञ्चालनमा आएको हो।

अविरल वर्षाका कारण गएरातिदेखि जिल्लाका भित्री सडकहरू अवरुद्ध भएको भए पनि कोशी लोकमार्ग आज बिहानदेखि अवरुद्ध थियो। जेसिबीको सहयोगमा कोशी लोकमार्गका विभिन्न स्थानमा लेदोसहित झरेको पहिरो पन्छाएपछि करिब पाँच घण्टापछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी राजन कार्कीले बताए।

कोशी लोकमार्ग खुलेसँगै त्यसतर्फको सडक खुलाउने कार्य जारी रहेको प्रहरीले बताएको छ। कोशी लोकमार्ग खुलेसँगै सडकमा रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ जान थालेका छन्।

यद्यपि, रातिदेखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पाख्रीबास नगरपालिका– ५, डिकुरे क्षेत्र, भेडेटार–राजारानी–६ नम्बर बुधबारे–रवि–राँकेको निर्माणाधीन सडकको साँगुरीगढी गाउँपालिका– ५, लुम्फाजुङ क्षेत्र, तमोर करिडोरअन्तर्गत चौबिसे गाउँपालिका– ४, छरुवा खोलाको अवरुद्ध सडक भने अहिलेसम्म खुल्न सकेको छैन।

सुझावित समाचार