३२ वर्षपछि सिंहदरबारभित्र फर्किंदै स्वास्थ्य मन्त्रालय

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण
  • हेल्थ इमर्जेन्सी अप्रेसन सेन्टर जलेपछि विपन्नको उपचारमा समस्या 
  • अझै अस्पतालमै छन् ७१ घाइते, कतिपयलाई पटक–पटक सर्जरी गर्नुपर्ने अवस्था 

देशभरका स्वास्थ्य संस्थाको नेतृत्व गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन जलेपछि अब स्वास्थ्य मन्त्रालयलाई सिंहदरबारभित्रै सार्ने तयारी गरिएको छ । यसअघि ०३० मा सिंहदरबारमा आगलागी भएपछि स्वास्थ्य मन्त्रालय बाहिर सरिएको थियो । २० वर्ष टेकुबाट सञ्चालन भएको मन्त्रालय ०५० देखि रामशाहपथमा सरेको थियो । 

तर, उक्त भवन पनि जेन–जी प्रदर्शनका क्रममा जलेपछि अब मन्त्रालयलाई सिंहदरबारभित्रै सार्ने तयारी भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार जेन–जी प्रदर्शनपछि काम गर्नेसमेत ठाउँ छैन ।आइतबारदेखि मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को भवनमा सरे पनि निकै साँघुरो छ । उक्त भवनबाट मन्त्रालयको काम गर्न कठिन भएपछि तत्काल सिंहदरबारभित्रै सार्ने तयारी गरिएको हो । 

सिंहदरबारभित्र रहेको पुरानो संसद् भवनको एक नम्बर ब्लकमा सार्ने तयारी भएको छ । उक्त भवन पनि ०७२ को भूकम्पबाट क्षतिग्रस्त भएको थियो । ६ महिनाअघि मात्रै उक्त भवन प्रबलीकरण सकिएको छ । सोही भवनमा मन्त्रालयलाई सार्ने तयारी भएको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए । ‘सिंहदरबारभित्र मन्त्रालयलाई ठाउँ दिने गरी प्रधानमन्त्रीसँग कुरा भइरहेको छ,’ उनले भने, ‘पुरानो संसद् भवनको एक नम्बर ब्लक तयारी अवस्थामा छ, त्यही सर्छौं ।’ उनका अनुसार स्वास्थ्य मन्त्रालयमा नयाँ मन्त्री आएलगत्तै सिंहदरबारमा सारिनेछ । 

 ध्वस्त भयो फरक वास्तुशिल्प भएको भवन 
२४ भदौमा जेन–जी प्रदर्शनकारीले आगजनी गरेपछि ध्वस्त भएको स्वास्थ्य मन्त्रालयको भवन फरक वास्तुशिल्पले बनेको थियो । यो भवन ५० वर्ष पुरानो हो भने यो संरचना विश्वकै नाम चलेका आर्किटेक्ट लुई कानको शैलीअनुसार बनेको थियो । भवनमा पिल्लर प्रयोग गरिएको थिएन भने यसलाई नेपालकै फरक आर्किटेक्चरका रूपमा हेर्ने गरिएको थियो ।

आन्दोलनका क्रममा भवन मात्रै खण्डहर भएन, मन्त्रालयको श्रीसम्पत्ति सबै जलेर खरानी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यो भवनको इन्जिनियरिङ वास्तुशिल्प निकै अनौठो मानिन्थ्यो । पिलरविना बनेको भव्य भवन हेर्न देश–विदेशका आर्किटेक्ट इन्जिनियरिङका विद्यार्थीसमेत आउँथे । 

विपन्न, असहाय, बेवारिसे र अचानक हुने दुर्घटनापछि स्वास्थ्य संस्थामा आएका घाइतेको उपचार गर्न स्वास्थ्य मन्त्रालयले हेल्थ इमर्जेन्सी अप्रेसन सेन्टर सञ्चालन गरेको थियो । तर, उक्त सेन्टरको कार्यालय जलेपछि हाल विपन्न, असहाय, बेवारिसेलगायत बिरामीको उपचारमा समस्या आएको छ ।

