जेन–जी आन्दोलनपछिको संसद् विघटन र सत्तापलटले किनारामा पुगेका राजनीतिक दलहरू संविधान दिवससँगै फेरि औपचारिक लयमा फर्किएका छन् । डेढ सातादेखि निष्क्रियजस्तै भएका दलहरूले शुक्रबार ११औँ संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गरेर विभिन्न कार्यक्रम आयोजना गर्दै सक्रिय उपस्थिति देखाएका छन् ।
प्रमुख दलहरूले जेन–जी आन्दोलनका वेला क्षतिग्रस्त आफ्नै पार्टी कार्यालयपरिसरमा कार्यक्रम गरेर संविधानमाथि सम्भावित षड्यन्त्रको खबरदारी गरेका छन् । यस्तै, सबै दलका शीर्ष नेताहरूले सन्देश जारी गर्दै संविधानका उपलब्धि, रक्षा र कार्यान्वयनमा जोड दिएका छन् ।
देशैभर आयोजित कार्यक्रममा उनीहरूले संकट समाधान संविधानभित्रै खोज्नुपर्ने र बाहिर गए अझ ठुलो अस्थिरता निम्त्याउने चेतावनी दिए । नेपालको राष्ट्रिय अस्तित्व नै गम्भीर संकटमा परिरहेको भन्दै उनीहरूले नवपुस्तालाई सचेत हुन ध्यानाकर्षण गराएका छन् ।
जेन–जी आन्दोलनमा ७४ जनाको मृत्यु भई सत्ता पलट हुँदासमेत उनीहरूले वक्तव्य र सार्वजनिक कार्यक्रममा आफ्ना कमीकमजोरीप्रति आत्मालोचना र समीक्षा भने खासै गरेका छैनन् । यसलाई विश्लेषकहरूले ‘शीर्ष नेता अझै सुध्रिएका छैनन्’ भनेर अथ्र्याएका छन् ।
संविधानबाहिर जाँदा अस्थिरता निम्तिन्छ : देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान जटिल परिस्थितिको समाधान अहिलेकै संविधानबाट नखोजिए मुलुक झन्झन् अस्थिरताको बाटोमा अघि बढ्ने खतरा औँल्याएका छन् । ‘संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान संविधानले नै दिनुपर्दछ । यदि यसो हुन सकेन भने राजनीतिक स्थिरताको खोजीमा संविधानबाहिर जाँदा झन्झन् अस्थिरता निम्तिने सम्भावना रहन्छ । वर्तमान संविधानको सफलतासँग हामीले देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प नै आज हामी सबैको साझा दायित्व हो,’ संविधान दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा देउवाले भनेका छन् ।
०७२ मा जारी भएको संविधानलाई महत्वपूर्ण उपलब्धिका रूपमा चर्चा गर्दै उनले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थायित्व कायम गर्नुपर्नेमा जोड दिएका छन् । संविधान दिवसले मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन आवश्यक प्रेरणा प्रदान गर्ने देउवाले विश्वास व्यक्त गरेका छन् । जेन–जी आन्दोलनका वेला प्रदर्शनकारीको कुटपिटबाट घाइते देउवा हाल उपचारमा छन् ।
जेन–जी आन्दोलनपछि ओलीको पहिलो वक्तव्य : जेन–जी आन्दोलनमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्र जोडिएको इसारा
निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले जेन–जी आन्दोलन भएको विध्वंसमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको षड्यन्त्र जोडिएको इसारा गरेका छन् । संविधान दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै ओलीले आन्दोलनका क्रममा देशको निसानी मेटाउन खोजिएको दाबी गर्दै समयमै नबुझे देशको सार्वभौमसत्ता नै खतरामा पर्न सक्ने औँल्याएका छन् ।
‘हामी यतिवेला हाम्रो संविधानमाथि ठुलो आक्रमण भएको अवस्थामा छौँ । प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ । नेपालको नक्सा जलाइएको छ । देशको निसानी मेटाउन खोजिएको छ । जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता–कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानी–छानी खरानी बनाइएको छ,’ ओलीले भनेका छन्, ‘यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैँ बयान दिनेछ ।’
नयाँ पुस्ताले समयमै सबै कुरा नबुझे नेपालको सार्वभौमसत्ता इतिहासमा मात्र रहने दाबी गर्दै ओलीले भूराजनीतिक चासो र हस्तक्षेप बढिरहेको संकेत गरेका छन् । ‘हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैँ महसुस गर्नेछ,’ ओलीले भनेका छन्, ‘विदेश जाने–आउने एयरपोर्टको भिडलाई नकारात्मक भनिरहेको समाज आज देशबाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउनेछ । हाम्रो नयाँ पुस्ताले आफैँ बुझ्नेछ । तर, यो कुरा समय छँदै बुझ्नुपर्नेछ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहनेछ ।’
यसैगरी निवर्तमान प्रधानमन्त्री ओलीले जेन–जी आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली हानिएकाले छानबिन गर्न माग गरेका छन् । क्षतिप्रति आत्मालोचित नभई उनले घटनामा घुसपैठ भएका कारण विध्वंस भएकोतर्फ संकेत गर्दै आफू पनि छानबिनका लागि तयार रहेको जनाउ दिएका हुन् ।
जेन–जी आन्दोलनबाट सत्ताच्युत भएर दशदिने सैनिक ब्यारेक बसाइबाट बाहिरिएपछि संविधान दिवसमा पहिलो वक्तव्य जारी गरेर ओलीले त्यस्तो बताएका हुन् । ‘जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो– आह्वानकर्ताले भनेझैँ । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ । त्यस घटनाप्रति म फेरि दु:ख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु,’ ओलीले भनेका छन् ।
