जेन–जी आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका साढे तीन सय कैदीबन्दी फर्केका छैनन् । फरारमध्ये १७ जना कैदीबन्दी भारतीय नागरिक हुन् । ठुलो संख्यामा कैदीबन्दी फरार भएपछि सुरक्षा चुनौती बढेको छ । फरार कैदीले आपराधिक घटना दोहोर्याउन सक्ने डरले सर्वसाधारण चिन्तित बनेका छन् ।
कैलाली कारागार प्रशासनका अनुसार तीन सय १६ जना कैदीबन्दी भने कारागार फर्किएका छन् । उनीहरूमध्ये केही आफैँ कारागार तथा प्रहरीको सम्पर्कमा आएका हुन् । केहीलाई प्रहरीले पक्राउ गरेको कैलाली कारागारका प्रमुख चिरञ्जीवी सापकोटाले बताए । तीन सय ५१ जना कैदीबन्दी भने सम्पर्कविहीन रहेका उनको भनाइ छ ।
गत २४ भदौमा आन्दोलनकारी कारागार पुगेर तोडफोड गर्नुका साथै कैदीबन्दीलाई बाहिर निकालेका थिए । सो दिन कारागारमा तीन सय ६७ जना कैदीबन्दी रहेकोमा तीन सय ६० जना निस्किएको सापकोटाले बताए । कारागारबाट सुरक्षाकर्मी फर्किएपछि दोस्रो दिन थप ६ जना पनि निस्केर गएका थिए । कारागारमा एक जनामात्र बसेका थिए । उनीहरू फर्किसकेका कारागार प्रशासनले जनाएको छ ।
कारागारभित्र आन्दोलनकारी प्रवेश गरेपछि कारागारको सुरक्षामा रहेका प्रहरी फिर्ता भएका थिए । ‘कारागारबाट निस्केका कैदीबन्दीमध्ये केही आफैं आए, केहीलाई प्रहरीले पक्राउ गरेर ल्यायो,’ कारागार प्रमुख सापकोटाले भने, ‘यहाँबाट गएका पाँच/छ जना कैदीबन्दी अन्यत्रका कारागारको सम्पर्कमा आएको बुझिएको छ, तर औपचारिक जानकारी आएको छैन ।’ फर्किएकामध्ये धेरैजसो कैदीबन्दी कैद भुक्तान गर्न कम समय रहेकाहरू रहेको बताइएको छ ।
कारागारबाट त्यस दिन १८ जना भारतीय कैदीबन्दी भागेका थिए । भारतीय नागरिक एकजना कैदीबन्दी भने कारागार फर्किएका सापकोटाले जानकारी दिए । फरार रहेका १७ जना भारतीयमध्ये अधिकांश लागुऔषध मुद्दाका रहेको कारागार प्रशासनले जनाएको छ । केही भने कर्तव्य ज्यान मुद्दाका पनि छन् । खुला सीमानाबाट उनीहरू भारत गएको सुरक्षा निकायको आकलन छ ।
कैलाली कारागारमा गत २३ साउनको मध्यराति भएको हिंसात्मक घटनामा एकजना कैदीबन्दीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए । उक्त घटनामा घाइते भई सेती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएका १० जना सेती प्रादेशिक अस्पतालअन्तर्गत कोरोना अस्पतालमा थिए ।
आन्दोलनका क्रममा फरार उनीहरूमध्ये अब एकजना मात्र आउन बाँकी रहेका कारागार प्रमुख सापकोटाले जानकारी दिए । डिस्चार्ज भएका अन्यलाई विभिन्न जिल्लाका कारागारमा स्थानान्तरण गरिएको थियो । कैलाली कारागार प्रशासनले कारागारबाट निस्केर फरार भएका कैदीबन्दीलाई फिर्ता हुन यसअघि नै सूचना जारी गरेको छ । नफर्किएका कैदीबन्दीको खोजी भइरहेको र उनीहरूको विवरण विभिन्न प्रहरी युनिटहरूलाई पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
लुकेर बसेका कैदी पक्राउ
सुर्खेत/ कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका फरार कैदी जाजरकोटमा पक्राउ परेका छन् । शनिबार दिउँसो १ बजेतिर शिवालय गाउँपालिका– ९ बस्ने २३ वर्षीय ज्ञानु वादीलाई प्रहरीले पक्राउ गरेको हो । उनी २४ भदौमा जेन–जी आन्दोलनका क्रममा बाँकेको नौबस्ता कारागार कार्यालयबाट फरार भएका थिए । वादी शिवालय गाउँपालिका– १ मोर्कस्थित आफन्तको घरमा लुकेर बसेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीचौकी छेडाचौरबाट प्रहरी नायब निरीक्षक अर्जुन खड्काको कमान्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीले बताए । बादीलाई आइतबार कारागार सुरक्षागार्ड जाजरकोटमा बुझाएको प्रहरीले जनाएको छ ।