उक्त सेन्टरले देशैभरका अस्पतालसँग समन्वय गरेर उपचारको प्रबन्ध मिलाउँदै आइरहेको थियो । हाल यो सेन्टर निष्क्रिय बनेको छ । सेन्टर तथा मन्त्रालयले प्रमाणित गरेपछि वा तोकेपछि मात्रै उनीहरूको निःशुल्क उपचार हुने गरेकामा हाल सबैजसो कागजात जलेका छन् भने उपचार गराइरहेका बिरामीको रेकर्ड भएको सफट्वेयरमा समेत क्षति पुगेको छ । डा. बुढाथोकीले भने, ‘कतिपय टिप्पणी कागजात स्क्यान गरेर गुगलसिटमा राखेकाले केही सुरक्षित छन्, प्रदर्शनका क्रममा मन्त्रालयका महत्वपूर्ण कागजात भएका कम्प्युटर चोरी भएकाले फिर्ता गर्न अनुरोधसमेत गरेका छौँ ।’ 

 नौजना आइसियूमा उपचाररत
जेन–जी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका ७१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । धेरै ठाउँमा गोली लागेका घाइतेको अलि लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले डिस्चार्ज नगरेको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए । उनका अनुसार जेन–जी प्रदर्शनपछि घाइते भएर अस्पताल आउनेहरू दुई हजार चार सयभन्दा बढी थिए । त्यसमध्ये ३८ जनाको अस्पतालमै पुगेपछि मृत्यु भएको थियो । सर्जरी सकिएका र निको हुने अवस्थाका घाइते डिस्चार्ज भइरहेका छन् । तर, अझै ७१ जना अस्पतालमै छन् । त्यसमध्ये नौजना आइसियुमा छन् ।

कतिपयको लामो समयसम्म उपचार गर्नुपर्ने अवस्था पनि रहेको अस्पतालले बताउँदै आइरहेका छन् । ‘धेरै ठाउँमा चोटपटक लागेकाहरू अझै अस्पतालमै हुनुहुन्छ, उहाँहरूको एकपटक मात्रै होइन, पटक–पटक सर्जरी गर्नुपर्ने अवस्था छ,’ प्रवक्ता डा. बुढाथोकीले भने, ‘एकैपटक अप्रेसन गर्दा जोखिम होला भनेर कतिपयलाई अवस्था हेरेर बिस्तारै सर्जरी गरिन्छ र निको पारिन्छ ।’

उनका अनुसार घाइतेहरूको उपचारमा कति खर्च भयो, त्यसको विवरण मन्त्रालयलाई आइसकेको छैन । यद्यपि, मन्त्रालयले सकेसम्म सम्बन्धित अस्पतालले नै व्यहोर्ने गरी उपचार गर्न अनुरोध गरेको छ । अधिकांश घाइतेको बिमामा उपचार भएको थियो भने बिमा नगर्नेको हकमा अस्पतालले उपचार खर्च विवरण मन्त्रालयलाई पठाउने तयारी गरेका छन् । सरकारले घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेपछि हाल कुनै पनि अस्पतालले शुल्क लिएका छैनन् । निजी अस्पतालले उपचार गर्दा लागेको लागतको विवरण तयारी गरी मन्त्रालयलाई पठाउने तयारी गरिरहेका छन् । 

डा. प्रकाश बुढाथोकी
प्रवक्ता, स्वास्थ्य मन्त्रालय

सिंहदरबारभित्र मन्त्रालयलाई ठाउँ दिने गरी प्रधानमन्त्रीसँग कुरा भइरहेको छ । पुरानो संसद् भवनको एक नम्बर ब्लक तयारी अवस्थामा छ, त्यही सर्छौं ।

सुझावित समाचार