उनले युवा पुस्ताहरूलाई काजी भीम मल्लको मृत्युदण्डको इतिहास पढेर यथार्थबोध गर्दै राष्ट्रियता र सार्वभौमसत्ता रक्षार्थ सयम छँदै एकजुट बन्न आग्रहसमेत गरेका छन् । ‘हाम्रा युवाहरूले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नुभएको छ । देशको सिमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो । यथार्थभन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरू पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन्झन् गाढा सम्झना गराउनेछ,’ उनको वक्तव्यमा छ ।
संविधान र राष्ट्रपति बचाएँ : प्रचण्ड
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेन–जी आन्दोलनका क्रममा आफूले अहिलेको संविधान र राष्ट्रपति संस्था बचाउन भूमिका खेलेको दाबी गरेका छन् । संविधान दिवसका अवसरमा पार्टीले केन्द्रीय कार्यालय पेरिसडाँडमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले त्यस्तो दाबी गरेका हुन् । ‘जेन–जी आन्दोलनको उद्देश्य विध्वंस थिएन । इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो । संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई पदबाट हटाउन के–कस्ता कसरत भए भन्ने नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ,’ प्रचण्डले भने, ‘मैले अन्तिमसम्म रातभर राष्ट्रपति, सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अहिलेको अन्तरिम सरकारको रूप दिएर भए पनि संविधान बचाउन आग्रह गरेँ र त्यसअनुसार घटनाक्रम अघि बढ्यो ।’ उनले निकै अप्ठ्यारो परिस्थितिमा संविधानलाई रक्षा गर्न राष्ट्रपति पौडेल र प्रधानसेनापति उभिएको भन्दै धन्यवाद पनि दिए । बिहीबार साँझ अलग्गै भिडियो अपिल जारी गरेर पनि प्रचण्डले संविधान दिवसको शुभकामना दिएका थिए । उनले प्रत्यक्ष कार्यकारी मुद्दामा अघिल्लो संविधान निर्माणकै क्रममा सहमति गरेको भए अहिले जेन–जीहरूले आन्दोलन नै गर्नुनपर्ने हुन्थ्यो भन्दै विभिन्न समयमा श्रीलंका, बंगलादेशको घटना पटक–पटक स्मरण गराउँदा पनि सरकार सचेत नहुँदा अन्नत: जेन–जी विद्रोह भएको स्मरण पनि गरे । प्रचण्डले जेन–जी आन्दोलन र त्यसले उठाएका माग सही छ भन्ने पार्टी माओवादी नै पहिलो भएको जिकिरसमेत गरे ।
समीक्षा आवश्यक छ : नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्ट समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । शुभकामना सन्देशमार्फत नेपालले शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य, सुशासनको सुनिश्चितता र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक–सामाजिक रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन् । प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको विशेषता भएको नेपालले उल्लेख गरेका छन् ।
संविधानको मर्मअनुसार काम गर्न राष्ट्रपतिको आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र भावना व्यवहारमा उतार्न मन, वचन र कर्मले समर्पित भई इमानदार र प्रभावकारी प्रयास गर्न आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनमार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान दिवस प्रेरणादायी हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको स्मरण गराएका छन् । संविधानले केन्द्रीकृत एकात्मक व्यवस्थाबाट उत्पन्न विभेद र उत्पीडन अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकतामा बाँधेको राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।
टुँडिखेलमा सरकारको संविधान दिवस कार्यक्रम

समीक्षा गरौँ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवस केवल उत्सव मात्र नभएर संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन पनि भएको बताएकी छिन् । ‘संविधान दिवस केवल उत्सव मात्र होइन संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन पनि हो । यो संविधान कार्यान्वयनमा आएको विगत एक दशकमा संविधानले मार्गदर्शन गरेको यात्रामा के हासिल गर्यौँ, के गर्न सकेनौँ । यो बिचमा के–कस्ता कमीकमजोरी रहे र आगामी दिनमा के–कस्ता कार्यदिशा आवश्यक छ भन्ने सवालहरूको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने स्थिति छ,’ संविधान दिवसका अवसरमा सहिद मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले भनिन् ।
सरकारका कामकारबाही पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकासजस्ता प्रश्नहरू सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेन्डा भएको कार्कीले बताइन् । आफू पदको लोभमा प्रधानमन्त्री भएको नभएको भन्दै कार्कीले देश संकटमा रहेका वेला युवा पुस्ताले अनुरोध गरेपछि मात्र संक्रमणको व्यवस्थापन गर्न नेतृत्व लिएको स्पष्ट पारिन् । संविधानअनुसार ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने काम सम्पन्न गरेर आफू जिम्मेवारीबाट बाहिरिने उनको भनाइ थियो । संविधान दिवसमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवसहितको उपस्थितिमा मन्त्रीहरू, उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा अंगका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरूसहितको उपस्थिति थियो ।